युवा दिनदिनै किन विदेश गइरहेका छन् ? यसको खास कारण के हो, यसबारे संसदमा युवा सांसदहरूले विशेष प्रस्ताव लानुपर्छ, छलफल गराउनु पर्छ र विदेश जानबाट रोक्न र विदेशीएकालाई स्वदेश फर्काउने उपायका बारेमा बहस हुनुपर्छ । यसका लागि संसदबाहिर विज्ञ, विशेषज्ञहरूसँग परामर्श गरिनुपर्छ । अति भयो । हरेक दिन २ हजारका दरले युवा विदेश जानेक्रम झन झन बढेर गएको छ । यसरी युवाहरू स्वदेशमा नबस्ने र नेपाल बुढाबुढी र बालबालिकामात्र रहने हो भने देश पराधीनको साङ्लोमा दिन दिनै कस्सिदै जानेछ । आजका बालबालिका भोलिको भविष्य हुन् भनेर हुर्काउने अनि तिनैलाई विदेशीन बाध्य पार्ने काम किन भइरहेको छ ? यसको कारण र निदान अब आह्वान हुने संसदको पहिलो महत्वपूर्ण विषय हुनुपर्छ ।
सबैलाई थाहा छ, युवाहरू स्वदेशमा काम नपाएर विदेशीएका हुन् । एक त राजनीतिक अस्थिरता, समाजमा बढ्दो अराजकता, शासन प्रशासनमा भ्रष्टाचारको व्यापकता, योग्यताको कदर नहुनु र नेताका परिवार र सिफारिसवालाले मात्र अवसर पाउनुले युवा विदेशीनुका मुख्य कारण हो । के गर्दा योग्यताको कदर हुन्छ, के गर्दा बढीभन्दा बढी रोजगारीको सिर्जना हुन्छ, के गर्दा युवालाई सक्षम बनाउन सकिन्छ, यसको रौंचिरा अध्ययन, विश्लेषण र युवालाई स्वदेशमै रोजगारीको प्रवन्ध गर्ने योजना बनाइनुपर्छ ।
यसबाहेक खाई नखाई पढाएका छोराछोरीलाई विदेशीले अध्ययनका नाममा, तिनको प्रतिभाको खोजीगर्दै विदेशीले अवसर दिंदा पनि युवाहरू विदेश पलायन भइरहेका छन् । यसमा हाम्रा कलेज र विश्वविद्यालयहरू राजनीतिक कार्यकर्ता उत्पादन गर्ने कारखाना बन्नु, शैक्षिक गुणस्तर कमजोर हुनु, पढाइभन्दा बढी राजनीति हुनुका कारणले पनि युवाहरू विदेशतिर बढी आकर्षित भएका हुन् । श्रमका लागि जाने त फर्कदैनन् भने स्तरीय शिक्षा र राम्रो अवसरको खोजीमा विदेशीएका युवा स्वदेश फर्कने कमै हुन्छन् । देशको श्रम र प्रतिभा देशका लागि काम नलाग्ने गरी विदेशीन बाध्य पार्ने हाम्रो शासन, प्रशासन, पद्धतिमा भएका कमी कमजोरी र खोट पत्ता लगाएर त्यसको सुधार तत्काल गर्न जरूरी छ । गत मंसिर ४ को निर्वाचनबाट केही होनहार र भिजन भएका युवाहरूले चुनाव जितेका छन् । भलै उनीहरू निर्णायक हुन नसक्लान् तर तिनले उठाएका मुद्दाहरूलाई अब बन्ने सरकारले बेवास्ता गर्न सक्दैन । पहिलेजस्ता मनलागी भ्रष्टाचार गर्न रोक्ने शक्ति पनि यही हो । यसकारण यो शक्तिले युवा पलायनलाई रोक्न र स्वदेशमा फर्कन आकर्षित गर्ने योजनासहित संसदमा बोल्नुपर्छ, सरकारलाई आफ्ना योजनामा समाहित पार्न दबाब दिनसक्छ । सत्तामै युवाशक्ति सामेल भए भने त झन राम्रो, किनकि उनीहरूले संसदमा यसखाले प्रस्ताव लैजान उत्साहित गर्नसक्छन् र क्याविनेट बैठकमा आफ्ना भिजनसहितका कार्यक्रम लगेर सरकारलाई देशहितमा काम गर्न प्रोत्साहित गर्न सक्छन् । युवा किन विदेशीन बाध्य छन्, तिनलाई रोक्न र विदेशीएकालाई फर्काउने योजना आजको खाँचो हो ।