सत्ता र शक्तिका कुनै पनि स्रोतमा अपराधिक माइण्ड, मनी र मसलवालालाई प्राप्त हैसियतको बोलवाला छ । ०४६ साल अघि धेरै हदसम्म नियन्त्रित भए पनि बहुदलसँगै भित्रिएको यो रोगले नैतिकतालाई ऐंजेरू लाग्न सुरू गरेको हो । त्यसैले त्यतिबेला जनप्रतिनिधिहरूलाई खरिद गर्ने, होटलमा राख्ने, बैंककमा मसाज गर्न पठाउने अनेक क्रियाकलाप भए । त्यही रोग थाम्न नसकेर बहुदलका प्रधानमन्त्री शेरबहादुर देउवाले बहुदललाई चाँदीको किस्तीमा राखेर राजाका बाहुलीमा पेश गरेका थिए । राजाले केही समयमा बहुदललाई ठिक ठाउँमा ल्याएर जनप्रतिनिधिलाई सत्ता सुम्पने कुरा गरे, जुन प्रस्ताव देशका पार्टीनेता र विदेशी स्वार्थलाई मन परेन । त्यसैले दिल्लीले खेल्यो, सत्ताका खेलाडीहरूलाई दिल्ली डाकेर तत्कालीन आतंककारी माओवादीसँग १२ बुँदे सम्झौता गरेर राजाविरूद्धको आन्दोलन गर्न पठायो । परिवर्तन खोजिरहेका जनताले यो आन्दोलनको भित्री अभिष्ठ बुझेनन् र साथ दिए । यसरी जनता घरघरबाट निस्किए कि मानौं नेपालमा ठूलै भूकम्प जानेवाला छ । नभन्दै भूकम्प गयो । भारतले करण सिंह नामका बेदान्ताचार्य सांसदलाई नै साक्षी पठाएर राजामाथि यति ठूलो दबाब सिर्जना गरिदियो कि राजाले मरेको संसदलाई ब्यूँताउनु प¥यो । यथार्थमा त्यो राजनिर्णय राजतन्त्रका लागि आत्मघाती, आत्महत्या सावित हुनपुग्यो । ०६३ सालको त्यही परिवर्तनले ०६५ साल जेठ १५ गते अवैधानिक तरिकाले गणतन्त्र घोषणा भयो ।
०४६ सालपछिको राजनीतिक अपराधिकरण, अनैतिक चरित्र झन झन पन्पियो र दुईपल्ट संविधानसभाको निर्वाचन भएर ०७२ सालमा संविधान जारी भयो । त्यसपछिको ५ वर्षमा पनि उही मनी, मसल र अपराधिक माइण्डवालाहरूकै बोलवाला भयो । ०७९ साल मंसिर ४ गतेको निर्वाचनमा जे तमासा देखियो, त्यसमा केही सुधारका लक्ष्यण देखिए पनि मनी, मसल र माइण्डको खेलले नै जित्यो र आगामी ५ वर्ष नेपाल र नेपालीले राज्य सञ्जालमा मनी, माइण्ड र मसलले देखाएको बाँदरनाच हेर्नुपर्ने छ ।
राज्य सञ्जालका हरेक साना ठूला पदमा अधिकांश पैसा, नातापाता अथवा विदेशी सिफारिसको प्रभावमा हैसियत खरिद गरेका मानिसको झुण्डले शासन गरिरहेको छ, हैकम चलाइरहेको छ, सम्मान पाइरहेको छ । बुद्धिजीवी, नागरिक समाज र स्वयम् राजनीतिक क्षेत्रको विवेकमा यो कुरा थाहा छ, तर स्वार्थवस कसेको विवेक बोलिरहेको छैन । सबै चुपचाप यो अत्याचार हेरिरहेका छन् । अत्याचारीहरूले सुशासन, समृद्धि दिने भाषणलाई सुनिरहेका छन् । यसरी देश अघि बढ्दैन, रसातलतिर भासिन्छ, देश यसैगरी असफल हुने हो भन्ने पनि चेतनशीलाई थाहा छ, तर बोल्दैनन्, पटक्कै बोल्दैनन् । अनि कसरी देश अग्रगमनतिर लाग्छ ? तथापि अग्रगमनको नारा यिनै लाउँछन् ।
भर्खर सम्पन्न निर्वाचनबाट विजयी बनेर आएका जनअनुमोदित तिनै बर्गले फेरि पनि मनी, मसल र अपराधिक माइण्ड चलाउनेछन्, कठै देश ?