अति राजनीतिले देशका अङ्ग प्रत्यङ्ग भ्रष्टाचार र अनियमितताले गलेर सिताङ्ग भइसकेका छन् । राज्यसञ्जाल सन्निपात लागेर पक्षाघात भइसकेको स्थितिमा अस्तित्व बचाउने अन्तिम औजार नेपाली सेना हो । यसकारण नेपाली सेनाको कदम लरबराउनु हुन्न । सेना सतिसाल भएर उभिनुपर्छ ।
तर एसपीपीमा सेनाले लेखेको पत्रले ठूलै तरङ्ग उत्पन्न ग¥यो । हतारमा सेनाले खण्डनपत्र निकाल्यो, भोलिपल्टै खण्डनको मण्डन भयो । सेनाले गरेका निर्णय आजको भोलि नै पत्रपत्रिकाभरि आउन थालेका छन् । परराष्ट्र र सुरक्षाका विषय यतिधेरै पातला र हावासरि हुनु राष्ट्र कमजोर हुनु हो । सेनाभित्र कसले खेल्यो, कसले सूचना इधरका उधर गरिरहेका छन् । सीमा नियमन भए दुबै राष्ट्रको सुरक्षामा बल पुग्छ भन्ने विषयलाई बङ्ग्याएर प्रधानसेनापति प्रभुराम शर्माले सीमामा तारबार लगाउनुपर्छ भन्नुभयो भन्ने समाचार आयो । सीमा नियमन हुनुपर्छ, यो प्रत्येक नेपालीको आवाज हो । यही आवाजलाई सेनाध्यक्षसँग मुछेर किन आयो ? नेपाली सेना बलियो र विश्वास गर्न लायक संस्था हो । आमनेपालीको आस्था छ । सेनालाई बदनाम गराउने होइन, राजनीतिक नेतृत्व यस्ता कुरामा अगाडि सर्नुपर्छ ।
सीमा मिचिएका छन् । कालापानी, लिपुलेक भारतको कब्जामा पुगेको छ । नक्सामा भूमि छ, भोगाधिकारमा छैन । किन छैन ? यस्ता विषयमा सेनालाई अघि सार्न, सैनिक पोष्ट राख्न संसद र सरकारले किन चासो राखेन ? सेनालाई अघि बढाउन नसक्नुमा सेनाको होइन, राजनीतिक नेतृत्वको परालखुट्टे हैयिसयतले हो ।
बंगलादेशमा शेख हसिना प्रधानमन्त्री थिइन् । उनी भारतवादी भनेर चिनिन्छिन् । तर उनले सीमामा तारबार लगाइदिइन र भारतले अतिक्रमण गर्न खोज्दा १९ जना भारतीय सेना मारिए । यसपछि भारत बंगलादेशको सीमा नियमन भएको छ ।
मर्न वा मार्नु पर्दैन । नेपाली सेनालाई सीमामा तैनाथ गर्नुपर्छ, त्यत्ति भएपछि सीमा अतिक्रमण रोकिनेछ । सीमामा हुने बदमासी, अतिवाद, हत्याहिंसा, लूटपाट, बलात्कारजस्ता घटना स्वतः कम भएर जानेछन् । नेपालबाट भारतमा सुरक्षा चुनौतिको गुनासो हुनेछैन, भारतका अपराधी नेपालतिर आउन रोकिनेछ । यो समय सेनालाई बदनाम गर्ने होइन, सेनालाई नैतिक समर्थन दिने बेला हो । सेनाले पनि आफ्ना कदमलाई जोखी जोखी चाल्नुपर्छ, कदम लड्खडाउनु हुन्न सेनाको ।
लंका हुनबाट बचाउने कसले ?
विश्वमा मान सम्मान थियो, कसरी दुर्गतिमा पुग्यौं पत्तै भएन । ०४६ सालपछि बहुदलले बहुजाति समाजलाई बिथोल्यो, ०६३ सालपछि लोकतन्त्रले लोकमान बढाउने विश्वास गरियो, विश्वास ढल्दै ढल्दै गयो । भ्रष्टाचारले श्रीलंकालाई यसरी गाँज्यो कि राष्ट्रपतिले भाग्नुप¥यो, जनताले हस्तक्षेप गर्नुप¥यो । आर्थिक कम्मर भाँचिदा श्रीलंका मर्ने मार्ने र डुब्ने अवस्थामा पुग्यो । भनिदैछ, नेपाल श्रीलंका हुँदैछ ।
नेपाललाई लंका हुनबाट बचाउने कसले ? कुबुद्धिले स्वार्थमात्र हेर्ने नेतृत्व भयो भने देश बर्बाद हुनेरहेछ । नेपालको आर्थिक अवस्था दयनीय भइसकेको छ । बजेट जति विदेश ऋण छ, त्यत्ति नै व्यापार घाटा छ । हामीमा एकता छैन । एकले अर्कोलाई खुइल्याउन कम्मर कसेर लागेका छौं । न राजनीति छ, न नैतिकता ? न धर्म र अभिभावक छन्, न कुनै आधार देखिन्छ । हामी बर्बादीको कृष्णभीरमा छौं ।