Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चौथाें टाइगर कपको सम्पूर्ण तयारी पूरा

२९ आइतबार , पौष २०८०९ महिना अगाडि

चौथाें टाइगर कपको सम्पूर्ण तयारी पूरा

चौथों टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । तयारी पूरा भएसँगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लव भिड्ने जानकारी दिएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा यही माघ १ गतेदेखि ६ गतेसम्म हुन लागेको उक्त प्रतियोगिताको खेल तालिकाअनुसार उद्घाटन खेलमा गण्डकी र नेपाल आर्मी भिड्ने पक्का भएको हो । देशकै ठूलो धनराशी पुरस्कार भएको उक्त प्रतियोगिताको उद्घाटन खेल भोलि दिउँसो साढे १ बजे सुरु हुनेछ । प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा सहभागी हुनका लागि पोखरा रंगशालामा आउन आह्वान गरे ।  

उनका अनुसार पोखरा रंगशाला भलिबल टे्रनिङ सेन्टरमा करिब दश हजार क्षमताको प्यारापिट तयार गरिएको छ । सहभागी सबै महिला तथा पुरुष टिम पोखरा आइसकेका छन् । खेल तालिकाअनुसार हरेक दिन महिला र पुरुषतर्फका २–२ खेल गरी चार खेल हुनेछ । नेपाल भलिबल संघको स्वीकृतीमा हुने चौथों टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लव समेत पोखरा आइपुगेको छ ।

महिलातर्फ चन्द्रगिरी नगरपालिका न्यू डायमण्ड स्पोर्टस क्लब, गण्डकी प्रदेशसँगै तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छ ।

त्यसैगरी, पुरुषतर्फ श्रीलंकाको आर्मी टिम पहिलो पटक पोखरा आएको छ । प्रतियोगितामा सहभागी हेल्प नेपाल स्पोर्टस क्लवले तीन जना पाकिस्तानी खेलाडी समेत टिममा भित्राएको छ ।पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघसँगै तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छ ।

खेल तालिकाअनुसार लिग कम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन माघ १ गतेदेखि ३ गतेसम्म महिला र पुरुषतर्फ दुई/दुई गरी चार खेल हुनेछ । महिलातर्फ पहिलो दिन माघ १ गते विभागीय टोली एपिएफ क्लबले नेपाल पुलिस क्लवको सामना गर्ने छ । दोस्रो खेल त्रिभुवन आर्मी क्लब र चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लबबिच हुनेछ ।

पुरुषतर्फको पहिलो खेल मध्यान्ह्रमा दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबविच हुनेछ भने सो खेलगतै उद्घाटन खेल सुरु हुनेछ । माघ २ गते महिलातर्फ गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लब र हरियाणा टिम भारतबिच हुनेछ । त्यस्तै, पुरुषतर्फको पहिलो लिग खेल श्रीलंका आर्मी टिम र एपिएफ क्लब तथा दोस्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लबबिच हुने भएको छ ।

माघ ३ गते महिलातर्फ एपिएफ क्लव र गण्डकी प्रदेशबिच हुने छ भने दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लबले हरियाणा पुलिस क्लवसँग सामना गर्नेछ । यता, पुरुषतर्फ सोही दिन लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिमबिच तथा दोस्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेश आमनेसामने हुनेछन् । खेल तालिकाअनुसार माघ ४ गते महिला र पुरुष दुवैतर्फ सेमिफाइनलका खेल सञ्चालन हुनेछ । माघ ५ गते तेस्रो र चौथों हुने टिमको टुङ्गो लाग्नेछ ।

माघ ६ गते महिला र पुरुषतर्फ फाइनल खेल सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए । यस्तै, प्रतियोगिताका विजेता टिम (महिला र पुरुष दुवै) ले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित सम्मानस्वरुप ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ तथा तेस्रो टिमले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार नगद सम्मानस्वरुप प्रदान गरिनेछ । अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई एक्सटेपको १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले बताएको हो ।

प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने पनि आयोजकले जनाएको छ । फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोबाइल प्रदान गरिने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड १५ लाख भन्दा बढी खर्च हुने आयोजकको भनाइ छ ।