राष्ट्र बलियो र सवल हुने आन्तरिक र बाह्यनीतिको स्थिरताले हो । यतिबेला नेपाल आँधीमा फसेको समुद्रको जहाजझैं ढलपल ढलपल गरिरहेको छ । त्यो आँधीलाई झेल्न सक्ने क्षमता त्यसका चालकमा हुनैपर्छ । चालकको अक्किल र बुद्धिमत्तापूर्ण सञ्चालनले नै समुद्री जहाज सकुसल लक्ष्यमा पुग्न सक्छ, सम्भाबित दुर्घटनाबाट जहाज र यात्रु सबैलाई बचाउन सक्छ ।
नेपाल आन्तरिक बिबाद, अस्थिरता र अराजकताबाट ग्रस्त छ । मंसिर ४ को निर्वाचनले कुनै पनि दललाई एकल बहुमत नदिने निश्चित जस्तै छ । वामपन्थी, प्रजातान्त्रिक अथवा राष्ट्रवादी कुनै पनि दलले बहुमत पाउने स्थिति देखिदैन । त्यो स्थिति भनेको आगामी ५ वर्ष उही मिलिजुली सरकार हो । मिलिजुली सरकार कस्तो हुन्छ भन्ने कुरा हामीले बिगत ३३ वर्षदेखि भोग्दै आएका छौं । न त ०४७ को विश्वकै उत्कृष्ठ संविधान चल्न सक्यो, न ०६४ को अन्तरिम संविधान अथवा न संविधानसभाले जारी गरेको २०७२ सालको संविधानले नै सुशासन दिनसक्यो । प्रत्येक दिन अराजकता फैलिदो छ । न्यायालय सडकमा छरपस्ट पोखिएको अवस्था छ । प्रत्येक संवैधानिक निकाय बेरङ्का, बेढङ्का भएका छन् । राज्य सञ्जालभरि भ्रष्टाचार गनाइरहेको छ । यो अवस्थालाई सुधार्ने कसरी ? निर्वाचनमा उठेका दलीय नेता अथवा निर्दलीय कसैले पनि सुधार गर्ने खाका प्रस्तुत गरेका छैनन् । अर्थात आन्तरिक रूपमा नेपालको कानुन व्यवस्था नराम्ररी लथालिङ्ग भएको छ ।
परराष्ट्रनीति । नेपालको परराष्ट्रनीतिमा अस्थिरता दिनदिनै बढ्दो छ । नेपालले उत्तर दक्षिणको चीन र भारतसँग समदूरीको नीति लागू गर्न सकिरहेको छैन । कुनै दलको शासनमा उत्तरतिर र कुनै दलको शासन आयो भने दक्षिणतिर ढल्केको देखिन्छ । अब त अमेरिकासमेत नेपाल प्रवेश गरेको छ । यो अवस्थामा नेपालले असंलग्नताको नीतिलाई सक्षमतापूर्वक लागू गराएर आफ्नो हितमा सबैको सहयोग लिनसक्ने वातावरण सिर्जना गर्नुपथ्र्यो । तर त्रुटीमाथि त्रुटी हुँदैछ । भूराजनीतिको भुमरीमा फस्दै गएकाले नेपालको राजनीतिक, आर्थिक, सुरक्षा स्थितिसमेत डावाँडोल भइसक्यो । उत्पन्न भएका अनेक चुनौतीको सामना गर्ने ल्याकत कुनै दल वा नेतामा देखिन छाडेको छ । मंसिर ४ को निर्वाचनमा पार्टीका घोषणापत्रहरूले परराष्ट्रनीतिमा देखिएको चुनौतीको सामनाको योजना देखिदैन । भारत, चीन र अमेरिकाबीचको द्वन्द्वले नेपाल ठूलो बिपत्तिमा पर्नसक्छ । शासकबर्गका गल्तीले नेपाल भूराजनीतिक भूमरीमा लटपटिने खतरा छ । तैपनि थिङ्कटेङ्कहरू, सल्लाहकारहरू र विज्ञहरूले आँखा, कान र मुख थुनेर बस्नु आश्चर्य हो ।