नेपाल भारतबीचको १८८० किलोमिटर खुला सीमाका कारण अतिक्रमण दिनदिनै भएको छ । सीमा गायव पारेर, वर्षाले बगाएर पनि सीमा अतिक्रमण भएका छन् । ढलेका पिलर उठाउँदा भारतले केही भनेको छैन । हामी उठाउन जाँदैनौं, नोक्सान भएका पिलर बनाउँदैनौं । अनि भारतीयले अतिक्रमण गरिरहन्छन्, हामी अतिक्रमणमा परिरहेका छौं । नेता छन्, सरकार छ, संसद छ, प्रशासन छ । अतिक्रमणबारे कोही बहस गर्दैनन्, चर्चा गर्दैनन् ।
एक अध्ययनले १३ सय बर्गकिलोमिटर भूभाग भारतले मिचिसकेको छ । नेपाली भूभाग ६० हजार बर्गकिलोमिटरभन्दा बढी मिचेको अनुमान छ । यसमाथि कालापानी, लिपुलेक, लिम्पियाधुरा त भारतले नक्सामा नै समावेश गरिसक्यो । हामी नारा लगाएर बसेका छौं । आफ्नो भूगोलको कुरामा राजनीति गर्छौं, चुनाव सकिएपछि जिब्रो तालुमा टाँस्छौं । नेपालका पार्टीहरुलाई भूगोलका मामिलामा कठै भन्नुपर्ने अवस्था कायम छ ।
१९५० को सन्धि खारेज गर्नुपर्छ भनेर उग्र नारा लगाउने चूप छन् । प्रवुद्ध समूह इपीजीको रिपोर्ट भारतले नबुझ्नुको कारण नै सीमा नियमन गर्नुपर्छ भनेर लेखिएकोले हो । सीमा खुला हुँदा नेपालमाथि आतंककारी घुसायो भनेर आरोप लगाउन सहज हुन्छ भारतलाई । नेपाली नेता पनि उस्तै छन्, भारत भ्रमणमा जान्छन्, चुनावका बेलामा कुरा उठाउँछन्, लम्पसार नीतिमा कुनै फेरबदल आएको छैन । जुन जोगी आए पनि कानै चिरिएका ।
कम्तिमा नयाँ नयाँ दल, युवा नेतृत्व पनि आएका छन् । तिनले पनि राम्रै जनमत पाएका छन् । कम्तिमा तिनले त सार्वजनिक महत्वको विषय उठान गरेर संसदमा सरकारलाई नेपालको भूगोल कति हो ? सीमा कति छ । यथार्थमा नेपालको सिमानाको नापजाँच गरेर तथ्य तथ्याङ्क निकाल्न भन्नुपर्ने हो । यही बहस गर्दा नेपालको राष्ट्रियताको जगेर्ना पनि हुनसक्छ । तर नयाँ नेता हुन आएकाले पनि देशको सिमाना मिचिएको बारेमा, असमान सन्धिका विषयमा र देशको सार्वभौमिकता र स्वराजका विषयमा गम्भीर भएर संसदमा प्रस्तुत हुनसकेका छैनन् । जनताले जनादेश दिएरमात्र के गर्नु, जब जनवलले देशको प्रतिनिधित्व, जनताको अपेक्षाको जिम्मेवार बहन गर्न सक्दैनन् भने तिनले पाएको जनादेश भ्रम छरेर पाएको हो ।
अब त अति नै भइसक्यो । भारत स्वतन्त्र भएदेखि नेपालको अतिक्रमण गर्ने कार्य जारी नै राखेको छ भारतले । नेपाल कहिले उपनिवेश नभएको जेठो मध्येको मुलुक आज भारतको औपनिवेशिक दबदबामा बाँच्नु परेको छ । अस्तित्व कतिञ्जेल रक्षा गर्न सकिएल भन्ने प्रश्न उठिसक्यो । यति हुँदा पनि न जनता जाग्छन्, न नेतृत्वमा चेत फिर्छ । यसैगरी अतिक्रमण सहदै जाने हो भने नेपालको क्षेत्रफल दिनदिनै साँघुरिदै जानेछ । कम्तिमा नयाँ पार्टीका नयाँ नेतृत्वले देशको सीमा र सुरक्षाका विषयमा अहिले विषयको उठान नगरे कहिले गर्ने ? जब देशप्रति जिम्मेवार होलान् तवमात्र ०८४ को निर्वाचनमा जनताले नयाँ नेतृत्वलाई योभन्दा बढी विश्वास गर्लान्, हेक्का रहोस् ।
अन्तमा...
बुद्ध साहित्य सुगत सौरभ हो, बुद्धको देशका राजनीतिज्ञहरूको राजनीति भ्रष्टाचार र अपराधशास्त्र बन्यो। पोष्टमार्टम गर्ने हो भने प्रत्येक दलका प्रत्येक नेताका आन्द्राभुँडीमा राष्ट्रघातको लेउमात्र भेटिनेछ । इतिहाससिद्ध इमान्दार गोर्खालीको रगतमा कुटिलपूर्ण बेइमानी कसरी मिसिन पुग्यो ? नेता कम र बुख्याँचा ज्यादा कसरी छरपस्ट भए ? के राजनीति भनेको सत्तामात्र हो ? आफ्नो अस्तित्व, पहिचान केही पनि बाँकी छैन नेतृत्वमा ?