Advertisement Banner
Advertisement Banner

०६ शनिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

अहं सवालको जवाफ खोज्नैपर्छ

१९ मंगलबार , मंसिर २०८०एक बर्ष अगाडि

अहं सवालको जवाफ खोज्नैपर्छ

राजतन्त्र कि गणतन्त्र ? संघीयता कि खारेजी ? धर्मनिरपेक्षता कि हिन्दु अधिराज्यको पुनर्वहाली ? भ्रष्टाचार कि सुशासन ? राजनीति कि अपराधिकरण ? विधिको शासन कि सर्वदलीय षडयन्त्रपूर्ण परिपाटी ?
यी प्रश्न राष्ट्रका सामु उभिएका अहं प्रश्न हुन् । १७ वर्षदेखि जनताले यिनै सवालको जवाफ नेतृत्वबाट, नेतृत्वले चलाएको शासन प्रशासनबाट आउने आशा गरेर बसेका थिए, आएन । अब जनता यतिबिघ्न निराश भइसके कि जनताको निराशा अब सडक आन्दोलनका रूपमा पोखिन थालेको छ । जनतालाई यतिबिघ्न निराश पार्नु र आक्रोशित भएर सडकमा निस्कन बाध्य पार्नुले यो पद्धति, यी नेताको चरित्र र यिनले चलाएको शासन प्रशासनप्रति जनताको समर्थन छैन । यसैगरी चलाउने र चल्ने हो भने यी नेताहरूप्रति जनताले घृणा गर्दागर्दै यो पद्धति नराम्रोसँग सडकमै पाहा पछारिएझैं पछारिने खतरा दिनदिनै बढेर गएको छ । समय छ, अझै जनताले मौका दिएका छन्, यो अवसरको लाभ उठाएर देश हाँक्ने, संसद र राजनीतिका अगुवाहरूले जनअपेक्षाको संवोधन गरेर आफू र आफ्ना पार्टीका नीतिहरूलाई जनमुखी साँचोमा ढाल्नु उचित हुनेछ । मौका पाउँदा पनि नसच्चिने र आफ्ना जनविरोध गलत क्रियाकलाप नसच्याउने हो भने भोलि पछुताउनु पर्ने दिन पनि आउनेछन् । जे अफगानिस्तानमा देखियो, जेजस्ता परिदृश्य श्रीलंकामा देखियो, दक्षिण एसियका यी मुलुकमा जनताले देखाएको आक्रोशबाट पाठ सिक्नु बुद्धिमानी हुनेछ । जो देखेर चेत्दैन, ऊ भोगेर पनि चेत्दैन । पछुताएर आफ्नै खप्परमा हात राखेर छटपटाउने गर्छ । किन त्यो अवस्था आउन दिने ? परिवर्तन गर्न जति सजिलो रहेछ, सत्ता सञ्चालन गरेर निर्माण गर्न झन कष्टकर रहेछ भन्ने सबैले बुझेको हुनुपर्छ । यत्ति बुझिसकेपछि सहमतिको राजनीति गर्नु उचित हुनेछ । यिनै नेता, यही तरिकाले लोकतन्त्र अग्रगमनमा जान नसक्ने निश्चित भइसक्यो । यी नेता र यो नीतिबाट भ्रष्टाचार र अपराधिकरणमात्र बढ्यो, सुशासन र विधिको शासन स्थापित हुनसकेन । यसकारण बिलम्ब नगरी निषेध र विभेद छाडेर सच्चिने र सहमतिको राजनीतिबाट लोकतान्त्रिक मार्ग हिड्नु उचित हुनेछ ।
जनयुद्ध र जनआन्दोलन गरियो राजतन्त्र पाखा लगाइयो भनेर विधिको शासन नचल्ने रहेछ । संघीयता भनेर पार्टीका कार्यकर्ताको पालनपोषण गरेर जनताको नाना, दाना, छाना खोसेर पनि विकास नहुने रहेछ । धर्मनिरपेक्षता भनेर विदेशी डलरमा रमाउनुले देशको एकता, धर्म र सुरक्षा बरबाद हुनेरहेछ । सुशासन दिन्छौं भनेर चर्को र आकर्षक भाषण गरेर पनि लथालिङ्गमात्र हुनेरहेछ । राजनीतिमा अपराधिकरण गरेर राजनीतिक सत्ता प्राप्ति र आर्थिक हैसियत बृद्धि गर्न सकियो, देश र जनता कङ्गालमात्र भएका छन् । संविधान बनायौं, कार्यान्वयन गरियो भन्ने यिनै दल हुन्, यिनले विधिको शासनलाई सडकमा पानी पोखेजसरी पोखिदिए । अर्थात्, देश भ्रष्टाचारी मुलुक बन्यो । हरेक रिपोर्टहरू भन्छन्– नेपालमा सुशासन छैन, अनियमिततामात्र छ । घटनाक्रमले पनि हरेक नेता कलंकित छन्, भ्रष्टाचारबाट डामिएका छन्, जनविरोधी र राष्ट्रघातीको आरोप बोकेर हिडिरहेका छन् । जनता सोझा भए, गरीब जनतालाई चुनावका बेलामा मासुभात खान दिएर, पैसाको लोभ देखाएर चुनाव जित्न सकिन्छ भन्ने मनोवृत्ति बढेर जानु भनेको लोकतन्त्रको दुरूपयोग हो, लोकतान्त्रिक चरित्रको अपमान हो । यस्तो अपमान र अलोकतान्त्रिक भएर पनि देश अघि बढ्छ, जनताले जयजयकार गर्लान् ?
आज जनता सडकमा निस्किन थालेका छन् । जनता सलहजसरी निस्कनु र सडकमा असन्तोष पोख्न थाल्नु भनेको सुनामीको झल्को हो । सुनामी नआउँदै अनुत्तरित सवालको जवाफ खोज्नु दुर्घटना टार्नु हो ।