Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

Image

बोझ हटाउन किन आनाकानी

राजन कार्की

१६ मंगलबार , श्रावण २०८०एक बर्ष अगाडि

बोझ हटाउन किन आनाकानी

सांसद बढी भए, यसलाई घटाउनुपर्छ । संघीयता बोझ भयो, यसलाई हटाउनु पर्छ । यी सवाल संसदमा प्रवेश गरिसकेको छ । समाजमा यस्ता बहस व्यापक चलिरहेको छ । आफ्ना कार्यकर्ता, नेतालाई व्यवस्थापन गर्न सजिलो हुन्छ भनेर अनेक समितिहरू बनेका छन्, ती पनि बोझ हुन् । अनेक आयोगहरू बनेका छन्, ती पनि बोझ हुन् । मन्त्री, राष्ट्रपतिले राख्ने अनगिन्ति सल्लाहकारहरू पनि बोझ हुन्, बोझ भनेर आलोचना भइरहेपछि हटाउन किन आनाकानी गरिरहेका छन् पार्टीहरूले । पार्टी भनेका देशका लागि हो, राजनीति भनेको समाज बदल्ने प्रकृया हो भने बोझ बोकेर समृद्धि र शान्तिको लक्ष्यमा पुग्न सकिन्न । यसकारण अनावश्यक बोझ हटाउनै पर्छ । प्रशासनलाई चुस्त दुरूस्त राख्न, सेवाग्राहीलाई झण्झटबिनाको सेवा दिन र प्रशासनलाई भ्रष्टाचार मुक्त राख्नका लागि पनि बोझ हटाइनुपर्छ । निश्चित रूपमा भन्नुपर्दा जति बोझ राष्ट्रमाथि थोपरिएका छन्, तिनले बजेट सिध्याइरहेका छन् र विकासमा बाधा पुगेको छ । राजनीतिज्ञले बजेट चलाउन खेलाउन पाएपछि ती ठेकेदार बन्छन्, ठेकेदार भनेको मुनाफा कमाउने व्यवसायी हो । जनप्रतिनिधि हुँ भन्नेले ५–५ करोड बोकेर हिड्नु लज्जास्पद विषय हो । यो बोझ पनि तत्काल हटाइनुपर्छ । बालबालिकाको दिउँसोको खानाको रकम कट्टा गरेर जनप्रतिनिधिले बजेट खेलाउँदै, चलाउँदै हिड्नुजस्तो दुर्भाग्यपूर्ण बोझ बोक्न सांसद, मन्त्री लालायित हुनु भनेको भ्रष्टाचार बढ्नु र बढाइनु नै हो ।
समाजका लागि राजनीति गर्नेले ठेकेदार बन्दैन । कर्मचारी, दलाल, तस्कर, माफियालाई बोक्दैन । तिनलाई संरक्षण पनि दिदैन । वर्तमान कालखण्डको राजनीतिमा अपराधिकरण हावी भएको कुरा अब छर्लङ्ग भइसक्यो । आमनागरिकलाई थाहा भइसक्यो कि नेता भनेका छाडा साँढे हुन्, यिनका लागि जे जस्तो अपराध पनि सह्य छ । अपराधीलाई बचाउनु र लाभ लिनु तिनको राजनीति बनेको छ । राजनीति पापबाट मुक्ति पाउने बाइसधारा हुनुहुन्थेन । तर यतिखेर राजनीति सामाजिक, राष्ट्रिय अपराधीको लुक्ने गुँड बनेको छ । यस्ता गुँड जबसम्म भत्काउने साहस हुँदैन, तवसम्म देश उँभो लाग्दैन । यतिखेर भ्रष्टाचार, अनीति, अनैतिकता, बेइमानी जुन रूपमा पन्पिएको छ, यस्ता अपराधमा अदालतसमेत मुछिने गरेको छ, यो कदापि स्वस्थ र सभ्य समाजको द्योतक हुनैसक्दैन । लोकतन्त्र छ भन्नु लज्जावोधको विषय हुनुपर्छ ।
जहाँ पनि राजनीतिक सेटिङ, आफ्ना मान्छे, अराजनीतिक चलखेल, अपराधको प्रवेश, यो लोकतन्त्रका लागि ऐंजेरू हो । ऐंजेरू जहाँ लाग्छ, त्यो रूख खोक्रो बन्दैजान्छ । राजनीति पनि त्यस्तै हो र ऐंजेरू लागेकै कारण राजनीति राजनीतिजस्तो हुनसकेन । कुडाकरकड सफा गर्ने हो भने बोझ बनेका हरेक तह र तप्काका काईलाई खुर्कने साहस बेलैमा गर्नु उचित छ ।