तथ्याङ्क विभाग भन्छ– ९४ प्रतिशत ॐकार परिवार छन् । प्रतिशतमामात्र भएर के गर्ने ? यति ठूलो जनसंख्या हिन्दु छ, हिन्दुधर्म सर्वधर्म समभाव पनि राख्छ, तर हिन्दुराष्ट्र नेपाल धर्मनिरपेक्ष घोषणा गराइयो । यो घोषणा कुनै जनमत, कुनै जनबल अथवा जनादेशबाट गरिएको होइन । यो त केही ठूला नेताहरूलको मिलिभगतमा घोषणा गरिएको हो । नेताहरूको घोषणाप्रति जनाक्रोश देखिएन । हिन्दुआक्रोश पनि देखिएन । कहिले कहिले जुलुस निकाल्छन्, वक्तव्यबाजी गर्छन्, मञ्च पाए भने भाषणबाजी पनि गर्छन्, नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भनेर कुर्लिन्छन्, अनि चूपचाप हुन्छन् । मानौं, हिन्दुहरूको आवाज भनेको मौसमी हो । बाढी आएजसरी कराउँछन् र एकछिनपछि मौनब्रत बस्छन् । हिन्दुराष्ट्र हुनुपर्छ भनेर निरन्तर आवाज निकालेर बिद्रोह गर्न सक्दैनन् । जसले हतियारको बलमा पद्धति फे¥यो, राजतन्त्रलाई किनारा लगायो, त्यही बलमा हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरियो । हिन्दुधर्म मान्नेहरूले हुन्न भन्न सकेनन्, हिन्दुराष्ट्र हुनैपर्छ भनेर अड्डी कस्न सकेनन् । यहीकारण हिन्दुराष्ट्र धर्मनिरपेक्ष राष्ट्र बन्यो । कानुनतः धर्म परिवर्तन बन्देज लगाए पनि लोभलाभ, पैसा, बल प्रयो गरेर हिन्दुहरूलाई इसाई, मुसाईकरण गर्ने कार्य भइरहेकै छन् । विश्वका शक्तिशाली सञ्चारमाध्यमहरूले सबिस्तार, सप्रमाण नेपालमा धर्म परिवर्तनको लहर चलाइएको खबर छापे पनि हिन्दुहरू पढ्छन्, केही गर्न सक्दैनन् । नेपाली जनमानसलाई फुटाउ र राज गरको नीति लिएका शासकहरूले पार्टी पार्टीमा बिभक्त गरेर धर्मनिरपेक्षताप्रति सहृदयता देखाएर तिनीहरूबाट लाभ लिइरहेका छन् । यद्यपि यिनै नेताहरू पूजाआजा गर्छन्, सत्तामा जाँदा अथवा कुनै कार्य गर्नुपरे पूजाआजाचाहिं गर्छन् । पाँचौपल्ट प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले साइत निकालेर सत्तारोहण गरे, शपथग्रहण गरे, पूजाआजामात्र होइन, कालोबोकोलाई बली चढाएर सरकारी निवास प्रवेश गरेका थिए । अहिले पनि उनी ज्योतिषमा विश्वास गर्छन्, चुनावको घोषणासमेत ज्योतिषको सुझावअनुसार गरेका हुन् भने ज्योतिषले उनलाई सात पल्ट प्रधानमन्त्री हुने जोग बताएका छन् ।
जेहोस्, एकमात्र हिन्दुराष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिदिए । हिन्दुहरू त्यही आदेशको पालना गरिरहेका छन् । ९४ प्रतिशत हिन्दुहरू हिन्दुराष्ट्र हुनुपर्छ भनेर कहिले कहिले आवाज उठाउँछन् र मौनब्रत बस्छन् ।
उदाहरणका लागि मलेशिया । मलेशियामा ६१ प्रतिशत मुस्लिम जनसंख्या छ । तर मलेशियालाई मुस्लिम राष्ट्र घोषणा गरिएको छ । नेपालमा यति ठूलो जनसंख्या हिन्दु छन्, विश्वको एकमात्र हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गराएर ठूला पार्टीहरूले भेटिकनबाट लाभ त लिए होलान्, राष्ट्रिय आवाजको कदर गर्न सकेनन् । पार्टीहरूले गल्ती गरे पनि जनताले त्यो गल्ती सच्याउन दबाब दिनुपथ्र्यो, कडा आन्दोलन गर्नुपथ्र्यो । गत महिना सम्पन्न शिवरात्रिमा ८ लाखले पशुपति दर्शन गरेको कुरा पशुपति विकास कोषले बतायो । त्यो ८ लाखको सङ्ख्या सडकमा सुतिदिएको भए नेपाल हिन्दुराष्ट्र भइसक्ने थियो । हिन्दुहरू शालिन छन्, सहन्छन् । सहनुको कारण नेपाल हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा परिणत भयो । हिन्दुहरूले हिन्दुराष्ट्र पुनस्र्थापना गर्न सकेनन् ।
९४ प्रतिशत सनातनीको बसोवास भएको हिमवत्खण्ड नेपाल ‘सनातन धर्मसापेक्ष राष्ट्र’ घोषित हुन सक्थ्यो, हिन्दुहरूकै सहनशीलताले हिन्दुराष्ट्र हुनसकेन । हिन्दुवादी संघसंस्थाहरू ५ दर्जनभन्दा बढी छन् । तिनीहरू सबैमा मेल छैन । हरेक हिन्दु अगुवालाई पदको लोभ छ । मै हुनुपर्छ भन्ने अहंकार छ । यही अहंकारले गर्दा हिन्दु धर्मावलम्वीहरूमा फूट आएको छ । फुटको लाभ धर्मनिरपेक्षतावादीलाई भइरहेको छ । धार्मिक स्वतन्त्रता भन्ने शब्द संविधानमा लेख्ने सहमति गरेकाहरूले संविधान घोषणा गर्दा धर्मनिरपेक्षता कसरी लेखियो भन्नेसम्मको प्रश्नसमेत गर्न सकेका छैनन् ?