Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

कति गनाएका नेताहरु?

०५ सोमबार , माघ २०७१११ बर्ष अगाडि

राजनीति र शिक्षा दुईक्षेत्र बिग्रियो भने शासन, प्रशासन, शान्ति व्यवस्थामा यसरी दुर्गन्ध फैलिन्छ कि त्यसलाई सम्हाल्नै सकिन्न। नेपालमा राजनीति दुर्गन्धित भयो, यसलाई सम्हाल्ने, सुधार्ने काम शिक्षा क्षेत्रले गर्नुपर्ने हो, त्यो पनि व्यापारिक बन्यो। के चाहियो, यतिखेरको नेपाल दुर्गन्धपुर बन्न पुगेको छ। शिक्षा अर्थात बुद्धिजीवी, नागरिक समाज, अधिकारकर्मी सबै राजनीतिक कित्ता कित्तामा बिभाजित बनेका छन्। राजनीतिले समाजलाई नराम्ररी ध्रुविकृत पारिदिएको छ। राजनीतिक ध्रुविकरण अर्थात राष्ट्रका सबै अंग, प्रत्यङ्गको राजनीतिक विभाजन। बिभाजन भनेको बिबाद हो, एकता होइन। एक नेपाल, एक नेपाली थिए अव संघीयताले अनेक नेपाल, अनेकता भित्र्याउन खोजिरहेको छ। हाम्रो एकताको शक्ति खण्डीकरण हुँदैछ। खण्डिकरण भनेको हाम्रो शक्तिको क्षयीकरण हो। जनआन्दोलनपछि गणतन्त्र आयो भनेर जुन बसन्त पर्वको उत्साह थियो, ७ वर्षमा उत्साह सेलायो, निरुत्साह बढ्यो। जनताको मुहारमा असन्तोष र आक्रोस पो बढ्यो।
यसको जिम्मेवार राजनीतिक दलहरु नै हुन्। राजनीति नैतिकवान भइदिएको भए, शासन नैतिकवान हुन्थ्यो, प्रशासन शुद्ध बन्थ्यो। अनैतिक र भ्रष्ट राजनीतिको संरक्षण पाएर शिक्षा अर्थात शैक्षिक जमात नै भ्रष्ट हुँदै गएको छ। स्कूल, कलेज, विश्वविद्यालयका फाइलहरु अख्तियारका कोठाभरि पुगेका छन्। नक्कली शिक्षक, नक्कली विद्यार्थी, रक्सी पिएको र जुत्तामा लगाएको पालिसको बिल पनि विश्वविद्यालयले तिरेको यथार्थले शैक्षिक संस्थाहरुको हालत के भइसकेछ? अझ सरकारले दिने एमवीवीएसको छात्रबृत्तिको प्रश्नपत्र प्रकरणमा २५ देखि करोडसम्मको घूसकाण्डले त शिक्षा मन्त्रालयलाईसमेत नाङ्गेझार पारिदिएको छ। त्यसपछि नागरिक समाज, अधिकारकर्मी र बुद्धिजीवीहरु जनताका अपेक्षा बोल्न नसक्ने लाटो बन्नु भनेको देश अराजकता र निरंकूशतातिर, क्षतविक्षत हुन थालेको दृष्टान्त नै हो। अह, पटक्कै दुख्दैन देश कसैलाई। राजनीति र शैक्षिक जगत नै उदासीन भएको देशमा मनलागी हुन्छ, भइरहेको छ। यो देशलाई सम्हाल्ने एकजना नेता पनि जन्मन सकेन। देश बिगार्नेले बिगारे, नयाँ नेपाल बनाउने सपना पनि देखाए। एकथान संविधान पनि लेख्न सकेनन् र देशलाई मुठभेड, रक्तपात र अराजकतातिर धकेल्न धकेल्न लागेका छन्। माघ ८ मा के हुन्छ? माघ ८ पछि कस्तो स्थिति सिर्जना हुने हो? सबै भयभित छन्। भय सुरक्षा निकायलाई पनि छ। त्यसैले संविधान जारी गरेर हर्ष मनाउने बेलामा सुरक्षा निकाय बन्दुक, लठ्ठी, टियरग्यास तैयार गर्न थालेका छन्। जेलमा ठाउा खाली गराउन थालिएको छ। यो सब संकेतहरु देख्दा लाग्छ: उकुसमुकुस बढ्यो, अव रक्तपातको अर्को श्रृंखला सुरु हुनेवाला छ। शान्ति, संविधान र सम्पन्नताको आश गरेर बसेका जनतामाथि नेताहरुले धोका दिन दिन लागेका छन्। नेताहरुमा इमान देखिएन, इमान्दार बन्न सकेनन्। बेइमान नेताहरुका कारण जनताले अर्को कष्ट र दुःख भोग्ने दिन आउन लाग्यो। नैतिकता गुमाएका नेता भएपछि देश अन्धकारमय हुनेरहेछ। समय छ, ख्याल गर।