राजनीति अचम्मको छ । जनयुद्धको १० वर्षमा चिल आयो, चिल आयो भनेर माओवादीले समाजलाई अस्तव्यस्त पारिदिए । ०६३ को जनआन्दोलनमा चिल आयो, चिल आयो भनेर समाजलाई आन्दोलित पारेर सत्ता परिवर्तन भयो, सत्ता आफ्नो हातमा लिए । त्यसपछिका १६ वर्षमा पनि उही चिल आयो, चिलआयो भनेर देश र जनतालाई लुट्ने लोकतन्त्र चलिरहेछ ।
पार्टी, नेताको काम चिल आयो, चिल आयो भनेर जनतालाई भ्रमित पार्ने हो । आमनागरिक आकाशतिर हेर्न थाल्छन्, यही मौका पारेर जम्बु मन्त्रीले तलतिरको कुखुरा झ्याप पारेको लोकउक्ति झैं सत्ता झ्याप पार्ने हो । २७५ को संसदमा ३२ सिटे माओवादीले चिल आयो, चिल आयो भनेर सत्तामा उक्लियो । अहिले राष्ट्रपतिको निर्वाचनमा फेरि चिल आयो चिल आयो भनेर पुरानै परमादेशी गठबन्धन ब्यूँताएर सत्ता कब्जा गर्न पुगेको छ ।
भन्नलाई राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति बन्नुपर्छ भन्ने डिङ् हाँक्ने, व्यवहारमा गठबन्धनलाई बलियो बनाएर ५ वर्षे शासन गर्ने जम्बुमन्त्रीको नीति अख्तियार गर्ने ? राजनीतिमा चिल आयो, चिल आयोको छिर्के दाउ १६ वर्षदेखि चलिरहेकै छ, अहिले यो दाउ झन चर्को देखिदैछ ।
राजनीतिक दल र नेताहरूको सत्ता र शक्ति मात्र हेर्ने, देख्ने कारणले गर्दा राजनीतिमा विदेशी हस्तक्षेप बढेर गएको छ । काम संसदको, सक्रिय छन् उत्तर, दक्षिण, पश्चिमाहरू । संसद सार्वभौम छ भनेर कसरी भन्ने ? संसद सार्वभौम भएका भए विदेशी कूटनीतिक निकाय किन यसरी सक्रिय भइरहेका छन् ? कूटनीति नेपालको राजनीति गर्न थाल्नु भनेको नेताहरूको हैसियत कमजोर हुनुका कारणले हो । नेपालको प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति पदलाई यसरी लिलाममा चढाउनु हुने थिएन । प्रष्टै देखिने गरी विदेशीले नाम तोकिदिने, यसो गर्नु उसो गर्नु भनेर आदेश दिने, हाम्रो नेतृत्व बर्ग त्यही निर्देशनलाई च्याप्प च्यापेर कुद्ने । यो भूल मात्र होइन, महाभूल हो । राजनीतिको पराधीनता हो । राजनीति पराधीन हुनु सार्वभौमिकता खुम्चिनु हो, यसरी देशको शान्ति, समृद्धि, अस्तित्व कायम रहन सक्दैन ।
संविधान जारी गर्ने बेलामा राजनीतिले अडान लिएको थियो । कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालकै हो भनेर संविधानमा कायम गराउने बेलामा पनि एकमत, सहमति गरेको थियो । तर, त्यसपछिका दिनहरूमा गणतन्त्र र राष्ट्रिय स्वाभिमान, स्वाधीनता खुम्च्याउने जिम्मेवार यही नेतृत्व हो । चुनावी गठबन्धन भत्कियो, नयाँ सत्ता गठबन्धन बन्यो । नयाँ सत्ता गठबन्धन भत्कियो, पुरानै चुनावी गठबन्धन ब्यूँताइयो । विद्यमान सत्ता गठबन्धन भत्काइयो । गठबन्धन बनिरहन्छन्, भत्किरहन्छन् । सत्तामा उक्लने, सत्ता र शक्तिमा रमाइरहन चाहने नेतृत्वका गठबन्धनहरूका कारणले देश भत्किनु भएन । देशको स्वतन्त्रता, सार्वभौमिकता र स्वराज भत्किनु भएन । नेपाली माटोमा विदेशी हैकम स्थापित हुनुभएन । नेपाली जनताको मत, बलको अपमान हुनुभएन । हाम्रा नेताहरूले जे गरिरहेका छन्, त्यो दुर्भाग्जनक परिदृश्यहरू हुन् । चिल आयो, चिल आयो भन्ने शैलीमा, विदेशीको भ्रमजालको शैलीमा नेपाली जनतालाई झुक्याउने काम भइरहेको छ । जनताको अस्तित्व लुट्ने, लुटाउने कुकाम भइरहेको छ । कदाचित जनताले यही विषयलाई मुद्दा बनाएर बिद्रोह गरे भने के सम्म हुनसक्ला, चेतना भया ।