Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

खतरा, नेतृत्वबाटै खतरा

०८ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

०४६ साल अघि पञ्चायतसँग खतरा छ भनिन्थ्यो, बहुदल आयो पञ्चायत गयो । खतरा ज्यूँका त्यूँ कायम रह्यो । ०४६ सालपछि यतिधेरै परिवर्तित नेतृत्वले जेमन्त गरे कि उनीहरू आफै खतरा हुँदै गए । यिनैले राजालाई सत्ता बुझाएका थिए, बहुदलबादीले आतंकको हतियार उठाएर राजतन्त्रलाई किनारा लगाए, लोकतन्त्र ल्याए । संविधान जारी गरे । दुईपल्ट भइसक्यो आवधिक निर्वाचन भएको । तैपनि नेतृत्व उही छ  र यो नेतृत्व पंक्ति भनिरहेकै छन्– देशमा खतरा बढ्यो । देशमा प्रतिगमनको खतरा छ ।
०४६ सालपछि, २०६३ सालपछि पनि उही नेतृत्व सरकारमा छ । यिनलाई शासन गर्न कुनै बाधा अड्काउ छैन । यिनकै हालिमुहाली चलिरहेकै छ । यिनै भन्छन्– देशमा प्रतिगमनको खतरा छ । आफू सत्तामा हुँदा पनि खतरा, नहुँदा पनि खतरा । कसका कारणले खतरा छ, हाम्रो नेतृत्व आफ्नो अनुहार ऐनामा कहिले हेर्दैनन् । आत्मसमीक्षा गर्दैनन् । आफ्ना कमजोरी सुधार्दैनन् । आमनागरिकलाई प्रतिगमनको हाउगुजी देखाएर खतरा भनिरहेका छन् ।
यथार्थ कुरो के हो भने ०४६ सालपछिको निरन्तरको नेतृत्वलाई आभाष भइसक्यो कि आफ्ना गल्ती कमजोरी, अनैतिक, असामाजिक, असैद्धान्तिक, संविधानविरोधी कृयाकलापका कारण एउटा सशक्त जनआन्दोलन हुनसक्छ । जनतामा आफूबिरूद्ध नकारात्मक भावना बढिसकेको छ । जनताले विश्वास गर्न छाडिसकेका छन् । चुनावमा मत हाल्नु मतदाताको बाध्यता हो । तर जनतामा नेतृत्वप्रति अलिकति पनि विश्वासको भरोसा छैन ।
०४६ सालपछिका ३३ वर्षमा अनेकपल्ट जनघाट, राष्ट्रघातका घटना भएका छन् । लोकतन्त्रको १५ वर्षमा आफैले जारी गरेको संविधानघात, जनादेशघात, नैतिकपतनसम्मको घात गरेका छन् । हुँदा हुँदा लोकतन्त्रमा प्रतिपक्ष छैन । यो लोकतन्त्रको मान, मर्यादा र आचरणको घात हो ।
संसद छ, संसदमा प्रतिपक्ष को छ ? प्रचण्ड नेतृत्वको सरकार बन्यो, जनमोर्चा र नेमकिपाका २ सांसदले बाहेक सबैले समर्थन गरिदिए । सिटिङ गभर्नमेन्ट छ, वेटिङ गभर्नमेन्ट खोई ? यस्तो पनि लोकतन्त्र हुन्छ ? लोकतन्त्रको यो सत्तास्वार्थका कारण प्रशासनमा अनुशासनहीनता बढेको छ । कानुनव्यवस्था लथालिङ्ग अवस्थामा छ । सरकार कस्को ? राजतन्त्रवादीको, हिन्दुवादीको । धर्मसापेक्षतावादीको, धर्मनिरपेक्षवादीको । संघीयताविरोधीको, संघीयता पक्षधरको, जनवादीको । प्रजातन्त्रवादीको । संविधानवादीको, संविधानविरोधको । यस्तो खिचडी सरकार पनि लोकतन्त्रमा बन्नसक्छ, चल्नसक्छ ? नीति, नैतिकता, सिद्धान्त, संविधान, चरित्र के बाँकी रह्यो ? सबैले एउटै सरकारलाई समर्थन र विश्वास गर्ने हो भने लोकतन्त्र नै किन चाहियो ? हिजोको जस्तै एकदलीय पद्धति अपनाएर अघि बढे त भइहाल्यो । यति महगो निर्वाचन, यति महगो पद्धति अपनाउनु पर्ने कारण नै छैन । सबैलाई सत्ता चाहिने, सबैलाई सुविधा चाहिने, नीति र नैतिकता, सुशासन, सिद्धान्त कसैलाई नचाहिने लोकतन्त्रका लागि खतरनाक संकेत हो । एउटा विदेशी आयो भने राष्ट्रपतिदेखि मुख्यसचिवसम्मका १४ जनाले लाइन लागेर जी हजुरी गर्ने देशको हैसियत घट्नु भनेको खतरा हो । यसकारण भन्न सकिन्छ, यो देशमा खतरा छ । खतरा नेतृत्वसँग छ । खतरा लोकतन्त्र नामधारी प्रतिगमन चरित्रका शासक, प्रशासक, नेताहरूसँग छ । हो, देशा खतरा बढेको छ ।