Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनकपुरमा २१ जोडीको सामूहिक विवाह

०३ मंगलबार , पौष २०८०१० महिना अगाडि

जनकपुरमा २१ जोडीको सामूहिक विवाह

जनकपुरधाममा २१ जोडीले सामूहिक विवाह गरेका छन् । सीताराम विवाहपञ्चमीको अवसरमा विश्व हिन्दू परिषद नेपालको आयोजनामा जानकी मन्दिर प्रांगणमा २१ जोडीले सामुहिक विवाह गरेका हुन् ।

उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषदले व्यवस्थापन गरेर मैथिली परम्परा अनुसार २१ जोडीको स्वयंबर तथा विवाह सम्पन्न भएको परिषदका जनकपुर अध्यक्ष सन्तोष साहले जानकारी दिएका छन् ।

प्रत्येक जोडीका लागि सुनको एक आनाको मंगलसुत्र, बेहुलीका लागि १ सेट साडी, श्रृंगारपटार, बेहुलाका लागि पाइन्टसर्ट, धोतीकुर्ताको व्यवस्था गरिएको थियो । यसैगरी भान्छा कोठामा प्रयोग हुने एक सेट सामान, एक सेट ओछ्यान र बेहुला–बेहुली पक्षका २५/२५ जनाका लागि खाजा/खानाको व्यवस्था समेत परिषदले गरेको बताईएको छ ।

एक जोडीको विहेको व्यवस्थापनमा ८०/८५ हजार रुपैयाँ खर्च भएको र उक्त खर्च परिषदले आर्थिक सहयोग संकलन गरी जुटाएको परिषदका अध्यक्ष साहले बताए । उनले जनकपुरधामलाई विश्वमा वैवाहिक स्थलको रुपमा परिचित गराउन सामूहिक विवाहको आयोजना गर्ने गरेको समेत बताएका छन् ।

विवाहपञ्चमीको अवसरमा परिषदले विगत पाँच वर्षदेखि सामूहिक विवाहको कार्यक्रम गराउँदै आएको छ । यसपटकको उक्त सामुहिक विवाहमा विवाह गर्नु अघि बेहुलाहरुलाई दिउँसो रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।

परिषदको आयोजनामा यसरी विवाह गर्ने प्रायः २० वर्ष उमेर पूरा भएका आर्थिक अवस्थाले कमजोर परिवारहरु हुने र उनीहरुको अभिभावकको सहमतिमा विवाह गराइदिने गरिन्छ ।