सरकारी कुनै पनि निकायमा चिनेको मान्छे अथवा कुनै नेतालाई फोन गराएर गएन भने काम हुन्न । छिटोछरितो र बिना घूस काम गराउनु छ भने भनसुन, चिनजान जरूरी छ । अन्यथा साह्रै दुृःख पाइन्छ । यसको ताजा उदाहरण राष्ट्रिय परिचयपत्र, पासपोर्ट, श्रम स्वीकृति, नागरिकता, मालपोत, लाइसेन्स, यातायातजस्ता जनसम्पर्क हुने कार्यालयमा गएर हेरे थाहा हुन्छ । सञ्चार जगतले जनताले पाएको कष्टबारे समाचार दिइरहेका छन्, सरकार पटक्कै सुन्दैन । खाली सुधार हुँदैछ, सेवावृद्धि गरिदैछ भन्ने जवाफ दिएर अधिकारीहरू पन्सिन्छन् । परिवर्तन कता आयो ? परिवर्तन के आयो ? जता हेरे पनि घूस खाने र खुवाउने काम बढिरहेको छ । सुशासनको उदाहरण कुनै पनि कार्यालयबाट भइरहेको छैन । हरेक सरकारमा भ्रष्टाचारमात्र देखिन्छ ।
कारण, संवैधानिक निकाय प्रमुखहरू पार्टीको, राजदूत पार्टीको, सचिव पार्टीको, कर्मचारी पार्टीको, शिक्षक पार्टीको, न्यायाधीश पार्टीको, वकिल पार्टीको, नागरिक समाज पार्टीको, अधिकारकर्मी पार्टीको, डाक्टर पार्टीको, पत्रकार पार्टीको, विद्यार्थी पार्टीको, बुद्धिजीवी पार्टीको, सञ्चारमाध्यम पार्टीको, स्वतन्त्र कोही छैनन् । स्वतन्त्र नभएपछि हुने पक्षपात हो । पक्षपात र विभेद सर्वत्र छ । यही ऐंजेरूले सुशासनलाई खाइरहेको छ, भत्काइरहेको छ ।
पार्टी बलियो भएका छन् । नेता बलियो भएका छन् । राजनीति व्यवसाय बनेको छ, व्यवसाय बलियो बनेपछि मुनाफा बढी हुने हो । राजनीति सेवा भएको भए सुशासन बलियो हुन्थ्यो । व्यवसाय बलियो भएपछि पार्टीको मुनाफा बलियो भएको छ । यसकारण त भ्रष्टाचार र अनियमितता बढेको छ र कुनै पनि भ्रष्टाचारमा कारवाही नै हुँदैन । सरकारले, पार्टीले, नेताले भ्रष्टाचारलाई दबाउने गरेका छन् । देश बलियो बनाउने सोच कसैको पनि छैन । देश निर्वल हुनु भनेको पद्धति अलोकप्रिय बन्नु हो । यो लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने काम लोकतान्त्रिक पार्टीहरूले गरिरहेका छन् ।
यसकारण लोकतन्त्रमा गर्व गर्न लायक काम हुनैसकेनन् । पद्धतिमा खिया लाग्यो, नेता बाहुबलीजस्तो बलियो भएर के गर्ने ? नेता त जनमत, जनअपेक्षा, जनविश्वासको धरातलमा बलियो हुनुपर्ने हो । नेपालका नेताहरू पैसामा बलिया छन्, राजनीतिक अपराधशास्त्रमा बलिया भएका छन् । पद्धति समाप्तीतिर गयो, देश असफल हुने तारेभीरमा उभिन पुगेको छ । भीरबाट देश गुल्ट्यो भने हामी सबै समाप्त हुन्छौं भन्ने हेक्का दलहरूलाई, दलीय नेताहरूमा पटक्कै देखिदैन । नेता स्वार्थलिप्त भएपछि विदेशीले चलखेल बढाउँछन्, त्यही चलखेलमा मुनाफा हेरेर मख्ख छन् नेताहरू ।
जनता निराश छन् । बुझ्नेहरू निराश छन् । एक नेताले अर्कोलाई, एक पार्टीले अर्को पार्टीलाई गिज्याइरहेछन् । खुइल्याइरहेछन् । देश र जनताको एजेण्डामा बहस गर्न कोही तैयार छैन । हरेक पार्टी, हरेक नेता व्यस्त छन् । तिनको व्यस्तता स्वार्थपूर्ति र आम्दानीमा केन्द्रीत देखिन्छ । जनताप्रति जवाफदेही निभाउने विषयमा सबै उदासीन छन् । जब चुनाव आउँछ, अनि भ्रष्टाचार गरेको पैसा खर्च गरेर भोट किन्ने र फेरि चुनाव जित्ने तिनको उद्देश्य रहन्छ । यतिबेला बजारमा पैसा छैन । स्वयम् अर्थमन्त्री भन्छन्– पैसा कहाँ गयो, म खोजिरहेको छु । झलनाथ खनालजस्ता नेता भन्छन्– कांग्रेस एमालेका नेताहरूसँग पैसा छ, तिनको पैसा खानु तर भोट नदिनु । स्वयम् झलनाथ खनाल सर्प पाल्न र आफ्नो मिर्गौला फेर्न करोडौं राजस्व खाने नेता हुन् । कुनै पनि नेतालाई जनताले स्वच्छ भनेर मानेका छैनन् । तर जनता विवस छन्, कारण जनतासँग विकल्प छैन । यिनैलाई जिताउनु छ, यिनैलाई फेरि पनि लुट्ने अवसर दिनुछ । चुनाव भनेको यस्तै प्रकृयामा छ ।
सामाजिक सञ्जाल हेर्ने हो भने नेपाली नेताको जति आलोचना कुनै पनि नेताको देखिदैन । तैपनि नेपाली नेता गजधम्म नेता पल्टेर भाषण छाँटिरहेका छन् । अब जनताले बिद्रोह नगर्ने हो भने नेपालमा विधिको शासन सम्भव नै छैन । हरेक क्षेत्रमा राजनीतिकरण गरेर स्वार्थमात्र हेर्ने राजनीतिले देशलाई कङ्गालमात्र पार्नेछ । यही हाल नेपालको भइरहेको छ । नेपालको राजनीतिले अब्बल काम गरेको र भ्रष्टाचारी, बलात्कारीमाथि कडा कारवाही भएको हेर्न पाइने दिन कहिले आउला ? जनता जनताजस्तो देखिनुपर्छ अब ।