Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राजदूतको दिवाभोज

२८ सोमबार , मंसिर २०७२११ बर्ष अगाडि

 मंसिर २५ गते: भारतीय राजदूत रंजित रेले दिवाभोजको आयोजना गरे, त्यो भोज खान हाम्रा नेताहरुको जुलुस नै सहभागी भए। धन्न, ठूला नेताहरु गएनन्। तिनको आदेशमा साना नेताहरु भोजमा सामिल भए। भोज त आवरणमात्र थियो, यथार्थमा राजदूत रंजित रेले वार्ता र संवाद अनि संविधानमा सहमति गरेर अघि बढ्न दिएको फर्मान आज्ञाकारी विद्यार्थीले बुझेझैं बुझेर आए हाम्रा नेताहरु। त्यसपछि प्रश्न उठेको छ– कति स्वादिलो थियो, दूतावासको दिवाभोज? त्यसो त हाम्रा नेताहरुलाई साह्रै मीठो लाग्ने दिल्लीको बासमती चामलको बासी भात नै हो। स्वदेशको गुन्द्रुक ढिाढो यिनलाई मन पर्दैन। मुखले स्वाधीनता र स्वाभिमान, स्वालम्बन र सार्वभौमिकताका गफ चुट्छन् र हात दिल्ली र दूतावासतिरै फैलाउछन्। दिल्ली र दूतावासले पनि नेपाली नेताहरुलाइृ गर्नुसम्म गुन लगाएको छ, दिनुसम्मको सुविधा दिएको छ

शुक्रवारको भोज खान दूतावासले सााढे ३ दर्जन नेताहरुलाई निम्तो पठाएको थियो। सत्ताधारीले सभासद सुरेन्द्र पाण्डे, नागेन्द्र चोधरीलाई खटायो। एमाओवादीले रवीन्द्रप्रताप शाह, जनकराज जोशी र प्रभु साहलाई पठायो। नेपाली कांग्रेसको प्रतिनिधिका रुपमा सभासदहरु विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, अमरेशकुमार सिंह, गणेश मण्डल र रामअयोध्याप्रसाद यादव तथा राप्रपा र राप्रपा नेपालको प्रतिनिधित्व दीपक बोहोरा र दिलनाथ गिरीले गरेका थिए। उपेन्द्र यादवका तर्फबाट शिवजी यादव, राजेन्द्र महतोका तर्फबाट लक्ष्मणलालकर्ण र स्वतन्त्र सांसद अतहर कमाल मुसलमान दूतावासको भोज खान पुगेका थिए। अर्थात संविधान निर्माणका सबैशक्ति र संविधान संशोधनको माग राखेर आन्दोलनरत मधेसी मोर्चालाई एकै लहरमा राखेर भारतीय दूतावासले मीठो दिवाभोज खुवायो। आन्दोलन र नाकावन्दीको मारमा परेर भोकभोकै परेका जनताका सामु हाम्रा नेताहरु डकार्दै भारतीय दूतावासबाट निस्किए। जनता यो देखेर जिल्लाराम परेका छन्।

के हो यो तमासा? यिनै पार्टीहरु सत्तामा बसेर भारतीय हैकमवाद र अमानवीयताको बिरोध गरिरहेका छन् र यिनै पार्टीहरु भारतीय दूतावासदेखि दिल्ली दरवारसम्मको आलोचना गरिरहेका छन्। विश्वव्यापी रुपमा भारतको नाकावन्दीको नेपाली विरोध प्रदर्शन जारी छ। नेपालीहरु अक्शिजन र औषधिको समेत हाहाकारमा परेका छन्। यो स्थितिप्रति संवेदनशील भएर बैकल्पिक उपायहरु अवलम्बन गरेर नेपाली जनजीवन र अर्थतन्त्रलाई त्राण दिनुपर्ने जिम्मेवार राजनीतिक दलहरु उजूरी गर्न दिल्ली धाउाछन्, भोज खान दूतावास पुग्छन्। योभन्दा गैरजिम्मेवार र गैरसंवैधानिक चरित्र अरु हुनसक्छ? यथार्थमा राष्ट्रघात संविधान निर्माता र ठूला दलहरुबाटै भइरहेको छ। तथापि जनता सहनशील छन्, सहिरहेका छन्, जतिसुकै जनविरोधी काम गरे पनि यी नेताहरुबाटै केही हुन्छ भनेर प्रतिक्षारत रहेका छन्। आश्चर्य, जनताले आफ्नो स्तरअनुसारकै नेता पाएका हुन् त?