Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

आत्मदाह गरेर विद्रोह गर्नुपर्ने कस्तो लोकतन्त्र ?

१६ सोमबार , माघ २०७९२ बर्ष अगाडि

जब आत्मबृतान्त लेखेर प्रेम आचार्यले आत्मदाह गरे, त्यो पनि प्रधानमन्त्रीकै सामुन्ने सार्वजनिक सडकमा । यो चानचुने विद्रोह होइन । नागरिकले यसरी आत्मदाह गरेर शासन, प्रशासनको पोल खोल्नु भनेको लोकतन्त्रमा लूटतन्त्र, बाहुबलीतन्त्र कतिसम्म हावी भइसकेको छ भन्ने खुलासा पनि हो ।
अब त नागरिक समाज ब्यूँझ । थिङ्क टेङ्क, चेतनशील बर्ग उठ । अब त पार्टीभित्रका युवाहरू सचेत हौ । नागरिकको जीवन कतिसम्म पीडादायक छ भन्ने उदाहरण प्रेम आचार्यले आफैलाई आगो लगाएर र सामाजिक सञ्जालमा लामो आत्मकथा लेखेर देखाइदिए । यो अवस्था आउनु भनेको राज्य अलोकतान्त्रिक छ, नेतृत्व लोकतन्त्र र सुशासनमय हुनसकेन । देशमा व्यापक अन्याय र अत्याचार बढेको छ । यो देशमा गरिखान पाइदैन भन्ने योभन्दा ठूलो आक्रोश केही हुनसक्दैन । लोकतन्त्र बचाउने, लोकतन्त्र हाँक्ने, लोकतन्त्र संस्थागत गर्नेहरू अब पनि अचेत हुन्छन्, नागरिकलाई हेप्छन् र केही गरिखाने वातावरणमैत्री हुनसक्दैनन् भने अनेक प्रेम आचार्यहरू जन्मिन सक्छन्, जसका कारणले लोकतन्त्र चर्कन्छ, फुट्छ, धुलिसात हुनेछ ।
देशमा यति ठूलो घटना भयो । एउटै घटनाले १५ वर्षे लोकतन्त्र सडकमा छिया छिया भएर ढल्यो । प्रेम आचार्यको रूपमा जल्यो, म¥यो । यो घटना प्रेम आचार्य एकजनाको मृत्यु होइन । यो त शासन पद्धतिको मृत्यु हो । नागरिक हकका कुरा गर्ने, अधिकारकर्मीका आन्दोलन गर्छु भन्ने, लोकतन्त्र कार्यान्वयन भइसक्यो भन्ने, लोकतान्त्रिक चुनावको गौरव गर्ने, सुशासन र समृद्धि आउँछ भन्नेहरू कति गलत रहेछन् भन्ने प्रमाण हो । प्रेम आचार्यजस्ता युवाहरू हरेक दिन वैदेशिक रोजगारीमा किन दगुरीरहेका छन्, प्लस टु पास गर्नासाथ युवाहरू राम्रो शिक्षाभन्दै विदेश किन भासिने क्रम बढेको छ, प्रेम आचार्यले लेखेको मृत्युपत्रले बताइरहेको छ । देशमा बस्नै नसकिने भइसक्यो, देश बस्न लायक छाडेनन् भ्रष्टहरूले, शोषकहरूले, राजनीतिक अपराधीकरण गर्नेहरूले अनि विदेश नगए कहाँ जाने ? अनि आत्मदाह नगरे के गर्ने ?
साह्रै पीडादायक छ आत्मदाह । साह्रै असहनीय छ यो खालको विद्रोह । अवस्था आत्मदाहसम्म पुगिसक्यो भने यसपछिको विद्रोह कस्तो होला ? मर्नैपर्छ भने किन बिस्फोट नगर्ने भन्ने नागरिकले सोच्न थाले भने लोकतन्त्र र लोकनेताको हालत कस्तो होला ? त्यो स्थिति नआओस्, यसकारण राजनीतिक नेतृत्व र प्रशासनका हाकिमहरूले समयमै सोचुन्, त्यो स्थिति पनि आउनसक्छ । अहिलेसम्म त आत्मदाहको विद्रोह देखियो । यस्तो विद्रोहले डढेलो सल्काइदियो भने के होला, के न होला ? यसकारण नागरिक समाज भन्ने समुदायले सबैप्रकारका नेतृत्वलाई सही मार्गको सुझाव दिनुप¥यो, नागरिक हक र नागरिक आधारका विषयमा बोल्नुप¥यो । पार्टी, विदेशी र आफ्नो स्वार्थका लागिमात्र बोल्ने विवेकहीनहरू पनि सचेत होउन् ।
राज्य हिंसा बढ्यो । पार्टी र नेता हिंसा बढ्यो । बिग हाउस र बिग उद्योगी–व्यापारी हिंसा बढ्यो । कानुन कमजोर भएकाले भुइँमान्छेमाथिको हिंसाले सीमा नाघ्यो । हिंसा बढ्नु, अशान्ति फैलिनु, नागरिकले मर्ने बाटो अख्तियार गर्नु लोकतन्त्रको हार हो, लोकतन्त्र मरेको हो । यसरी सदैव चल्न सक्दैन । लोकतन्त्रलाई जिवन्त पार्ने, नागरिकको जीवनपद्धति बनाउने हो भने नागरिकले बाँच्ने आधार चुँड्ने प्रवृत्तिको अन्त हुनैपर्छ ।