Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आहा गोल्डकपको २३औँ संस्करण माघ ९ देखि हुने

१३ शुक्रबार , पौष २०८०३ बर्ष अगाडि

आहा गोल्डकपको २३औँ संस्करण माघ ९ देखि हुने

आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा गोल्डकपको २३औँ संस्करण माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको हो ।

अखिल नेपाल फुटबल सङ्घबाट समय तालिका प्राप्त भएपछि यस वर्ष प्रतियोगिताको तयारी सुरु गरिएको सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन् । प्रतियोगिता पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सञ्चालन हुने बताईएको छ ।

हरेक वर्ष सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा गोल्डकपमा ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नाराका साथ प्रतियोगितामा यसपटक विदेशी टोलीहरू, ‘ए’ डिभिजनका क्लबहरू, मोफसलका टोलीहरू र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ ।

यसअघिको संस्करणको विजेता सङ्कटा क्लब काठमाडौँ तथा उपविजेता भुटनिज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका रहेका थिए । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने नाराका साथ विसं २०५५ मा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीका रूपमा लिने गरिएको छ । आहा रारा गोल्डकप देशकै पुरानो मध्ये एक प्रतियोगिता समेत हो ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले गर्दै आएको छ । यसवर्ष उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ ।

त्यसैगरी ‘म्यान अफ दी म्याच’, ट्रफी, नगद र मेडल, सहारा युकेले सहयोग गर्ने महासचिव अधिकारीले बताएका छन् । प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने पनि महासचिव अधिकारीको भनाई छ ।

क्लबले विपन्न बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षालगायत फुटबल प्रशिक्षण गराउदै आएको छ भने सहारा फुटबल एकेडेमीको सञ्चालन गरी बालकहरूलाई फुटबल खेल सिकाउँदै आएको छ । उक्त एकेडेमीमा चौथो ब्याचको आठ जिल्लाका १४ जना बालक आश्रित रहेको बताईएको छ ।