असोज ४ गते देखि भारतले खिटिम खेलेपछि सीमा नाकाहरु सहज हुन सकेनन्। कहिले केही सामान छाडेजस्तो गरेर नाकावन्दी गरेको छैन भनेर विश्वजगतको आाखामा छारो हाल्न सफल भइरहेको भारतका विरुद्ध विश्वले केही बोलेको त छैन तर नेपालको दैनिकी जीवन कष्टकर हुादै गएकोमा युरोपियन युनियन, अमेरिकाले सघाउन खोजेका छन्। यथार्थमा कमजोरी नेपालकै हो। नेपालले भारतीय नाकावन्दीलाई अन्तर्राष्ट्रियकरण गर्न नसक्दा अन्तर्राष्ट्रिय जगतले नाकावन्दी भन्न नसकेको हो। यद्यपि काठमाडौंमा रहेका कूटनीतिक नियोगहरुलेसमेत ग्यास लगायतका दैनिक उपभोग्य सामान, आवतजावत गर्नका लागि पेट्रोलियम पदार्थको हाहाकार बेहोरिरहेका छन् र तिनीहरु सबैले बुझिसकेका छन् कि भारतले अघोषित नाकावन्दी लगाइदिदा नेपाली जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ। एक त भूकम्पको विपद, त्यसमाथि भारतीय नाकावन्दीले नेपाली अर्थतन्त्र र सामाजिक जीवनलाई समाप्तै पार्ने रणनीति लिएको देखिन्छ। नाकावन्दीकै कारण नेपालका सबै उद्योगधन्दा बन्द भएका छन्, व्यापार ठप्पै भएको छ, आर्थिक क्रियाकलाप मन्दीको मारमा परिसकेको छ। पर्यटन उद्योगसमेत समाप्तै भयो भन्दा हुन्छ। भारतको यस्तो अमानवीय नाकावन्दी कहिलेसम्म जारी रहन्छ भन्ने कुनै ठेगान नभएकाले पनि नेपालको स्थिति दिनदिनै बिग्रदै गइरहेको छ। अमेरिका लगायतका मुलुकले एडभाइजरी जारी गरेर नेपाल, नेपालको मधेश तराईक्षेत्रमा नजान र गइहाले आफ्नो सुरक्षाको पर्याप्त व्यवस्था गरेर मात्र जान निर्देशन दिएको छ।
भारतले नेपालबाट खोजेको के हो? के नेपाललाई फिजी अथवा भूटान नै बनाउन खोजेको हो त? अन्यथा नेपालका आन्तरिक मामिलाहरुमा यसरी हैकम र हस्तक्षेप बढाउादै जानु र नेपालको पारवहनको सुविधामा समेत बन्देज लगाउनुले राष्ट्रसंघको सदस्य नेपालमाथि ठूलै संकट परिसकेको छ। संविधान जारी गर्न कसैको आदेश निर्देश मान्दैनौं भन्ने हाम्रा नेताहरुले एक त भारतसाग यथोचित कुरा गर्न सकेका छैनन् भने विश्वभरि रहेका नेपालका राजदूतहरुलाई परिचालन गरेर नेपालमाथि के भइरहेको छ भन्ने पर्याप्त जानकारी फैलाउन पनि सकेको छैन। हाम्रा ठूला भनिएका नेताहरु आफ्ना कार्यकर्ताहरुलाई सडकमा भारतको विरोध गर्न लगाएर भारतले स्थिति सहज पारिदिन्छ कि भन्ने पर्खाइमा रहेका देखिन्छन्। सडकमा भारतविरुद्ध घृणा फैलाएर कसरी भारत डराएर नेपाललाई माया गर्ला र? नेपालको सम्मान गर्ने भएको भए भारतले अघोषित नाकावन्दी गरेर औषधिमा समेत बन्देज लगाउने थिएन।
भारतले अघोषित युद्ध छेडिसकेको छ। भारतसाग यो नाकावन्दी युद्ध लड्नु र आत्मनिर्भरताको जगमा उभिने साहस लोकतान्त्रिक नेताहरुले गर्नैपर्छ। अव पनि भारतका सामु निहुरा गरेर झुक्नु, १२ बुादेजस्तै आत्मघाती सहमति गरेर भारतलाई खुशी पार्छु भनेर लाग्ने हो भने लोकतन्त्र नभएर यो भारततन्त्र हुनजानेछ। गल्ती हुनसक्छ, गल्ती सच्याएर देशभक्तिको मार्गमा लाग्नु आजको आवश्यकता हो। यसका लागि राष्ट्रिय एकता अपरिहार्य छ। अहिले जे जति जन असन्तुष्टिहरु आन्दोलित छन्, तिनलाई संवोधन गरेर नेपाली एकता र नेपाली राष्ट्रियता मजबुत नपारीकन भारतले छेडेको आर्थिक नाकावन्दीको युद्ध लड्न सकिने छैन। यसकारण नेताजीहरु, नेपाली एकतामा ध्यान देउ।