परिवर्तन भनेको प्रगति हो । १५ वर्ष भयो, परिवर्तनको । पद्धति, सत्ता, नेता परिवर्तन भए तर यो परिवर्तनले देश सङ्कटमा पर्दै गएको सबैले अनुभूति गरिरहेका छन् । इच्छाशक्ति हुने हो भने धेरै कुरा गर्न सकिन्थ्यो १५ वर्षमा । यो अवधिमा विदेशी हस्तक्षेप र अतिक्रमण बढाउने मात्र होइन, राष्ट्रलाई नै संक्रमणबाट सङ्कटमा पु¥याउने काम भइरहेको छ । परिवर्तन ल्यायौं भन्ने नेताहरूले सडकबाट सत्तामा मात्र उक्ले कि, देश र जनताका लागि ऐतिहासिक कुनै काम पनि गरे । हिजो जे जे गलत थियो, ती सच्चिए कि सच्चिएनन् ? हिजो निरङ्कूशता थियो, आज छ कि छैन ? हिजो सर्वसत्तावाद थियो, आज प्रजातन्त्र व्यवहारमा छ कि छैन ? प्रजातन्त्रलाल्ई लोकले जीवनमा अङ्गिकार गरे कि गरेनन् ? प्रजातन्त्र संस्कार बन्यो कि बनेन कि बाँदरको हातमा नरिवलजस्तो मात्र भयो ? यी यस्ता यक्ष प्रश्न हुन्, जसको सही जवाफले १५ वर्षमा के के परिवर्तन भयो भन्न सकिन्छ ।
नाङ्गो सत्य के हो भने बिगत १५ वर्षमा नयाँ लुगा लगाएको नाममा बादशाह नाङ्गै भएको यथार्थ एउटा बालकले बताइदिएजस्तो छ । किनभने परिवर्तनका नाममा सरकार परिवर्तन भइरहे । मन्त्री प्रधानमन्त्री परिवर्तन भइरहे । १५ वर्षमा १२ थरिका सरकार बने, सरकार चलाउने यिनै परिवर्तनकारी हौं भन्ने नेतृत्व हो । यिनले राजनीतिक स्थिरता पटक्कै दिन सकेनन् । यहाँसम्म कि हिजो अराजकता थियो आज पनि अराजकता छ । राजनीतिक मात्र होइन, आर्थिक र सामाजिक अवस्थामा बिकराल अराजकता फैलिसकेको छ । अराजकता फैलाउनका लागि परिवर्तन आएको हो त ?
हो, नेता र तिनका कार्यकर्ताको आर्थिक स्थितिमा परिवर्तन आएको छ । नेताका परिवार धनाध्ये बनेका छन् । नेताका सपरिवारले राज्यको ढुकुटीमा औंलादौंला राइँदाइँ गर्न पाएका छन् । काम धन्दा केही छैन, राजनीति गरेको नाममा धनाध्ये हुनु भनेको राजनीतिलाई व्यवसाय बनाउनु हो । राजनीति व्यवसाय बनेपछि हुने भ्रष्टाचार हो, देखिने अनैतिकता हो । यतिबेला नेपालको राज्यसञ्जालमा पार्टी नेताहरूको सेटिङ्मात्र देखिन्छ । सर्वोच्च अदालत समेत सर्वदलीय देखिनु भनेको कानुनमाथिको हदैसम्मको खेलबाड हो, नेतृत्वको राजनीतिक अपराध हो । भन्नलाई विधिको शासन चलाउँछौं, संविधान कार्यान्वयन भयो भन्ने र व्यवहारमा संवैधानिक निकायदेखि प्रशासन सन्यन्त्रसम्म राजनीतिकरण गरेर पार्टीको भातृसंगठन बनाउने । योभन्दा लोकतन्त्रमाथिको हास्यब्यङ्ग र देशमाथिको खेलाँची के हुनसक्छ ?
विदेशी एजेण्डादेखि नागरिकता बितरणसम्म जुन प्रकारको हेलचेक्र्याइँ भइरहेको छ, त्यसबाट नेतृत्वको अनुहारमा यी नेता होइनन्, भरियामात्र हुन्जस्तो भान हुन्छ । यहीकारण युवाजमात अध्ययन, भ्रमण, रोजगारीका लागि हरेक दिन विदेश जान र उतै बस्न बाध्य छन् । बिगत १५ वर्षको परिवर्तन भनेको युवालाई विदेशमा बेच्नु र तिनले पठाएको रेमिटान्सलाई पोखरी बनाएर पौडी खेल्नुमात्र हो । यति ठूलो अपराध गरेकाहरू फेरि चुनावमा जित्नका लागि अघि सरेका छन् । लोकमा चेत कहिले आउँछ खोई ?