मौलिक हकको समेत उल्लंघन भएको छ । आमनागरिकको आधारभूत आवश्यकताको समेत परिपूर्ति भएन । शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीमाथि नै राजनीतिक हस्तक्षेप भयो । जता पनि ठूला पार्टीका नेता, ठूला माफियाले रजगज गरेर व्यापार गरिरहेका छन् । आमनागरिकको बाँच्ने अधिकारसमेत सुरक्षित हुनसकेन । हिजो पञ्चायत, त्यसपछि बहुदल र १५ वर्षदेखि लोकतन्त्रले समेत संवोधन गर्न नसकेका यी विषयमा हरेक चुनावमा नेतृत्वतह हामी गर्छौं भन्छन् मात्र, केही पनि गर्दैनन् । यसकारण आमनागरिकमा नैराश्यता बढेको छ, राजनीतिप्रति घृणा बढेको छ ।
देशको अर्थतन्त्र डावाँडोल भइसक्यो । शासकीय व्यवस्था लथालिङ्ग अवस्थामा छ । जुन हालत श्रीलंका भोगिरहेको छ, त्यो हालतमा कुनै पनि बेला नेपाल पर्नसक्छ भन्ने जोखिम अर्थविदहरू नै बताइरहेछन् । थिङ्क टेङ्क हरेक दलमा छन्, नागरिक समाजमा छन् तर तिनले सही सुझाव दिइरहेका छैनन् । यहाँसम्म कि राजस्वको तलव भत्ता खाने सल्लाहकार हरेक मन्त्री प्रधानमन्त्रीले राखेका छन् । तिनका सचिवालय पनि छन् । तिनले पनि सही सुझाव दिइरहेको देखिदैन । त्यसैले पद्धतिमाथि नै प्रश्न उठेको छ ।
डरलाग्दो कुरो शासकीय व्यवस्थाका हरेक अङ् भ्रष्टाचारका किटाणुले गलित छन् । न्यायालयसमेत बदनाम गरिएको छ । यस्तो राजनीतिले हाँकेको देशको भविष्य सुन्दर, सुरक्षित र समृद्ध हुन्छ भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो । कुनै पनि पद्धति खराज हुँदैनन्, खराव सञ्चालक हुन्छन् । सञ्चालक असल भए भने पद्धतिभित्रका गलत प्रवृत्तिलाई सुधार गरेर अघि बढ्न सकिन्छ । विश्वमै असल भनिएको लोकतन्त्र छ, लोकतन्त्रभित्र चाहिने सबै गुणहरू छन्, छैनन् त नेतृत्वमा इमानदारिता छैन । खिर पाकेको छ, भ्रष्टाचार नामको विषले खिरलाई विषालु बनाइदिएपछि के लाग्छ ?
राजनीतिक नेतृत्वले व्यक्तिगत लाभ र पारिवारिक स्वार्थ मात्र हेर्दा आन्तरिक रूपमा कानुनव्यवस्था नष्टभ्रष्ट भइसकेको छ भने परराष्ट्रनीतिमा बिचलन आउँदा मुलुक दुर्घटनाको निकट पुगिसकेको छ । राजनीतिमा अपराधिकरण पन्पिएकाले न्यायमाथि कुल्चने दुस्साहस भयो, स्वार्थका लागि विदेशनीतिमाथि खेलबाड हुनगयो, देश नराम्ररी अस्थिरतामा फस्यो । यो अवस्थालाई सुधार गर्ने कसरी ? आन्तरिक अराजकता र वैदेशिक द्वन्द्वमा फसेको अवस्थालाई कसरी सुधार गर्ने ? आजको यक्ष प्रश्न यही हो । नेतृत्व छान्ने अवसर आएको छ, आमनागरिक अर्थात मतदाताले विवेकपूर्ण निर्णय गरेर खडा भएको यक्ष प्रश्नको जवाफ दिनुपर्छ । नेतृत्व अविवेकी भयो, विवेकी नेतृत्व चयन गर्न र अविवेकीलाई झकझक्याएर विवेकी बन्न दबाब दिने समय भनेको निर्वाचन नै हो । इतिहासको यो संवेदनशील घडीमा प्रत्येक मतदाताले सही निर्णय गर्नुपर्छ । यही निर्णयमा स्थिरता, समृद्धि र शान्ति अन्तरनिहित छ । मतदाताको दुर्गुण भनेकै सहनशीलता र क्षमा दिने उदारता हो । यही उदारताले गर्दा ०४६ सालपछिको ३२ वर्ष र ०६३ पछिको १५ वर्षको अवधिको अवसरलाई नेतृत्वले गुमायो । फेरि एकपल्ट जनताको हातमा निर्णायक घडी आइपुगेको छ । राष्ट्रभरि मुद्धैमुद्दा छन्, ती मुद्दाको अन्तिम फैसला गर्ने निर्णायक जनता नै हुन्, सही निर्णय गरेर देखाइदिउन् ।