Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पूर्व राजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायणको शालिक अनावरण

१५ आइतबार , पौष २०८०३ बर्ष अगाडि

पूर्व राजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायणको शालिक अनावरण

कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्मित पृथ्वीनारायण शाहको जंगी शालिक पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेका छन् । पूर्वराजा स्व. वीरेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको जंगी शालिक अनावरण गरेका हुन् ।

पश्चिमी जिल्लाहरुको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शिवराज नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक ब्यानर उघारेर अनावरण गरेका थिए । भैरहवामा रहेका शाह भैरहवादेखि बहादुरगन्जसम्मको हुलाकी बाटो हुँदै खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकूलमा रहेको स्वर्णद्वारी आश्रममा पूजापाठपछि उनले शालिक अनावरण गरेका हुन । नाति ह्रदयेन्द्र सहित उक्त शालिक अनावरण पुगेका शाहले झन्डोत्तोलन समेत गरेका छन् ।  

खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकूलमा रहेको स्वर्णद्वारी आश्रममा पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए । सो क्रममा शाहले नागरिक अभिनन्दनसमेत ग्रहण गरेका शाहा आधा घण्टाको बसाईपछि भैरहवा फर्किएका थिए भने कार्यक्रममा राजतन्त्रको पक्षमा नाराबाजी गरिएको थियो ।

राप्रपाको तर्फबाट मेयरमा निर्वाचित अजय थापाको विशेष पहलमा त्यहाँ पृथ्वीनारायण शाहको शालिक निर्माण भएको हो । उक्त कार्यक्रममा पूर्वराजा र ह्रदयेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा भीड लागे पनि सो कार्यक्रममा कांग्रेस, एमालेतर्फबाट निर्वाचित कुनै जनप्रतिनिधि सहभागी थिएनन् ।

कार्यक्रममा मेयर थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुनु आफैमा ऐतिहासिक क्षण रहेको उल्लेख गर्दै बाइसे,चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेका पृथ्वीनारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुशी लागेको बताएका थिए ।