Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

आर्थिक मन्दीबाट कसरी पार पाउने ?

१६ सोमबार , जेठ २०७९३ बर्ष अगाडि

रूस र युक्रेनबीचको युद्ध सकिएको छैन । यो युद्धले विश्वशक्ति दुई ध्रुवमा विभाजित हुनपुगेको छ । यथार्थमा यो युद्ध विश्वशक्तिको युद्ध हो, जुन युद्धले साना मुलुकहरूले स्वाभिमान कसरी बचाउने भन्ने प्रश्न उठाइदिएको छ । नेपालले पनि आफ्नो असंलग्न परराष्ट्रनीतिबाट विचलित भएर पश्चिमा धुरीमा संलग्न हुनपुगेको व्यवहारले देखाएको छ । यसकारण पनि नेपालको अस्तित्व र पहिचान बचाउने समस्या दिनदिनै बढेर जाँदो छ ।
विश्व बैंकका अध्यक्ष डेविड म्यालपासको कथन छ– रूस–युक्रेन यु्द्धको असर संसारभर पर्दैछ । यो युद्धले विकराल आर्थिक मन्दी बढाउँदैछ, यो मन्दीबाट कसरी उम्किन सकिने भन्ने प्रश्न उठ्यो, गाह्रो छ उम्किन ।
त्यसै पनि बजेटको हाराहारीमा व्यापार घाटा बोकेर बाँचेको नेपालको आर्थिक मेरूदण्ड दिनदिनै कमजोर हुँदैछ । रेमिटान्स अर्थतन्त्र र संघीयताका कारणले आर्थिक अवस्था धान्नै नसकिने जालोमा फस्दै गएकाले पनि नेपाल अनेकन आर्थिक चुनौतीबाट घेरिन पुगेको छ । अर्थविदहरू समस्या बढेर गएकोमा चिन्ता प्रकट गरिरहेका छन् । सरकार कानमा तेल हालेर बसेको छ । सरकारमा बस्नेहरूका लागि आत्तिने विषय नभए पनि देशको स्थिति सन्तोषजनक नभएकाले कुनै पनि बेला धरासायी हुने त होइन भन्ने संशय बढेर जाँदो छ । यो अवस्थामा संसद, सरकार, आर्थिक जगत र विज्ञहरूसहित सँगै बसेर बढ्दो आर्थिक समस्याबाट कसरी पार पाउने भनेर बहस गर्नुपर्ने हो, छलफल गर्नुपर्ने हो । निस्चिन्तताको अवस्था छ जस्तो सरकारको व्यवहारले देखाइरहेको छ । जबकि अर्थविदहरू आत्तिन थालिसकेका छन् । गत महिनासम्म बैंकमा तरलता नै थिएन । व्याज बढाएर निक्षेप तान्दै थिए । यही बेलामा पालिका निर्वाचन भयो । यो निर्वाचनमा निर्वाचन आयोगले गरेको खर्चमात्र होइन, उमेदवारहरूले लाखदेखि करोडौंका हाराहारीमा खर्च गर्दा बैंकमा एक्कासी तरलता बढेको छ । यसको अर्थ बजारको पैसा राजनीतिक व्यक्तिहरूमा थुप्रिएको रहेछ । अबको केही महिनामा संसदको निर्वाचन हुनेछ र निर्वाचन प्रणाली असाध्यै खर्चालु भएका कारण त्यो निर्वाचनमा हरेक उमेदवारले करोडदेखि अर्वसम्म पनि खर्च गर्नेछन् ।
अर्थात निर्वाचनमा व्यापक पैसा खर्च गरेर उमेदवार हुने, निर्वाचन लड्ने, जित्ने र पदमा पुग्ने । पदमा पुगेपछि लगानी उठाउन भ्रष्टाचार र अनियमिततामा लाग्ने । लोकतन्त्रजस्तो सुन्दर व्यवस्थालाई संघीयता सहितको महगो निर्वाचन प्रणालीमा लगेर राजनीतिलाई भ्रष्टाचारनीति बनाइएको छ । भ्रष्टाचार नीति अँगालेपछि उत्पादन र निकासीमूलक, रोजगारीमूलक उद्योग व्यवसाय स्थापित नै नहुने भए । भएका यस्ता उद्योग पनि बिक्री गरेर कमिशनमा लाग्ने भए । बेरोजगारी बढ्ने भयो । महगीमात्र होइन, सकेसम्म विदेश पलायन हुने र नसकेर निराश हुनेहरू हिंसामा लाग्दा समाजमा विकृति र बिसंगति बढ्ने भयो । यही कारण हो, नेपालमा आर्थिक संकट बढ्दै जानुको । आर्थिक ढाड भाँचियो भने राष्ट्रको अस्तित्व पनि भाँचिन्छ भन्ने सत्य बुझेर पनि बुझ पचाउनेहरूले गर्दा बढ्दो आर्थिक मन्दीबाट पार पाउने कसरी ? भनेर बहस नै भएको छैन । सामुहिक छलफल गरेर निकास ननिस्कनु निसास्सिनु हो ।