Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एक वर्षमा ९० हजार बढी विदेशीले मुस्ताङ भ्रमण गरे

१७ मंगलबार , पौष २०८०१० महिना अगाडि

एक वर्षमा ९० हजार बढी विदेशीले मुस्ताङ भ्रमण गरे

एक वर्षको अवधिमा ९० हजार भन्दाबढी विदेशी पर्यटकले पर्यटकीय जिल्ला मुस्ताङको भ्रमण गरेका छन् । सन् २०२३ को अन्तिमसम्म ९० हजार ३ सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।

मुस्ताङ जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिएको र  जिल्लाको प्रचुर मात्रामा प्रचार–प्रसार भएसँगै सुविधायुक्त होटल खुलेका कारण मुस्ताङमा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जानकारी दिएको छ । त्यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिक मुस्ताङ भ्रमणमा आउने क्रम पनि बढेको बताईएको छ ।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख पदमराज रेग्मीले सन् २०२२ को तुलनामा २४ हजार ४ सय २५ जना बढी पर्यटकले मुस्ताङ भ्रमण गरेको जानकारी दिएका छन् । सन् २०२२ मा ६५ हजार ९ सय ४०, सन् २०२१ मा २ हजार ३ सय र २०२० मा २ हजार ३ सय ४७ जना पर्यटक मुस्ताङ भ्रमण गरेका थिए ।

कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजार सम्म पर्यटक आउने गरेका थिए । सन् २०२३ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ७२ हजार १ सय ९० जना दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)राष्ट्रका र १८ हजार १ सय ६६ जना तेस्रो मुलुकका छन् । १० हजार ७ सय ३३ जना पर्यटक थोराङ्ला पास भएर मनाङ हुँदै मुस्ताङ आएका एक्याप प्रमुख रेग्मीको  भनाई छ ।

कागबेनीबाट कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशको लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लामा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुकका पर्यटकलाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार रुपैयाँ तोकिएको छ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका पर्यटकका आकर्षण हुन् । कोरोनापछि मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किएको छ ।

पर्यटकहरु सडक र हवाई मार्ग भएर मुस्ताङ पुग्ने गरेका छन् भने मनाङ हुँदै थोरङ्ला भञ्ज्याङ पार गरेर केही पर्यटक मुस्ताङ प्रवेश गर्ने गरेका छन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मुस्ताङ आन्तरिक र बाह्य पर्यटकको रोजाइमा परेको जिल्ला समेत हो ।

अहिले मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या बढे पनि सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या भने घट्दै गएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताएका छन् ।