नेपालमा उमेदवार अरूले नै चयन गर्छ, चुनावमा अरूले नै जिताउँछ, संसदमा के बोल्ने नबोल्ने, अरूले नै अह्राउँछ, कुन मुद्दा उठाउने, कुन कानुन बनाउने, कुन कुन नेता वा दललाई जुधाउने, उछालपछार पार्ने, मन्त्री कसलाई, प्रधानमन्त्री को बन्ने भन्ने निर्णय पनि अरूले नै गर्छ भनिन्छ । सरकार बनाइसकेपछि संवैधानिक निकायमा कसकसलाई छनौट गर्ने, राजदूत कसलाई बनाउने भन्ने विषय पनि अरूले नै निर्धारण गर्छ । यस्तो चर्चा परिचर्चा २००७ सालदेखि नै चल्दै आएको थियो । राजा महेन्द्रको पालामा क्याविनेटमा विदेशी प्रतिनिधि राख्ने प्रचलन हटाए, नेपालमा नेपाली भाषा र नेपाली मुद्दा चलाए, राष्ट्रसंघमा प्रतिनिधित्व गर्नेदेखि आत्मनिर्भरता र आत्मनिर्णय गर्ने साहस स्थापित गरे । उनको देहावशानपछि बिस्तारै बिस्तारै फेरि विदेशी हावी भए । अब त नेपालको राजनीति, प्रशासन, कानुनव्यवस्थादेखि अस्तित्व र स्वाधीनतालाई समेत विदेशीले प्रभाव पार्न थालेका छन् । सम्भवतः यही पीडावोध गरेर होला पर्यटन मन्त्रीले संसदकै समितिमा सत्य बोले ।
पर्यटन मन्त्री सुदन किरातीले संसदकै समितिमा भनेका छन्– ‘यहाँ अरूले नै संसद चलाउँदो रहेछ । हामी त डमीमात्रै रहेछौं । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेशको मान्छे मात्रै रहेछौं ।’
साँच्चै हो त ? हो भने किसानले खेतबारीमा चरा भगाउन राखेको बुख्याँचा र हाम्रा सांसद, मन्त्री प्रधानमन्त्रीबीच कति भिन्नता रह्यो त ?
मन्त्रीले यसरी बोल्नु हुन्थ्यो कि हुन्थेन ? बोलेपछि आफैमाथि नैतिक प्रश्न तेर्सिन्छ कि तेर्सिदैन ? त्यसरी डमी बनेर मन्त्री भइरहनुमा आत्मग्लानी हुन्छ कि हुन्न, हुन्छ भने यति भनिसकेपछि पदमा किन बसिरहनु ?
सार्वभौम नागरिकले चुनेका निर्वाचित सांसद र संसद, सरकार अरूले चलाउँछ भने त्यो अरू भनेको को हो ? मन्त्रीले त्यसको न्वारान पनि गरिदिएका भए आमनागरिकलाई बुझ्न सहज हुनेथियो । यतिसम्मको सत्यता बुझिसकेपछि, अनुभूति भइसकेपछि माओवादीजस्तो क्रान्तिकारी पार्टीको नेता, सांसद र मन्त्री किन पदमा बसिरहन्छन् ? अनि मन्त्रीले यसरी खुलासा गरिसकेपछि संसदमा किन कुरा उठ्दैन ? प्रधानमन्त्री र अरू पार्टीका नेता तथा मन्त्रीहरूले यस्तो अभिव्यक्ति सुनिसकेपछि ‘डमी कि असली’ प्रतिक्रिया जनाउन चाहेनन् । मन्त्रीले संसदकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आफूलाई शोकेसमा राखेको मान्छेजस्तो भनिसकेपछि हामी परिचालित होइन, स्वचालित हौं भनेर भन्न नसक्ने पनि संसद सरकार हुन्छ ?
जनयुद्ध भयो, विदेशमा बसेर स्वदेशमा हिंसा र हत्या गरियो । जनआन्दोलन भयो, विदेशी शक्ति र सामलसमेत मिसाएर भयो र ठूलो रक्तपातको खतरा देखेर राजा पन्छिए, जनताका सामु झुके, राजकाज जनतालाई फिर्ता दिए । जनताले राजकाज पाए तर जनताका प्रतिनिधि हुँ भन्नेहरूले स्वार्थको बसमा परेर राजनीतिक धर्म निभाएनन्, सिंहदरवार, राजदरवारको शक्ति विदेश पु¥याए । यही भूलले गर्दा संसद, सरकारमात्र होइन, नागरिक समाजसमेत विदेशीको इसारा नपाई बोल्न नसक्ने भएका छन् । चेतना रहोस् ।