चुनावपछि बन्ने सरकारले पनि अवैध सम्पत्ति जफत गर्न नसक्ने भयो । किनकि चुनावअघि कुनै पनि उमेदवार वा पार्टीले यसबारेमा आवाज नै उठाएनन्, घोषणापत्रमा अथवा बोलीमा प्रतिवद्धता नै जनाएनन् ।
कालोधन स्वीस बैंकमा थुपार्ने छन् । हैसियतभन्दा बढी सम्पत्ति कमाइरहेका छन् । राजनीतिमा लाग्ने र जागीर खानेले मात्र होइन, ठूला पदमा राजनीतिक नियुक्ती पाउनेले समेत देशलाई भ्रष्टाचारको दलदल बनाइसकेका छन् । देशको आर्थिक स्थिति डरलाग्दो बनेको छ । वैदेशिक ऋण र व्यापारघाटा बजेटभन्दा बढी भइसकेको छ । यो अवस्थामा गैरकानुनी सम्पत्ति जफत गर्ने मुख्य एजेण्डा हुनुपथ्र्यो । संघीयताको खारेजी र उद्योगधन्दा व्यापक रूपमा स्थापना गरेर रोजगारीको सिर्जना र निकासी व्यापारमा बढोत्तरी गर्ने योजना उमेदवारबाट आउनुपथ्र्यो । केही आएन । चुनाव सकियो ।
चुनावमा के कस्ता उमेदवारले जित्ने हुन्, सबैको प्रतिक्षा र उत्सुकताको विषय बनेको छ । आमनागरिकले स्वच्छ र सवल उमेदवारले जिते हुन्थ्यो भन्ने अपेक्षा राखेका छन् । यसरी अपेक्षा राख्ने मतदाताले के कस्ता उमेदवारलाई मत दिए भन्ने संकेत आउन थालेका छन् । गठबन्धन र प्रतिपक्षी एमाले कसले सरकार बनाउने हो, स्वतन्त्र उमेदवार के कतिले जित्ने हुन्, तिनको भूमिका के हुने हो ? भन्ने पनि मतदाताले हेर्न पाउनेछन् । यसपल्टको चुनाव भविष्यका लागि शिक्षा पनि हो । भनिन्छ, मतदाता जस्ता छन्, त्यही प्रकारको प्रतिनिधित्व पाउँछ । परिवर्तन यिनैले ल्याए, चुनावमा निर्णायक फैसला जनताकै हो । हो, भूराजनीति र शक्तिराष्ट्रहरू समेत चुनावमा अप्रत्यक्ष गाँसिएकाले विदेशी प्रभाव र दबाब पनि निर्वाचन परिणाममा देखिनेछ र भावी दिनमा तिनको स्वार्थअनुकूलको स्थिति पनि सिर्जना होला । यसकारण निर्वाचित प्रतिनिधिहरूले राष्ट्रका लागि कम र शक्तिराष्ट्रका स्वार्थअनुकूल बढी काम गर्ने हुन् कि भन्ने संशय व्यापक रूपमा बढेको छ ।
७ दशकदेखि लोकतन्त्र लोकतन्त्र भनेका र राजनीतिक पद्धतिको परिवर्तनमा मुख्य भूमिका खेलेका दल र नेताहरूले अवैध सम्पत्ति र विधिको शासन कायम गर्छौं भनेर कबुल गरेका छैनन् । विकासको सपना बाँडेका छन् भने अदृश्य रूपमा मासुभात र पैसा पनि वितरण गरेका छन् । गरीबको मतलाई सस्तैमा खरिद गरेर राष्ट्रघात बढी हुने खतरा पनि उत्तिकै छ । यथार्थमा बिगत १५ वर्षमा मुलुकलाई भ्रष्टाचार र अन्यायको थलो बनाउने यिनै नेतृत्व हुन् । एकाधको मृत्यु भयो होला, बाँकी ०४६ सालदेखिका नेता यिनै हुन्, यिनै छन् र यिनैले लोकतन्त्र हाँकिरहेका छन् । लोकतन्त्र लोकका लागि आकाशको फल भइरहेको छ भन्ने पनि यिनलाई थाहा छ । तर यिनले बानी सुधारेनन् । कर्तव्यच्यूत भए, जवाफदेही भएनन् । यहाँसम्म कि सरकार चलाउनेहरू सरकारी महालेखा नियन्त्रकले औंल्याएका विकृतिको छानबिन र दोषीमाथि कारवाही गर्नसमेत यिनको ध्यान छैन । कारण दोषी यिनीहरू आफै हुन् । यसकारण ठूला नेताहरू मिलिजुली सत्ता चलाउँछन्, भ्रष्टाचार बढाउने संकेत फेरि देखियो । कस्तो दुर्भाग्य जनक स्थिति भयो राष्ट्रको ।