पञ्चायतका घनघोर बिरोधीले बहुदलमा पञ्चायतभन्दा निकृष्ठ चरित्र देखाए । कुनै लछारपाटो लगाउन सकेनन् । कुनै पनि दृष्टिले बहुदल उत्तम व्यवस्था हो भन्न सकेनन् । अन्ततः बहुदलवादीले अतिवादीका सामु शिर झुकाए, त्वम्शरणम् गरे र लोकतन्त्रमा प्रवृष्ट गरे । आफूलाई लोकतन्त्रवादी बनाए । अतिवादी माओवादीका एजेण्डाको पोखरीमा आफूलाई नुहाएर पवित्र लोकतन्त्रवादीको नयाँ साँचोमा ढाले । यतिसम्म त ठिकै थियो, लोकतन्त्रलाई संस्थागत गर्न र माओवादीलाई लोकतान्त्रिक बनाउन सकेको भए प्रजातन्त्रवादीको बिडा उठाउनेको नामै रहन्थ्यो, स्वावासी नै पाउँथे तर प्रजातन्त्रवादी सर्वहारावादीको पछि पछि लागेको विश्वमै कतै देखिएको थिएन, नेपालमा देखियो । नेपालका प्रजातन्त्रवादीले आफूलाई सर्वहारावादीको खेताला पो बनाए । सर्वहारावादीले आफ्ना पुराना एजेण्डा बिर्सिए, प्रजातन्त्रवादीले आफ्नो समाजवाद बिर्सियो, नेपाली लोकतन्त्र लुटतन्त्र बन्नपुग्यो ।
१० वर्षे जनयुद्धकालमा सर्वहारावादीले संसदीय व्यवस्थाको उछित्तो काढेको थियो । संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भनेकै हो । ती पुराना व्यवस्थाका कथित बिकृतिका कुरा आज तेस्रोपल्ट सत्ताको शिखरमा पुग्दा माओवादीले किन बिर्सेको ? हिजो बिकृति समाप्त पार्न बन्दुक उठाएको हो । नरसंहार मच्चाएकै हो । ०६३ सालको परिवर्तनपछि पटक पटक सत्तामा पुगेको र सत्ताको केन्द्रमा रहेको माओवादीले सुकीर्ति काम किन गर्न सकेन ? बिकृति बढार्न किन इच्छाशक्ति देखाएन ? परिवर्तनको १६ वर्षपछि पनि उही बिकृति, उस्तै लुटमारको संस्कृति, उस्तै बाहुबली चरित्र, उस्तै आफन्तबाद ? व्यवस्था उस्तै छ, अवस्था पनि उस्तै छ । आन्दोलन, जनयुद्ध र परिवर्तनको ओज कहाँ छ ? आज लोकतान्त्रिक भनेर रमाउने हरेक दल कमजोर बनेका छन् । हरेक दल जनताका आँखामा बिझाएका छन् । हरेक दल राष्ट्रवादको कसीमा कमशल सावित भएका छन् । त्यति ठूला ठूला परिवर्तनको यस्तो कन्तबिजोग ? यति गएगुज्रेको परिणाम ? यसको अर्थ परिवर्तनकारी शक्तिमा धार र धारणा नै रहेनछ भन्ने प्रमाणित हुन्छ । यस्तो राजनीतिले न देश, न जनता बलिया हुन्छन्, न राष्ट्रवाद बलियो हुन्छ । कमजोर हुनु भनेको अर्काको हतियार, मतियार हुनु हो । राजनीतिको यही कमशलपनले नेपाल शक्तिराष्ट्रको परेड खेल्ने मैदान बन्नपुगेको छ । होला चङ्ख नेताले अन्य पार्टीका नेताको काँधमा बन्दुक राखेर पड्काएका होलान्, स्वार्थसिद्ध गरेका होलान् तर यो राष्ट्रिय सफलता होइन । स्वार्थ सफल हुनु भनेको देश सफल हुनु होइन । नेता सत्तामा पुग्लान्, शक्तिशाली पनि बन्लान्, देश भित्रभित्रै खोक्रो बन्दै गएको छ । अहिले नै राजनीतिक कारणले आर्थिक ढाड भाँचिने अवस्थामा पुगिसक्यो, राष्ट्रियनीतिमा उभिन नसक्दा कुटनीतिक काँध गल्ने अवस्थामा देखिन्छ । सामाजिक अवस्था बिखण्डन भइरहेको छ । सन्तुलन कतै देखिदैन । जता पनि राजनीतिक सेटिङ्, स्वार्थको प्रतिस्पर्धा र कमिशन भ्रष्टाचारको खेलले राष्ट्रलाई थलो र राजनीतिलाई व्यापार–व्यवसाय बनाइरहेको छ । चाणक्य पनि असफल भएको अवस्थामा छ नेपाल । यस्तै अवस्थामा नसुध्रिने हो भने छिटै नेपाल अफगानिस्तानको जस्तो फेल स्टेट र श्रीलंकाको जस्तो अराजकताको अवस्थामा पुग्न लामो समय कुर्नुपर्ने छैन । चेतनशीलहरू, केही त बोल ।