२०६३ सालअघि राजतन्त्र थियो, राजतन्त्र भएर देश लुटिएको होइन रहेछ, २०६३ सालपछि जुन राजनीतिक र आर्थिक अराजकता बढेकोछ, यसबाट थाहा लाग्छ, राजतन्त्र र हिन्दुधर्म भएर देश लुटिएको होइन रहेछ, लुट्न नपाएर राजतन्त्र र हिन्दुधर्म फालिएको रहेछ । राजनीतिको आडमा चरम लुटतन्त्र जारी छ । राजनीतिक सेटिङ् मिलाई मिलाई लुट्तन्त्र चलेको छ । यहाँसम्म कि विधिको शासनको नाममा जुन प्रकारले राज्यलूट चलाइएको छ, यसबाट थाहा लाग्छ– लुट्नकै लागि यो परिवर्तन ल्याइएको रहेछ ।
महालेखा परीक्षक वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँछ र प्रतिवेदनमा अनियमितताको अपराधको बेलिबिस्तार लगाइएको हुन्छ । हरेक अनियमिततामा सरकारमा रहेका, पार्टीमा रहेका नै सामेल भएका हुन्छन् । यसरी राज्यको रिपोर्टमा राज्यले नै कुनै छानबिन गर्दैन, कारवाही गर्दैन । हरेक भ्रष्टाचारमा ठूला ठूला दलका ठूला ठूला नेताहरू र तिनका परिवारजन मुछिएका हुन्छन्, यसकारण पनि राजनीतिक प्रभाव र दबाब बढ्छ, पोलिएकाहरू कसैमाथि पनि छानबिन हुँदैन । महालेखाको रिपोर्टअनुसार नेपाल एयरलाइन्सले किनेको जहाजमा ४ अर्ब ३५ करोड भ्रष्टाचार भएको उल्लेख छ । संसदीय छानबिनबाटसमेत भ्रष्टाचार भएको ठहर भयो । तर प्रधानमन्त्रीबाट सरकारी छानबिनको कुरा उठाइयो र यो भ्रष्टाचार मुद्दालाई थिचथाच पारेर दबाइयो । बालुवाटार–ललिता निवासको जग्गा प्रकरण पनि यही हो । एयरपोर्टको ३८ टन, ३३ किलो सुनकाण्ड पनि यसैगरी दबाइयो । सत्ता, सम्पत्ति र शक्तिका लागि राजनीतिक दलहरू अपवित्र गठबन्धन गर्छन्, झगडा गरेजस्तो देखाउँछन् र सिद्धान्त, नीति र निष्ठासमेत कुल्चेर मिल्छन्, शक्तिशाली बन्छन् । अहिलेको सरकार ५ दलीय गठबन्धन सरकार हो । संसद ज्यूँदैछ, संसदले दिनुपर्ने सरकार अदालतले दियो । तोकेरै प्रधानमन्त्री बनाइदियो, संसदमा कुनै मुद्दा हुनसकेन । संसदको काम त सांसद जाने, हाजीर गर्ने र भत्ता बुझ्नेमात्र हो । जनताप्रतिको दायित्व, देशप्रतिको कर्तव्यबारे कोही पनि जिम्मेवार, जवाफदेही नै छैनन् । यसरी पनि देश चल्दोरहेछ, पद्धति चल्दोरहेछ । यो लोकतन्त्र नभएर कस्तो कस्तो तन्त्रजस्तो लाग्छ । पञ्चायतभन्दा पनि गएगुज्रेको लाग्छ । प्रत्येक व्यक्तिहरू भन्छन्– राजतन्त्र भएर देश लुटिएको होइन रहेछ, देश लुट्न नपाएर राजतन्त्र र हिन्दुधर्म पन्छाइएको रहेछ । यहीकारण आर्थिक अराजकता र इसाइकरण व्यापक रूपमा बढेका छन् । पार्टी र नेताहरूले जानाजान स्वार्थ पूर्तिका लागि राष्ट्रिय अपराध गरेका हुन् । यस्ता गलत निर्णय गर्ने र नीतिहीन बन्नेहरूलाई जनताले कसी लगाउनुपर्छ, प्रश्न सोध्नुपर्छ । किन यसरी देश र जनतामाथि घात गरेको भनेर परीक्षा नै लिनुपर्छ । जनताले सोध्ने चुनावका बेलामा हो । स्थानीय चुनावको प्रक्रिया सुरू भएको छ । यसपछि प्रदेश र संघीय चुनाव हुनेछन् । यो चुनावमा पनि जनताले नेताको भ्रमपूर्ण आश्वासनमा आश्वस्त भएर तिनैलाई मतदान गरे भने जनताले अर्को पाँच वर्ष पछुताउनु पर्नेछ । अहिले नै आर्थिक रूपमा टाट पल्टेका र चलनचल्तीका नोटहरू थुपारेका भनिन्छ, हुण्डीमा सत्ताधारीकै हात रहेकाले आर्थिक अनुशासनहीन बन्न नसक्दा गभर्नरलाई हटाइएको भनिएको छ । अर्थविदहरू सरकारले गर्नै नहुने काम गरेको आरोप लगाइरहेका छन् । केही अर्थशास्त्रीहरूले त देश टाट पल्टन लागेको भनिरहेका छन् । बैंकहरूमा देखिएको तरलताको अभाव हेर्दा लाग्छ, देशको आर्थिक गतिविधि साँघुरिदै गएको छ । आर्थिक ढाड भाँचिनु भनेको देश असफल हुनु हो । देश असफल हुँदा पद्धति सफल हुनसक्दैन । पद्धतिका सञ्चालक जो छन्, तिनीहरू देश र जनतालाई लुटिरहेका छन् ।