Advertisement Banner
Advertisement Banner

१६ शनिबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कञ्चनपुरमा निषेधाज्ञा जारी

२८ बिहिबार , मंसिर २०८०३ बर्ष अगाडि

कञ्चनपुरमा निषेधाज्ञा जारी

स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज देखि ७ दिनसम्मका लागि भीमदत्त नगरपालिका ४ को संविधान चोकदेखि पूर्वमा दशरथचन्दको शालिकसम्मको मुख्य सडक र पश्चिममा मदन भण्डारीको शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले  जानकारी दिएका छन् ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम जारी आदेशअनुसार उक्त क्षेत्रमा ७ दिनसम्म ५ जना भन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाईने जनाइएको छ ।

संविधान चोक आसपासको क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनैतिक दलहरु बीच मत भिन्नता भएकाले सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्वाध सञ्चालन गर्न निषेधाज्ञा लगाउनुपरेको प्रमुख जिल्ला अधिकारीको भनाई रहेको छ ।

भीमदत्त पन्तको शालिक तोडफोड गरेको अभियोगमा राप्रपाका जिल्ला सचिवसहितका १८ जना नेता, कार्यकर्ता पक्राउ परेका थिए । संविधान चोकमा आज बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा महेन्द्रको शालिक स्थापना गर्ने तयारी गरेको थियो ।