Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सद्भाव किन बिथोलिदै छ ?

२३ मंगलबार , आश्विन २०८०१० महिना अगाडि

सद्भाव किन बिथोलिदै छ ?

पहिले रौतहट, पछि धरान, सर्लाही, बाँकेलगायतक जिल्लाहरूमा जातीय, धार्मिक सद्भाव जसरी भड्काउन खोजियो, त्यो नेपालमा अराजकता फैलाउने दुस्प्रयास हो । राजनीतिक रूपमा अस्थिर सरकार छ, राजनीतिक दलहरू सत्तास्वार्थमा डुबेका छन्, अति राजनीतिकरणका कारण राज्यका न्यायालयलगायतका सबै संवैधानिक र प्रशासनिक अङ्गहरू अनैतिकता र भ्रष्टिकरणमात्र होइन, अपराधिकरण गरिएको छ । यो अवस्थामा पश्चिमा, दक्षिणा र तिनको पछि लाग्ने सत्तास्वार्थी राजनीतिक दलहरूले जुन दुस्चक्र चलाइरहेका छन्, त्यो नेपाली हक, हित, शान्ति र समुन्नतिका लागि दुर्भाग्यजनक परिस्थिति हो । अग्रगमनका कुरा गर्ने १० दलको सरकार छ, यो सरकारलाई कसैले पनि काम गर्नका लागि बाधा अडचन हालेको छैन, तर सरकार स्वयम् विभेद, निषेध र अपराधिकरणतिर उन्मत्त भएर लागेको देखिन्छ । यसकारण यो सरकारको १० महिना खेर गएझैं लाग्छ । सुरूका दिनमा केही भ्रष्टाचारका फाइल खोलेर ठूला भ्रष्टाचारीमाथि कारवाही गर्न खोजेको थियो, जनताले प्रशंसा गरेका थिए । बिस्तारै बिस्तारै सुन, ललिता निवासकाण्डदेखि अनेकन भ्रष्टाचारका प्रकरणहरू छायाँमा पर्दै गएका छन् । सरकारको उज्यालो अनुहार पनि अँध्यारो हुँदै गएको छ । फौजदारी अभियोग लागेका र जन्मकैद भोगिरहेका अपराधीहरू संविधान–लोकतन्त्र दिवस र गणतन्त्र दिवसका नाममा छुट्दै गएपछि समाज असुरक्षित बन्दै गएको देखिएको छ ।
हुँदा हुँदा संविधानले बर्जित गरेका गाई गोरू काटेर भोज लगाउने दुस्साहसीहरू देखा परे । त्यसमाथि मुस्लिम र हिन्दुवीच धार्मिक सद्भाव बिथोल्ने काम हुनथालेका छन् । बाध्य भएर सरकारले कफ्र्यू लगाउनु पर्ने अवस्थाको सिर्जनासमेत हुनपुगेको छ । जन्मकालदेखि नै नेपालमा अनेकन जातजातिको बसोबास छ । सबै जातजाति, धर्म सम्प्रदाय सबै सद्भाव कायम गरेर बसेका छन्, बाँचेका छन् । त्यो सद्भाव बिथोल्न छिमेकीको अतिवादी धार्मिक समुदायसमेत नेपाल प्रवेश गरेको देखियो । धन्न, नेपालमा बसोबास गर्ने मुस्लिम, हिन्दुलगायतका अनेक धर्मावलम्बी अगुवाहरूले सद्भावका लागि आह्वान गरिरहे । एकता प्रदर्शन गरिरहे र बिस्तारै धार्मिक विवादको आगो, डढेलो निभ्दै गएको छ । यद्यपि यो खतरा सधैंका लागि कायम छ र प्रत्येक नेपाली जो जुनसुकै जातका वा धर्मका हुन्, सचेत हुन जरूरी छ ।
जातीय एकता र सद्भाव नेपालको पुँजी हो । यो पुँजी नष्ट गर्न अनेक थरिका षडयन्त्र भइरहेका छन् । हिन्दु वा मुसलमान धर्मप्रति अनास्था फैलाएर फाटो ल्याउनेहरू सकृय भइरहेका छन् । यसमा मलजल पार्टीमा लागेका र विदेशीले पनि गरिरहेका छन् । यसकारण यस्ता तत्वको जरासम्म अनुसन्धान गरेर नेपालको सद्भाव भाँड्न खोज्नेको मुखुण्डो उतारिदिनुपर्छ । नेपालमा कहिले पनि अनेक धर्मवीच सद्भाव छ, अनास्था फैलाउने, घृणा गरेको दोष एकदोस्रामाथि लगाउनहरूप्रति हरेक नेपाली सतर्क र सचेत हुनैपर्छ । शासन प्रशासन, राजनीति गर्नेहरूले स्वार्थमा परेर संरक्षण गरे पनि त्यस्तामाथि समेत आमनागरिक र अगुवाहरूले निगरानी राख्नैपर्छ । वक्तव्यबाजी भएका छन्, भावुकता पनि जन्मेको छ तर यस्ता कृयाकलापले मात्र समस्या समाधान हुनसक्दैन । न हिन्दुबाट, न मुसलमानबाट समाज बिथोलिएको होइन, बिथोल्न खोज्नेहरू एकतामा अमिला निचोरेर फटाउन चाहिरहेका छन् । खास पीडित हिन्दु छन्, मुस्लिममाथि पनि पीडा थपिने क्रम छ । इसाईहरू बढी सकृय छन् धर्म परिवर्तनतिर । संविधान एकातिर साजिस र षडयन्त्र अर्कोतिर । भएको सद्भावको सम्पत्ति नष्ट हुनबाट सबैले बचाऔं ।