बालेन साह मेयर बनेपछि राजधानी व्यवस्थित हुनेछ भन्ने विश्वास अझै बाँकी छ । उनले फोहर व्यवस्थापनदेखि सार्वजनिक शौचालयसम्मका व्यवस्था मिलाउँदै अघि बढेका छन् । पार्किङ्को व्यवस्था मिलाउँदैछन् । मेयर बालेन साहले केही त गर्छन् भन्ने आशा छ, आमनागरिकले साथ दिएका छन् । भलै पार्टीवालाहरुले मेयरविरुद्ध मोर्चा खोलिसकेका छैनन् । जनताको र खासगरी युवा जमातको साथ र सहयोगका कारण पार्टीवालाहरु स्वतन्त्र बालेन साहविरुद्ध पार्टीवालाहरु अगाडि आइसकेका छैनन् । बालेन साहले पनि मिलेर काम गर्ने तरिका अपनाएका छन् ।
महानगरपालिकाले महानगरभित्र माग्न नपाइने, सडक पेटीमा व्यापार गर्न नपाइने फर्मान पनि जारी गरेको छ । सफाइ अभियान र कुहिने र नकुहिने फोहर छुट्याएर फाल्न संचेतना जगाउने र दण्डजरीवानाको व्यवस्था पनि गरेको छ ।
गाडामा तरकारी बेच्नेले कहाँ बेच्ने, सडक पेटीमा खुद्रा लत्ताकपडा आदि बेच्नेका लागि ठाउँ कहाँ छुट्याइयो, पानी पुरी–साइकलमा तरकारी, फलफूल बेच्नेले कसरी बेच्ने, सिजनल कुरा बेच्ने जस्तै मकै पोलेर बेच्नेले कहाँ र कसरी बेच्ने, बदाम अथवा अरु खुद्रा व्यापारीले आफ्नो जीवन कसरी चलाउने भन्ने विषयमा सुरुमा मेयर बालेन साहले सबै व्यवस्था मिलाउँछु भनेका थिए । तर... जब नगर प्रहरीले मकै पोलेर बेच्ने र बालबालिकाको पेट भर्ने महिलामाथि हातपात गरेर लुट्यो, त्यो दृश्यले बालेन साहको नियति पूर्ववर्ती मेयरकै हुनेवाला त छैन भनेर प्रश्न उठाइदिएको छ । मकैवालीले नगर प्रहरीबाट आफ्ना मकै लुटिएपछि र कुटिएपछि भनिन्– नगर प्रहरीलाई पैसा नदिएकाले यस्तो गर्ने गर्छन् । अर्थात् नगर प्रहरीभित्र व्यापक भ्रष्टाचार छ । एक त हिंसा बढाउने, अर्कोतिर भ्रष्टाचार गर्ने र घूस नदिनेमाथि मानसिक, शारीरिक र तिनका सामान लुटेर यातना दिने गरिएको छ । यो गम्भीर आरोप हो, मेयरले यसको जिम्मेवारी लिनुपर्छ ।
विकसित देशमा पनि सडकमा व्यापार गर्न निषेध गरिन्न, मागेर खाने पनि तरिका छ, पाइन्छ । यसका लागि निश्चित समय, निश्चित ठाउँ तोकिन्छ । छिमेकी मुलुकमै प्रधानमन्त्री नरेन्द्र मोदीले त सडक व्यापारका लागि आर्थिक सहयोग, ऋणको व्यवस्थासमेत मिलाएको छ । नेपालमा किन जनतामाथि सरकार प्रहरी दमन गर्ने, महानगर नगर प्रहरी लगाएर जनताको रोजीरोटी खोसेर रुवाउने ?
भद्रगोल भयो, व्यवस्थित केही भएन, भ्रष्टाचारमात्र भयो भनेर बालेन साहलाई नगरवासीले मेयर बनाएका हुन् । भद्रगोल सुधार्छु भन्ने वाचाकवोल छ बालेन
साहको । जनताको साथ र सहयोग पनि छ । फेरि बालेन साह भुइँमान्छेलाई बाँच्न किन दिइरहेका छैनन् । बालेन साह मेयर भएपछि जे जति नगर प्रहरीले लुटेको छ, तत्काल क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्छ र भुइँमान्छेले गरिखाने विकल्प दिन सकिदैन भने सडक व्यापारलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यसतिर सोच्नुपर्छ ।
बालेन साहलाई नगर प्रहरी र नगरभित्रका भ्रष्ट तत्वहरुले असफल पार्ने खतराको घण्टी बज्यो । नगरभित्र थुप्रै सार्वजनिक जग्गा छन्, ठाउँथलो छन् । सहरका कुनाकाप्चामा अनेक सम्भाबनाहरु छन् । सडकपेटी व्यापार, गाडावाला, तरकारी, अन्य व्यवसाय गरेर पेट पाल्नेहरुका लागि के गर्न सकिन्छ, विज्ञहरुसँग राय सल्लाह लिएर भए पनि मेयरले बोल्ड निर्णय गर्नुपर्छ । ताकि जनमत पाएका बालेन साहमाथि जनबल कायम रहोस्, अन्यथा विद्यासुन्दरको नियति हुनेछ ।