Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

राजनीतिको छट्टुपन सधैं चल्ला र ?

०९ सोमबार , श्रावण २०७९३ बर्ष अगाडि

समस्या नीतिमा छैन, नीतिलाई व्यवहारमा उतार्न नसक्नु नेपालको समस्या हो । यही समस्या बिस्तारै बिस्तारै सङ्कट बन्दै गएको छ । सङ्कट क्रोनिक भयो भने क्यान्सर हुन्छ, क्यान्सर भएपछि न सर्जरी गर्न मिल्छ, न औषधिले छुन्छ । त्यतिबेलाको प्रतिक्षा भनेको मृत्यु हो । मृत्युलाई जित्न कसले सक्छ र ? नेपालको वर्तमान राजनीतिक र कूटनीतिक स्थितिको मूल्याङ्कन गर्ने विज्ञहरू भन्छन्– नेपाली बिस्तारै बिस्तारै मृत्यु उन्मुख भइरहेको छ । नीतिकार, शासक, प्रशासक सबैलाई थाहा छ, नेपाल बेथितिले लथालिङ्ग हुँदै गएको छ तर कोर्ष करेक्शन गर्न कोही तैयार छैनन्, कसैमा इच्छाशक्ति देखिदैन । सबै मृत्यु अँगालेर अघि बढिरहेका छन् ।
नेपालको नीति भनेको पञ्चशीलमा आधारित असंलग्नता नै हो । शान्तिक्षेत्रको प्रस्ताव यसैको पृष्ठपोषणका लागि ल्याइएको थियो । राजाहरूले देशको नीति असंलग्नतामा आधारित बनाए, शान्ति क्षेत्रको प्रस्ताव ल्याए । नेपालको हितमा र भूराजनीतिको आवश्यकता देखेर ल्याएका थिए । राजा भनेपछि गनाउनेहरूले हुने भए त्रिभुवन विश्वविद्यालयका प्रमाणपत्र समेत फेर्ने थिए । त्योचाहिं गर्न सकेनन् । हुनेसम्मका राजाहरूका नाम बदले । राष्ट्रनिर्माताको, शान्तिक्षेत्र बनाउन चाहने राजाको शालिक फोडे । आफ्ना मान्छेका शालिक ठड्याउन उत्सुक भए । जो स्वार्थको नालीमा रमाउँछ, उसका लागि स्वर्ग भनेकै नाली हो । दूरदृष्टि नभएपछि हुने बर्बादी हो, बर्बादी गर्नुसम्म गरेर हामीले १५ वर्ष बितायौं । २०६३ सालपछि के के भयो, प्रशंसा गर्न लायक केही पनि उदाहरण हाम्रा सामु छैन । अर्थात नेपाल शान्ति, समृद्धि र सुखी नेपालीको नारामा मात्र सिमित भएको छ ।
विश्वशक्ति नेपालप्रति आकर्षित भएका छन् । अमेरिका, भारत र चीन आमने सामने देखिएका छन् । नेपालले आफ्ना स्थापित नीतिलाई व्यवहारमा उतार्न नसक्दा समस्या सङ्कट बनेको छ । बिस्तारै बिस्तारै विश्वशक्ति आरोप प्रत्यारोपबाट वाकयुद्धमा उत्रिसकेका छन् । वाकयुद्ध अगाडि बढ्यो भने साँढेको जुधाईमा मिचिने त बाच्छो नै हो । यसकारण नेपाल अस्तित्वको सङ्कटमा फसिसकेको छ । विश्वशक्तिको राप र तापले नेपालको कूटनीतिक क्षमता दमित भइसकेको छ । नेपाली नेतृत्वले देखाएको भनेको दासत्व मनोवृत्ति र छट्टुपनमात्र हो । विश्वशक्तिले बुझिसकेका छन्, नेपाली नेतृत्व खोक्रो छ । स्वार्थी छ । यिनलाई दाना दिएपछि खाएर उग्राइरहन्छन् । यही बुझेर उनीहरू पार्टी पार्टीमा बिभाजित र राष्ट्रिय नीतिमा समेत एक हुन नसकेकालाई दानापानी हालिरहेका छन् । नेपाली नेतृत्वको दासत्व र छट्टुपन उनीहरूले बुझेका छन् तर नबुझेजस्तो गरेका मात्र हुन् ।
आखिर चाहिने मगन्तेलाई तातो भात न हो । विश्वशक्ति दाना हालिरहेको छ, उत्तरी उदाउँदो महाशक्ति आफ्नो वर्चस्वका लागि कम्युनिष्टलाई एकत्रित गर्ने प्रयासमा लागिरहेकै देखिन्छ, अमेरिकासँग हच्केको दक्षिणी छिमेकी भारत नेपालमा आफ्नो वर्चस्व कायम राख्ने प्रयत्नमा जुटेकै छ । हालैमात्र दिल्लीमा सत्तारूढ दलका दुई नेतालाई जुटाउनु र चीनबाट हाइलेभलको लु को भ्रमण हुनु पनि भूराजनीतिकै एक अध्याय थियो । नेपाली राजनीति तरल बन्दै गएको छ । ध्रुविकृत पनि हुँदैछ । कस्तो आकार लिने हो, हुनलागेको चुनाव घोषणापछि स्पष्ट होला ।
चुनाव नियमित प्रक्रिया हो । नेपालको राजनीति र कूटनीतिक व्यवहारमा अस्पष्टता र अयोग्यताले नेपाललाई कुन मोडमा, कुन भीरमा पु¥याउला ?