Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

भित्र र बाहिर- दुबैतिर अविश्वास

०१ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

लोकतन्त्र छ, लोकतान्त्रिक कोही पनि छैनन्, केही पनि छैन ।
संविधान छ, संविधानमा कोही बसेनन्, पालना कसैले गरेनन् ।
मूल्य, मान्यता छ, राजनीतिले परिहास बनाइदियो, छिःछिः अवस्था छ ।
विदेशीले विश्वास गर्न छाडेका छन्, विदेशीको बहिष्कार र हेपिने अवस्था बढेर गएको छ । यो राष्ट्रिय खतराले पद्धतिलाई नै खतरामा पारिदियो ।
एकजना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भ्रष्टाचारी भनेर महाभियोगको आरोपले डामियो । न अदालतमा सुधार भयो, न न्यायाधीश, वकिलको सेटिङ् तोडियो । उस्तै छ अदालती बन्दोबस्तीमा भ्रष्टाचार ।
एकजना सबैभन्दा ठूला जनमतबाट गृहमन्त्री बनेका रवि लामिछाने नागरिकता र पासपोर्ट काण्डमा फसे वा फसाइयो । उनको बोल्ने, लेख्ने, निर्णय लिने क्षमता साहसपूर्ण थियो । उनलाई हटाइएपछि जसरी उनले मुख खोले मिडिया मठ नराम्ररी नाङ्गियो । मिडिया टाइकुनहरुको अनुहार छर्लङ्गै भयो । नेपालमा मिडिया भन्ने चिज कुहिगन्धे नै रहेछ भन्ने देखियो । प्रधानन्यायाधीशको मुद्दादेखि रवि लामिछानेसम्मका विषयले लोकतन्त्रमाथि भद्दा मजाकको स्थिति सिर्जना गरेको छ । जनमतको आक्रोस छ, दुर्भाग्यजनक परिणामका परिदृश्यहरु छन्, भविष्यका लागि उचित पाठ पनि छन् । तर सिख लिन न मिडिया, न राजनीति नै तैयार छ । अन्ततोगत्वा यो नकारात्मक शैलीले प्रणालीमाथि ब्लो हान्दै गएको छ जसरी बाढीले किनारलाई बगाएर लैजान्छ । यो समय सम्हालिने र सुधारिने समय हो, यतातिर जिम्मेवारहरुको ध्यान पटक्कै गएको छैन । अहं, अहंकार, आत्मतुष्टि, म होइन तँ गलत भनेर उल्टो डाम्ने र पानीमाथिको ओभानो हुने प्रतिस्पर्धा पो देखियो ।
सामाजिक सञ्जाल हेरिसाध्य छैन । गोवरको थुप्रोमा असिना परेपछिको दृश्यजस्तो छ हामीले भोगिरहेको, अँगालिरहेको लोकतन्त्र । सुशासनका कुरा धेरै भयो, सुसासित हुन हामी तैयार रहेनछौं । परिवर्तन भयो, परिवर्तन हुन सकेका रहेनछौं । पञ्चायत बहुदल भयो, बहुदल लोकतन्त्र बन्यो, लोकतन्त्रका मर्म र मर्यादाहरु स्थापित गर्न सकेनौं । जे भइरहेको छ, मर्यादाको उल्लंघन भइरहेछ, मानवीयताको नष्ट र कुशासनका सिङ्जुरो उम्रिरहेका छन् । हामी हरेक दिन सभ्यताको सिखरतिर उन्मुख हुनुपर्ने हो, असभ्य भइरहेछौं । केही प्रभावशाली व्यक्तिहरुले शासन प्रशासनमा हैकम चलाइरहेका छन् । १९०३ देखि २००७ सालसम्म राणा शासन चल्यो, यो शासनलाई हुकुमी शासन भनियो । ०४६ र २०६३ को परिवर्तनपछि प्रष्ट हुकुमी शासन, अँध्यारो कोठाबाट सेटिङ्मा चल्ने शासन पो आएछ । यसलाई हामी लोकतन्त्र भनेर नाक फुलाइरहेका छौं । मिडिया र प्रधानसेनापतिका दुई मुद्दाले नै नेपालमा लोकतन्त्र नाममात्रमा छ, व्यवहारमा छैन भन्ने प्रमाण दिन्छ । यद्यपि बहुदल र लोकतन्त्रकालमा जे जति भ्रष्टाचार भयो, राणा शासनमा पनि भएन ।
लोकतन्त्र यसरी गिजोलियो, हुँडलियो कि लोकतन्त्र हाँक्ने नेतृत्व तह दागा धर्ने र सिध्याउने खेलमा पो लागेका छन् । मिडियामा समेत यही रोग पसेको छ । नेतादेखि पत्रकारसम्म जासुसीको जालोमा फसेका छन् । कर्मचारी प्रशासन समेत यही जालोमा फसेको अनुभूत गर्न सकिन्छ । न त स्थायी, न त आवधिक सरकार नै स्वच्छ, सुदृढ छ । स्वार्थका सुकुल बनेपछि पैसा हुने जो पनि बस्न सक्छ, चलखेल गर्नसक्छ । नेपाली भूमि कुशासनको केन्द्र बन्यो, नेतृत्वले अझै जिम्मेवार लिएनन् भने भोलि भोलि अरु के के हुने हो ?