Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

कोइरालाबाद अन्त गर्न कस्सिए राम र शेर

०६ सोमबार , पौष २०७२११ बर्ष अगाडि

सुरु भयो सुशील कोइरालाको बिरासतको अन्त गर्ने कांग्रेसी महाभारत। शेरबहादुर देउवा र रामचन्द्र पौडेलको भित्री लेनदेनको सम्झौता तोड्न नसक्ने हो भने सुशील कोइरालाको फेरि सभापति बन्ने अथवा आफ्नो दायित्व सशांक कोइरालाको काँधमा बिसाउने उद्देश्य काँचो हाँडी फुटेझैं फुट्न अव धेरै दिन बाँकी छैन। नेपाली कांग्रेसको १३औं महाधिवेशन पार्टीमा कोइरालावाद कायम रहने कि तोडिने भन्नेमा केन्द्रित रहेको छ। रामचन्द्र पौडेलले भावी प्रधानमन्त्रीमा आफूलाई समर्थन गर्ने वचन नदिने हो भने पार्टी सभापतिका लागि देउवासँग मिल्ने संकेत कोइरालालाई दिइसकेका छन्। सुशील कोइरालामाथि सभापति नउठ्न उनका भित्रिया सहयोगी नरहरि, सुजाता र महेश आचार्यले पनि सुझाएका छन्। सहयोगी तथा महामन्त्री कृष्णप्रसाद सिटौला त लामो समयदेखि सुशील कोइरालासँग दूरी बनाएर टाढै बसेका छन्। यति हुँदा पनि अँध्यारो कोठाका डिजाइनर खेलाडी सुशील कोइराला सभापति पद नछाड्ने मनस्थितिमा छन्। उनले कार्यकर्ता परिचालन गर्न थालिसकेका छन्। नयाँ र पुराना सदस्यहरुको जोडघटाउ पनि गर्न थालेका छन्। सशांक कोइराला आनन्द ढुंगाना, दिलेन्द्र बडु, दिलबहादुर घर्तीजस्ता सुशीलका तोक्माहरु सुशीललाई सन्काइरहेका छन्। अर्थात् रामचन्द्र पौडेल सुशीलतिर लाग्छन् कि शेरबहादुरतिर? चुरो कुरो यही हो र रामचन्द्र पौडेलले निर्धारण गर्नेछन्– कांग्रेसको भावी सभापति को हुन्छ? यही बुझेर देउवाले 'म सभापति, तिमी भावी प्रधानमन्त्री' भनेर रामचन्द्रसँग हात मिलाइसकेका छन्। देउवाका लागि सभापति हुनु जीवनकै अन्तिम राजनीतिक दाउ बनेको छ। रामचन्द्र महत्वाकांक्षी छन् र एकपटक प्रधानमन्त्री बन्ने उनीभित्र सपना सलबलाइरहेको देउवाले राम्रैसँग बुझेका छन्। पार्टीमा पौडेल कमजोर छन् तर उनी र उनका समर्थकको मत निर्णायक हुने पक्का छ। यही कारण पौडेलका सहयोगीहरु देउवासँग हात मिलाउन र सुशीलको दौराको फेर नसमाउन सुझाव दिइरहेका छन्। पौडेल देउवातिर लाग्नासाथ सुशील ले सभापतिको दावी नै छाड्ने सम्भाबना बलियो छ।
के गरेर हुन्छ, कांग्रेसको सभापति कोइराला छाड्न चाहदैनन्। कोइराला सभापति जित्ने, सशांक कोइरालालाई उपसभापति बनाएर कार्यवाहक सभापतिको अभ्यास गराउने रणनीतिमा छन्। यो भनेको कोइरालाको हातबाट नेपाली कांग्रेसको नेतृत्वको निरन्तरताको खेल हो। पहिले गिरिजाले जे गरेका थिए, अहिले सुशील त्यही गर्दैछन्।
देउवा समूह संगठित छ। जसरी पनि देउवालाई यसपटक सभापति जिताउने उनीहरुको उद्देश्य रहेको छ। तर दोस्रोपुस्ताका नेताहरु चन्द्र भण्डारी, अर्जुननर्सिङ केसी, गगन थापा, नवीन्द्रराज जोशीहरु अहिले खुलिसकेका छैनन्। उनीहरु खाली अव युवा पुस्तालाई नेतृत्व सुम्पनु पर्छ, नयाँखाले चुनौतिसँग जुध्न र पार्टीलाई जिवन्त पार्न युवापुस्ताले मात्र सक्छ भनिरहेका छन्। शक्तिको होडबाजीमा यिनको कुरा काग कराउँदैछ, पिना सुक्दैछ भइरहेको देखिन्छ।
महाधिवेशन प्रतिनिधि छनौट अन्तिम चरणमा पुगेको छ। देउवा खेमा एक एक प्रतिनिधिको मनस्थिति खुट्याएर जित्ने तैयारीमा जुटेका छन् भने सुशीलको पक्ष पनि कमजोर छैन। त्यसै पनि कोइरालाका पक्षधरको कमी छैन। अहिले राजनीतिक बृत्तको एउटै प्रश्न छ: १३औं महाधिवेशनबाट कोइरालाको बिरासत ढल्ला त? यो सवालको जवाफ रामचन्द्र पौडेलले कोइराला कि देउवालाई साथ दिन्छन्? यसैमा निहित छ।