Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

Image

ललिता निवासको सनसनी

राजन कार्की

०४ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

बालुवाटार काण्ड अर्थात ललिता निवास जग्गा प्रकरण यतिबेला सडक, संसद, सरकार, आमनागरिकवीच सनसनीका रूपमा फैलिएको छ । ललिता निवास जग्गा काण्ड बेला बेलाका सत्ताधारी र कर्मचारीको मिलेमतोमा लूट मच्चाइएको विषयमा कुनै शंका रहेन । प्रश्न यत्तिमात्र छ कि सरकारी जग्गामा मोही कायम गराउने, व्यक्तिका नाममा नामसारी गर्न गराउन आदेश दिने भूमाफिया र सत्ताधारीहरूलाई कानुनले देख्छ कि देख्दैन, राज्यद्रोहसरहको अपराध गर्नेमाथि कारवाही हुन्छ कि हुँदैन भन्ने हो ।

अहिलेसम्म अख्तियार तमासा हेरेर बसेको छ । हुन त वर्तमान अख्तियार प्रमुख नै यो जग्गा प्रकरणमा मुछिएका छन् । मुछिनेमा खरदार, सचिवदेखि मन्त्री, नेता, प्रधानमन्त्रीसम्म पनि रहेका छन् । सीआइवीको अनुसन्धानले सबैलाई पक्राउ पूर्जी जारी गरेको छ । विशिष्ट श्रेणीको पदबाट अवकाश पाएले समेत आफूमाथि छानबिन होस् भनेर भन्न सकेनन्, पक्राउ पूर्जीलाई अनदेखा गरेर भागी भागी, लुकी लुकी हिडिरहेका छन् । केही खरदार, सचिव, व्यवसायीलाई पक्राउ गरे पनि खासमा संलग्न रहेका पूर्व प्रधानमन्त्रीमाथि पक्राउ पूर्जी जारी भएकै छैन । यसबाट के स्पष्ट हुन्छ भने ललिता निवास जग्गा प्रकरण निर्णयकर्तालाई नछोएर निर्णय लेख्ने, जग्गा किन्ने, बेच्ने, व्यवसायीलाई मात्र छुनुले छोरी कुटेर बुहारी तर्साउने मेलोजस्तो हो भनेर आमनागरिकमा चर्चा सुरू भइसकेको छ । ललिता निवास जग्गा प्रकरण तलबाट होइन, प्रधानमन्त्री स्तरबाट सुरू भएको भ्रष्टाचार काण्ड हो । सरकारी जग्गाकै हिनामिना काण्ड अर्थात राज्यद्रोह नै हो । यति ठूलो प्रकरणमा सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान चरितार्थ गर्न खोजिएको छ । सत्ताधारीले आफ्नो सत्ता लम्ब्याउन यो प्रकरणलाई औजारका रूपमा उपयोग गरेकोजस्तो भान हुनथालेको छ । कानुनले सरकारी जग्गाकाण्डमा संलग्न टिप्पणी लेख्नेलाई देख्ने, टिप्पणी सदर गर्ने र टिप्पणी लेख्न आदेश दिने कसैलाई पनि छुन सकेको देखिदैन । यसकारण पनि बालुवाटार जग्गा प्रकरण राजनीतिक स्टण्टबाजीभन्दा बढी केही पनि होइन भन्न थालिएको छ ।

सीआइवीको अनुसन्धान जारी छ । सीआइवीले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरू एकाध देशबाहिर गए पनि अरू सबै नेपालमै छन्, प्रहरीकै आँखा अगाडि आवतजावत गरिरहेका छन् । प्रहरीले चाहने हो भने पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरू एकैदिन पक्राउ गर्न सक्छ । प्रश्न, अझै पनि उही छ, ललिता निवास जग्गा प्रकरणमा आदेश दिने, टिप्पणी सदर गर्ने, तत्कालीन सरकार प्रमुख र संलग्न प्रभावकारी नेताहरू कहिले पक्राउ पर्छन् ? यो काण्ड सेलाउँछ कि यो काण्डमा दोषी जो परून् तिनीहरूमाथि कारवाही हुन्छ ?