श्रीपशुपति हिन्दु विश्वविद्यालयको सोच गज्जब छ । विश्वकै एकमात्र हिन्दु मुलुकमा यसप्रकारको विश्वविद्यालय स्थापना हुनु उत्तम हो । तर यो प्रस्ताव आयो माओवादी नेता तथा पर्यटन मन्त्री सुदन किराँतीबाट । उनले भर्खरै नेपाल एकेडेमीको कार्यकारीको चयन गरेका छन्, जहाँ राईकरण गरेको देखियो । ल्याकत, योग्यताको कदर गर्न छाडेर छानीछानी जसले नेपाल एकेडेमीलाई जातीयकरण गरेका छन्, उनको दिमागबाट आएको श्रीपशुपतिनाथ विश्वविद्यालयको सोच पवित्र छ भनेर भन्न सकिएला र ?
पहिलोपल्ट प्रधानमन्त्री बन्नासाथ माओवादी अध्यक्ष प्रचण्डले पशुपतिनाथको पुजारी नै एउटा माओवादीलाई लगेर नियुक्त गरेका थिए । जुन मुद्दाले यति उग्ररुप लियो कि यो मुद्दाले नेपाल भारत सम्बन्धमा समेत अमिलोपन ल्यायो । आखिर पशुपतिनाथको पुजाआजामा जे प्रचलन थियो, त्यही कायम भयो । कतै त्यस्तै अपवित्र सोच राखेर श्रीपशुपतिनाथ विश्वविद्यालयका नाममा एकेडेमी राईकरण गरेजस्तै माओवादीकरण गर्ने षडयन्त्रबाट प्रेरित रह्यो भने त्यो देशका लागि अर्को दुर्भाग्यको सूचक बन्नसक्ने देखिन्छ । माओवादीले राज्यका हरेक निकायमा बढाइरहेको पार्टीको भातृकरणकै अर्को रुपमा यो प्रस्ताव अगाडि बढेको संशय मेटाउनुपर्छ । किनकि देश बिग्रेकै पार्टीकरणले हो । यहाँसम्म कि न्यायालय र संवैधानिक निकायहरुमा समेत पार्टीकरण गर्ने महारोग सल्किसकेको छ । भर्खर नियुक्त सभामुख, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपतिमा समेत पार्टीकरण हावी भएको छ । योग्यता, देशको आवश्यकता, त्यागतपस्या र क्षमतालाई ध्यानै नदिने जुन प्रचलन बसालिएको छ, त्यो राजनीतिकरणले देशको बर्बादी र लथालिङ्तालाई प्रोत्साहित गरेको छ । नेपाल बिग्रेकै हरेक क्षेत्रमा नेताकरण, पार्टीका भातृसंगठन, टे«ड–कर्मचारी संगठन खोल्न दिएर हो । कुनै पार्टीले पनि टे«ड युनियनलाई बन्देज लगाउनु पर्छ भनेका छैनन् । नियुक्ती, सरुवा, बढुवादेखि जिम्मेवारी दिने सवालमा पनि योग्यता हेर्ने होइन, आफ्ना मान्छेको चयन गर्ने चलन चलेको छ । विभेद र निषेध त सिस्नोघारी हल्किएझैं बढेको छ । यहीकारण विधि संविधान र नियम कानुनमा सिमित भयो, मनलागी र मनपरी बढेको छ ।
देशको चिन्ता सबैलाई छ । युवा निकासी भइरहेको विषय गम्भीर मानिएकै छ । तर देश कसरी बनाउने भन्ने बहस हुनसकेन । युवालाई देशमै खपत गर्ने कसरी भन्ने चासो पनि कसैले लिएको देखिदैन । राजनीतिक परिवर्तन भयो, परिवर्तित राजनीतिलाई माटो सुहाउँदो, सिद्धान्त सुहाउँदो, नीति र निष्ठाका साथ लागू गर्नुपर्छ भन्ने कोही छैन । जो छन्, दुर्गुणका उदाहरण बनेका छन् । उत्साह कतै छैन, निराशा व्यापक बढेको छ । अनि कसरी अव्यवस्थित बन्दै गएको मुलुकमा सुधार आउँछ र ? परिवर्तनको झल्का र झिल्का कतै छैन । जे छ, डढेलो सल्केको, धुवाँधुलोमात्र छ । शासन प्रशासन, कानुन व्यवस्था जताततै प्रदूषणमात्र देखिन्छ । पवित्रता कतै नरहेपछि मलमूत्र बग्ने बागमती र लोकतान्त्रिक राजनीतिमा भिन्नता नै कति रहन्छ र ?
श्रीपशुपतिनाथ विश्वविद्यालय नेपाल एकेडेमीको जस्तो नहोस् । हिन्दुमुलुकको अनुसन्धान, अध्ययन, अनेक धर्मसंस्कृतिको तपोभूमिमा स्थापित हुन गइरहेको श्रीपशुपतिनाथ विश्वविद्यालय फोहर देखिएको न्यायालयजस्तो भयो भने आफ्नालाई जागीर दिने थलोमा सिमित हुनपुग्नेछ । त्यस्तो नहोस् ।