Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

सुन तस्करीको सनसनी

राजन कार्की

११ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

सुन तस्करीको सनसनी

सुनकाण्डले ललिता निवास जग्गा काण्ड सेलाएको छ । हुनसक्छ प्रहरीको सम्पूर्ण ध्यान १ सय ५५ किलो सुनकाण्डतिर अनुसन्धानतिर परेकोले ललिता निवास जग्गा प्रकरण विषयान्तर हुन थालेको हो कि ?
सुनकाण्ड कसरी सम्भव भयो ? यसमा कुन कुन व्यापारी र नेताको संलग्नता छ, त्योभन्दा पनि कुन कुन कर्मचारीको मिलिभगतबाट यो सम्भव भयो ? भन्ने तर्कवितर्क पनि चलेका छन् । योभन्दा पनि ठूलो प्रश्न एयरपोर्टमा खटिएका सुरक्षाकर्मी, सुराकीदेखि अनेक प्रकारका निकायहरूले कसरी आँखा चिम्लिनसके, व्यापारीको सेटिङमा तिनले साथ दिए भन्ने हो । यसकारण पनि सुनकाण्डको नालीबेली सार्वजनिक हुनजरूरी छ । सुनकाण्डको इतिबृतान्त सार्वजनिक हुने हो भने राजनीति, प्रशासन, सुरक्षा, व्यापारी सबैको मुखुण्डो उत्रिनेछ । देशमा आर्थिक संकट चलिरहेको छ, व्यापार व्यवसाय ठप्प छन्, तर सुनकाण्ड भने २६ पटकसम्म निरन्तर चलिरहेको रहेछ । सवारी साधनको ब्रेक सु का नाममा २५ पल्टसम्म कति सुन भन्सारले छाड्यो, २६औं पल्ट के कसरी सुन समातियो ? यसको कथा सार्वजनिक हुने हो भने नाटकीय लाग्नेछ र यही नाटकीय तस्करीको जालोको पर्दाफाससमेत हुनेछ ।
सबैलाई थाहा छ, राजनीतिक संलग्नता बिना यति ठूलो परिमाणमा सुन तस्करी हुनैसक्दैन । यो तस्करी प्रकरणमा अर्थमन्त्रालय, सुरक्षा निकायको संलग्नताबिना पनि हुनसक्ने सवालै आउँदैन । यसकारण पनि अर्थ, गृह मन्त्रालय यस काण्डमा आकर्षित हुन्छन् । अचम्म त के पनि छ भने सुन छाड्ने दिन एयरपोर्टका भन्सार र सुरक्षा हाकिम बिदा बसेका रहेछन् । यसअघिको २५ पल्टसम्मका ब्रेक सुलगायतका सामान छाडिदा यी हाकिम विदा बसेका थिए कि थिएनन्, यस अघि पनि यिनै हाकिम थिए कि अरू ? यी सबैको रेकर्ड हेर्नासाथ धेरै कुरा सार्वजनिक हुनेछन् । र, यी दुई हाकिमलाई काँडे कोर्रा ठोक्ने हो भने यिनले सेटिङ मिलाएरै विदा बसेको हुनसक्छ । साना कर्मचारीलाई लोभमा पारेर फसाउने र आफू उम्किने उपाय गरेको पनि हुनसक्छ । किनकि सामान सामान्य ज्यालादारी गरेर खाने युवाका नाममा झिकाउने, जाँचपास गर्ने साना कर्मचारी पार्ने तर अरवौंको असली सुनका मालिक नदेखिने, हाकिम पनि नदेखिने यो काण्ड अचम्मको हो । कुनै बेला बिकिनी किलर चाल्र्स शोभराजले म नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिन सक्छु भन्थे, चाल्र्स शोभराज दण्ड भोगेर र छुटेर फ्रान्स गइसके, यतिबेला हात्ती छिरेजस्तै टनका टन सुन एयरपोर्टबाट छिरेको छ ।
नागरिक समाजमा सुन काण्ड ललिता निवास जग्गा काण्डजस्तै सनसनीपूर्ण बनेको छ । तर समाजमा चर्चा छ, यो काण्ड पनि हात्ती आयो हात्ती आयो फुस्साजस्तै हुनेछ । यति यस्तै भयो भने कानुनीराज फेरि नाङ्गिनेछ ।