Advertisement Banner
Advertisement Banner

२० आइतबार, फाल्गुण २०८०11th December 2023, 11:01:09 am

भ्रष्टाचारले अवस्था खायो अब व्यवस्था खान्छ

०२ मंगलबार , आश्विन २०८०५ महिना अगाडि

भ्रष्टाचारले अवस्था खायो अब व्यवस्था खान्छ

भ्रष्टाचार भनेको फलाममा लाग्ने खियाजस्तै हो । खियाले फलामको अवस्थालाई यसरी खाइदिन्छ कि धुलो बनाउँदै लान्छ । अन्ततः फलामको अस्तित्व नै मटियामेट पारिदिन्छ । यो प्राकृतिक र बैज्ञानिक यथार्थ पनि हो । यो यथार्थ मान्छेको जीवन र राष्ट्रको जीवनमा पनि लागू हुन्छ ।
मान्छेको जीवनमा अनैतिकता फलाममा लाग्ने खिया सरह हो । अनैतिकता बढ्दै गएपछि मान्छे पशु हुन्छ र पशु भएर सकिन्छ । मान्छेले आफ्नो अस्तित्वलाई खुब चम्काए भन्ठान्दा भन्ठान्दै मान्छेको अस्तित्वहीन बन्छ । राष्ट्रको जीवनमा बिधिले बाँध्न नसकेको भ्रष्टाचारले राष्ट्रलाई मैनबत्ती पगालेसरह पगाल्दै पगाल्दै अस्तित्वहीन बनाइदिन्छ । ०४६ सालपछिको बहुदल र ०६३ सालको परिवर्तनपछिको लोकतन्त्र दुबै व्यवस्थामा भ्रष्टाचार पन्पियो । यतिबेला राष्ट्रको जीवनमा भ्रष्टाचार यसरी फैलिएको छ कि यो भ्रष्टाचारले बिधि र सुशासनलाई खाइसक्यो । बिधिको पालना गराउने अदालत र गर्ने कार्यपालिका, व्यवस्थापिका दुबैतिर भ्रष्टाचारै भ्रष्टाचार गनाइरहेको छ । यहाँसम्म कि देशमा ७ सय ६१ सरकार छन्, एउटा सिंहदरवारको भ्रष्टाचार यी सबै दरवारहरूमा महामारी बनेर फैलिएको छ । देश विकास र जनताको अवस्था फर्ने विषयमा कसैलाई चासो र चिन्ता छैन । सबैको नजर सत्ता, शक्ति र सम्पत्तिमा देखिन्छ । जसरी पनि कमाउनुपर्छ भन्ने मान्यताले गर्दा भ्रष्टाचार देशव्यापी बन्न पुगेको हो । अर्थात् भ्रष्टाचारले अवस्था खायो, दुरावस्था ल्यायो, दुरावस्थामा लोकतन्त्र फलेको फुलेको कुप्रचार भइरहेको छ ।
यसकारण लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा जनताको आस्था र विश्वास घट्दै गएको छ । कसैले नेताको गर्धनमा खुकुरी हान्यो भने सामाजिक सञ्जालमा आमनागरिकले क्यावात् भनेर प्रशंसा गर्न थालेका छन् भने कुनै जनप्रतिनिधिले सिंहदरवारमा आगो लगाइदिन्छु भन्यो भने त्यो साहसी रहेछ भनेर प्रशंसाको बाढी नै देखिन थालेको छ । यथार्थमा आतंक आतंक हो, खुकुरी र आगो दुबै हिंसाका प्रतिक हुन् । तर भ्रष्टाचार यसरी बढेको छ कि, कुशासन यसरी फैलिएको छ कि युवा विदेशीने, जो देशमा छन् उनीहरू निराश छन् । यसकारण जनताको आक्रोशको प्रतिनिधि पात्र बनेका छन् यस्ता क्रियाकलाप । यति हुँदा पनि स्थापित ठूला दल बुझ्दैनन्, आफ्नो बिगतलाई विश्लेषण गर्दैनन्, कतै हामीले गलत त गरिरहेका छैनौं भनेर मिमांसा गर्न चाहदैनन् । जब जनता निराश हुन्छन्, तब बिद्रोह गर्छन् । नेपाली बिद्रोह गर्न सक्दैनन्, कसैले बिद्रोही स्वभाव देखायो भने समर्थन गर्छन् । खुकुरी काण्ड र आगो झोस्ने प्रकरणमा सामाजिक सञ्जालमा लाखौं लाखको समर्थन जनआक्रोशको झिल्का हो । यो झिल्कालाई समयमै नेतृत्वले बुझेनन् र आफूलाई भ्रष्टाचारी कलंकबाट धोइ पखाली गर्ने प्रयत्न गरेनन् भने आगामी दिनमा यो अवस्था र व्यवस्था दुबै बालुवाको महल ढले जसरी ढल्नेछ । किनकि फलाममा खिया लाग्यो भने फलाम धुलो हुन्छ, शासन व्यवस्थामा भ्रष्टाचार फैलियो भने मटियामेट हुन्छ । सत्य यही हो ।
थप सत्य के पनि हो भने भ्रष्टाचारी अवस्थाले व्यवस्था खायो भने, व्यवस्थापछि भ्र्रष्टाचारले खाने भ्रष्टाचारका पालक र धारकहरूलाई हो । अब अति भइसक्यो, विधिको शासनलाई सेटिङमा चलाउने काम नगरौं । लोकतन्त्रलाई नीति, नैतिकता र सिद्धान्तले चलाऔं । लोकतान्त्रिक व्यवस्थालाई समाज बदल्ने औजारका रूपमा उपयोग गरौं । यसैमा देश र जनताको फाइदा छ, राजनीति गर्नेको लागि यही नै राजमार्ग हो । यो राजमार्गलाई गलत रूपमा व्याख्या गरेर स्वार्थ सिद्धि गर्ने ब्यापार जो भइरहेको छ, यो गलत प्रवृत्तिलाई रोक्नुमा नै अवस्था, व्यवस्था र देशका लागि उचित हुनेछ ।