कुनै पनि दलका ठूला नेताले कुनै पनि क्षेत्रबाट चुनाव उठ्ने हिम्मत नगर्नु, कतिपयले जितिन्छ भन्ने सुरक्षित क्षेत्र खोजेर हिड्नु र कतिपयले समानुपातिकमा नाम राखेर समानुपातिकताको अर्थ, औचित्य र महत्वकै मान मर्दन गर्नुले ठूला नेताहरू सबैको साख समाप्त भइसकेको अर्थमा बुझ्न सकिन्छ । यी कस्ता पार्टी हुन्, कस्ता नेता हुन्, जो १५ वर्षदेखि सत्तामा छन् र चुनावमा जान पनि हिचकिचाइरहेका छन्, जनताले बढारिदिन्छन् भन्ने मानसिक तनावमा रहेका छन् । हो, निर्वाचन नै जनताले खरी घस्ने र मतदानका माध्यमबाट दण्डित गर्न सक्छन् । जनताको यो अधिकारको दुरूपयोग कसरी गर्न सकिन्छ र जनतालाई भ्रमित पारेर आफ्नो पक्षमा मतदान गराउन सकिन्छ भनेर षडयन्त्रमा लाग्नुपर्ने दिनले नेताहरूको नैतिकता पतन हुँदै गएको पक्कै हो, जनताले पनि आश्वासन र भ्रमित हुन छाड्न थालेको पालिका निर्वाचनको संकेत र सन्देशले नेताहरू आत्तिनु स्वभाविक पनि हो । यसकारण पनि नेताहरू चुनाव उठ्न खुट्टा कमाउन थालेका छन् । त्यसमाथि यो चुनावी प्रक्रिया यतिबिघ्न महगो छ कि नेताहरू नै भन्न थालेका छन्, पालिका निर्वाचनमा करोडले नपुग्ने भयो, सांसदमा उमेदवार भएर जित्नु भनेको दशौं करोडले नपुग्ने अवस्था छ । चुनावी प्रक्रियामा सुधार हुनैपर्छ । कतिपयले त प्रत्यक्ष निर्वाचित राष्ट्रपति पद्धतिका कुरा गर्न थालेका छन् । तीन तहको अर्थात संघीय, प्रादेशिक र पालिका स्तरको चुनावलाई घटाएर प्रादेशिक संरचनाको अर्थ र औचित्य बिगत पाँच वर्षमा सावित हुन नसकेकाले खारेज गर्नुपर्ने सोच र बहस पनि सुन्न थालिएको छ । अर्थात्, जुन व्यवस्थाको परिकल्पना गरियो, यो चुनावी व्यवस्था यिनकै लागि भार र भारी साबित हुनथालेको छ ।
ठूला दलका ठूला नेताहरूले राजधानीमा चुनाव उठेर जित्नसक्ने विश्वास समाप्त भइसक्यो । उनीहरू आफूलाई ठूला नेता भन्छन् तर उनीहरू नै कुन चुनाव क्षेत्रमा खडा भइयो भने जित्न सकिएला भनेर हिसाव किताव गर्न थालेका छन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेता र पार्टीहरूको यो हालतले मंसिर ४ को निर्वाचनमा अचम्मकै परिणाम आउनसक्ने अनुमान गर्न सकिन्छ । जनताको मानसिकता बदलिएको र जनताले कसलाई मतदान गर्छन् भनेर भन्न सकिने अवस्था रहेन । पार्टीकै कार्यकर्ताले समेत अगाडि पार्टीको प्रचार गरे पनि कार्यकर्ताको ठुलै पंक्ति भित्रभित्रै असन्तुष्ट छ र तिनले समेत पार्टीको फर्मानअनुसार मतदान गर्छन् भन्न सकिन्न । कतिपय अपराधिक मानसिकता भएका र दण्डसजाय भोगेकालाई पार्टीले चन्दाकै भरमा टिकट दिने भएकाले क्रस मतदान हुनसक्छ । समानुपातिकमा नेताका पारिवारजन, चन्दाको भरमा नाम समावेश गरेकाले पनि पार्टीपंक्ति भित्रभित्रै विद्रोहको आगो छ । मुख्य सवाल नेतृत्वले जनविश्वास गुमाएको परिणाम आउनसक्छ ।