Advertisement Banner
Advertisement Banner

१८ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

जनताले कोर्रा हान्ने दिन आउला

०३ सोमबार , आश्विन २०७९४ बर्ष अगाडि

तिसौं वर्ष सांसद, संवैधानिक पद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति हुने र देशलाई लुट्ने र देशको अर्थतन्त्रलाई ध्वस्त पारेर निजी र पारिवारिक सुखशान्ति आर्जन गर्नेबाट आजीत भएर श्रीलंकाली जनताले जनकोर्रा हाने, शक्तिशाली भ्रष्टहरूको भागम्भाग भयो । अब पदमा पुग्ने कर्मचारी होस् कि राजनीतिज्ञ तिनले जवाफदेहीबाट भाग्न सक्ने छैनन् ।
दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हे, दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति ज्याकोब जुमा, बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जिया, मलेसियाका पूर्व प्रधानमन्त्री नजीव रजाक, पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफदेखि ब्राजिलका पूर्व प्रधानमन्त्रीसमेत भष्टाचारबाट भाग्न सकेनन् । देश र जनताप्रति गद्दारी गर्नेलाई ढिलोचाँडो जनताको दबाबमा कारवाही हुन्छ र उम्किन पाउने छैनन् भन्ने अनेक उदाहरण देखिएका छन् ।
जनता नै अन्तिम न्यायाधीश हुन् जनताका जनमतको, जनविश्वासको अपहेलना गर्ने जो कोही पनि बच्न सक्दैन भन्ने उदाहरण हुन् यी ।
२०४६ सालपछि भ्रष्टाचार बेपत्ताले बढेको छ । २०६३ सालको जनआन्दोलनको सफलतापछि पद्धति फेरिदै गयो, हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष बनाइयो र गणतन्त्र घोषणा गरियो । यी परिवर्तनमा पनि भ्रष्टाचार भयो, परिवर्तनपछि जे गरे पनि हुने रहेछ भनेर नेताहरू सेटिङ मिलाउँदै भ्रष्टाचार गर्दै गए । जनताको गाँस, बास र कपासलाई आम्दानीको स्रोत बनाए, देशको अस्तिव, मान, सम्मान र विश्वसनीयतामाथि खेलबाड गरेर हरेक दलको नेतृत्वले गर्नुसम्मको भ्रष्टाचार गरे, अपाच्य भ्रष्टाचार गरे ।
राज्यको लेखापरीक्षक महालेखाले हरेक वर्ष प्रतिवेदन तैयार गर्दा जहाज खरिद होस् कि कर प्रणाली, प्रधानमन्त्री निवास रहेको जग्गा होस् कि राष्ट्रिय सम्पत्ति भाडामा लगाउने विषय होस् सर्वत्र भ्रष्टाचार भएको, आर्थिक अनुशासन मिचिएको, बेरूजु बढ्दै गएका विषयहरू किटान गरिदियो । तर सरकार फेरिने र बन्ने क्रम भइरहे, भ्रष्टाचार नियन्त्रण हुने कुरै उठेन । राष्ट्रिय प्राथमिकताका आयोजनामा समेत व्यापक भ्रष्टाचार भएको देखियो ।
भ्रष्टाचार नियमनका विषयमा छलफलसमेत भएनन् । उल्टै संघीयताका नाममा समेत भ्रष्टाचार बढेर गयो । सांसद विकास कोषदेखि हरेक योजनामा भ्रष्टाचार भए । पद र प्रतिष्ठा नङ्गा नाचे हजार दाउजस्तो हुनगयो । जनताले छिःछिःदूरदूर गर्दा पनि कुनै नेतृत्व, प्रशासक सुध्रिएनन् । नेपाल भ्रष्टाचारको फोहर पोखरीजस्तो भइसकेको छ । पालिका निर्वाचनमा केही ठाउँमा पार्टीहरूलाई सांकेतिक रूपमा चुनाव हराएर जनताले सावधानी गराएका छन् । तर नेतृत्व तह अहिले पनि भ्रष्टाचार गरिरहेछन् । भ्रष्टाचारको पैसा खर्च गरेर सांसद हुने, चुनाव जित्ने तरिका अपनाइरहेका देखिदैछन् । यो अति भयो ।
अब जनताले जनकोर्रा उठाउनै पर्ने देखिन्छ । भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याएर सजाय दिन जनता नै अघि सर्नुपर्ने दिन आयो । जनताले विद्रोह गरेनन् भने भ्रष्टाचार अरू बढ्नेछ । जनता जाग्नुपर्छ अब ।