सरकारले गणतन्त्र दिवस ३ जेठ १४, १५, १६ गते ३ दिन मनाउने निर्णय गरेको छ । गणतन्त्र नेपालमा गणतन्त्र ३ दिनमात्र किन, हरेक दिन गणतन्त्रमय हुनुपर्ने होइन र ? ३ सय ६२ दिन नेतामय र ३ दिन गणमय देखाएर क्षण क्षण गणतन्त्रको हुर्मत लिनेहरूको निर्णयले गणतन्त्रको अपमान भएन र ?
२०६५ साल जेठ १५ गते गैरसांसदको प्रस्तावमा अवैधानिक रूपमा जबरजस्ती संविधानसभाले गणतन्त्र घोषणा गरेको हो । त्यो दिनदेखि आजसम्म गणतन्त्र गण अर्थात नागरिकले अपनत्व ग्रहण गरेकै छैनन् । गणतन्त्रप्रति जनतामा फैलिएको अविश्वासकै कारण सरकारले सुरक्षाकर्मीको घेरावन्दीमा गणतन्त्र दिवस मनाउने गरेको छ । आमनागरिकको गणतन्त्र दिवसमा सहभागिता हुने गरेको छैन । जब आमगणको सहभागिता नै छैन भने त्यस्तो दिवस कसरी गणतन्त्र दिवस हुनसक्छ ? गणतन्त्र दिवसमा त गण अर्थात जनतामा हौसला, उत्साह र खुशी हुनुपर्ने हो । गण न हिजो खुशी थिए, न आज खुशी छन् । गणको गुनासोमात्र छ, गणप्रतिनिधिले गणलाई हेरेनन् । गणका आशा र अपेक्षा पूरा गरेनन् । गणतन्त्रलाई नेतातन्त्र बनाउनेहरू कर्मकाण्डी गणतन्त्र दिवस मनाएर गणतन्त्र कार्यान्वयन भएको गुड्डी हाँकिरहेका छन् । चुनाव हुनु गणतन्त्र कार्यान्वयन भएको होइन । गणतन्त्र कार्यान्वयनको अर्थ त सुशासनमा देखिनुपर्छ । अग्रगमन र न्याय, समानता सहितको समाजमा देखिनुपर्छ । जब राजनीतिक दल र नेताहरूले विभेद, निषेध र असमानता बढाइरहेका छन्, शान्तिका नाममा हिंसा बढाइरहेका छन्, यस्तो अवस्थालाई गणतन्त्रको सफलता भन्न मिल्दैन । जब गणतन्त्र असफल छ, त्यस्तो गणतन्त्रलाई वर्षको ३ दिन गणतन्त्र दिवस मनाएर सफल भयो भन्नु आकाशतिर फर्केर थुक्नुजस्तै हो । नागरिक समाज, बुद्धिजीवी, चेतनशील बर्ग र संसदमा गणतन्त्रको अवस्थाबाट छलफल हुनुपर्छ, अनि सबैले चाल पाउनेछन्– गणतन्त्र दिवस मनाउनु उचित कि अनुचित ?
गृहमन्त्रीको नेतृत्वको समितिले जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली गरिनेछ । समितीले नागरिकलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोह गरिने र जेठमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रशारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गरेर मनाउने भनिएको छ । जब नागरिक समाजमा गणतान्त्रिक यिनको शासन प्रणालीमा प्रश्न उठाइरहेका छन्, अविश्वास गरिरहेका छन् भने जनताले स्वतःस्फूर्त रूपमा कसरी गणतन्त्र दिवस मनाउलान् र ? न हिजो जनताले यस्तो हौसला देखाए, न यसपटक नै देखाउने छन्, किनकि जनतामा नैराश्यता, उदासिनता बढेको छ । यसरी हुन्न भन्ने सोच उर्लेको छ ।
अर्थपूर्ण गणतन्त्र दिवस मनाउने हो भने सम्पूर्ण राजनीतिक शक्तिहरूले सुशासन कायम गर्छौं भन्ने सामुहिक प्रतिवद्धता पहिले जनाउन् ।