Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नुवाकोटका स्थानीयले प्रजिअलाई ज्ञापनपत्र बुझाए

२७ शुक्रबार , पौष २०८०९ महिना अगाडि

नुवाकोटका स्थानीयले प्रजिअलाई ज्ञापनपत्र बुझाए

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले नुवाकोटमा सञ्चालन गर्न लागेको एमसिए प्रसारण आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ७ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । 

जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का बासिन्दाले आयोजना कार्यान्वयन हुने क्षेत्रका प्रभावित बासिन्दालाई रोजगारी, सामाजिक तथा वातावरणीय सुरक्षा लगायतका माग राखेर नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाइएका हुन् ।

प्रसारण लाइन आयोजना प्रभावितहरुलाई १ घर १ रोजगारको सुनिश्चितता गर्नुपर्ने भन्दै स्थानीयले आयोजनाले स्थानीयलाई पार्ने प्रभावबारे सरोकारवाला अनविज्ञ देखिएको उल्लेख गरेका छन् । 

'आयोजना पक्ष आफ्नो काम नियमित अगाडि बढाउने क्रममा प्रभावित क्षेत्रका स्थानीयहरुमा पर्न जाने प्रभावको बारेमा अनविज्ञ रहेको पाइएको साथै आयोजनाले पार्ने प्रभावको न्यूनीकरणका लागि स्थानीयहरुको मागसहित ज्ञापनपत्र पेस गरेका छौँ ।' पत्रमा भनिएको छ । 

यही पुस १९ गते आयोजना प्रभावित क्षेत्रका स्थानीय व्यक्तिहरुको भेला बसी एमसिए विद्युत प्रसारण आयोजना सरोकार समिति गठन गरिएको थियो । सोही समितिले प्रमुख जिल्ला अधिकारी र बेलकोटगढी नगरपालिकाका प्रमुख जगत लामालाई ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

यी हुन् मागहरुः

१. नेपाल विद्युत प्राधिकरणले एमसिए प्रसारण लाइन आयोजना प्रभावितहरुलाई १ घर १ रोजगारको सुनिश्चितता गर्नुपर्ने ।

२. एमसिए नेपाल आयोजनाले प्रभावित क्षेत्रका नागरिकहरुलाई पनि रोजगारका अवसरमा प्राथमिकता दिइनुपर्ने ।

३. आयोजना प्रभावित क्षेत्रमा विद्युतीय उपभोगमा न्यूनतम युनिट निःशुल्क हुनुपर्ने ।

४. प्रसारण लाइन (तारमुनी) वा दाँयाबाँया २३/२३ मिटर (धितोबन्धकी नहुने, घरबस्तीका लागि जोखिम हुने तर २० प्रतिशत मात्रै मुआब्जा दिने विषयले स्थानीयलाई गम्भीर मर्का पर्ने देखिन्छ । तसर्थ) जग्गा नापी सर्भे गरी एमसिएले अधिग्रहण गर्नुपर्ने ।

५. २०२५ सालदेखि भोगचलन गर्दै आएको जग्गा नेपाल सरकारले भूमि आयोगमार्फत २०५७ र २०७४ पछि स्थानीय सरकारले मागेबमोजिम कागजपत्र वडा कार्यालय आफैँ उपस्थित भइ पेस गरेका छौँ । अहिले सर्भे प्रतिवेदन बुझाउने टोलीले ऐलानी भनी प्रसारण लाइनको मुनि र दाँया बाँयाको प्रतिवेदन तथ्याङ्क टोलीले सोधपुछ सम्म नगरेको हुनाले आवश्यक व्यक्ति र जग्गा पहिचान गरी क्षतिपूर्ति वा सोसरह सुविधा उपलब्ध गराउन माग गर्दछौँ ।

६. यस प्रसारण लाइन आयोजनाले यस क्षेत्रमा पार्ने वातावरणीय प्रभाव, जैविक विविधताको जोखिम, पानी पधेँरो, खोला खोल्सा, चरीचरण, कृषि क्षेत्र, जीवजन्तु र मानव स्वास्थ्यमा पार्ने प्रभावहरु के के हुन् र तिनको निराकरणका लागि के कस्ता सुरक्षाको उपायहरु अपनाइनेछ सो विषय स्पस्ट पार्न माग गर्दछौँ ।

७. प्रसारण आयोजना क्षेत्रमा पर्ने धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्थानीयका आस्थाका संरचना वा भुभाग (जस्तै, धार्मिक मन्दिर, गुठी, चौतारा, चिहान, खेल मैदान, पिकनिक क्षेत्र, पार्क आदि)को संरक्षणको जिम्मेवारी सम्बधित आयोजनाको हुनुपर्नेछ ।