जुन पार्टी अथवा नेताको नेतृत्वमा सरकार बने पनि भ्रष्टाचारकै जगजगी सुनियो । संवैधानिक निकायहरूमात्र होइन, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्रबाट पनि भ्रष्टाचारकै दुर्गन्ध फैलिरहेको छ । सडकभरि यसरी छताछुल्ल भ्रष्टाचारका घटना देखिदा पनि जनप्रतिनिधिहरू सावधान छैनन्, यहाँसम्म कि मूर्ति चोरेको आरोपमा जेल सजाय पाएको व्यक्तिसमेत मन्त्री हुनपुग्यो । यसरी पनि देश अघि बढ्ला ? राजनीतिक दलहरूले जनतालाई सुनाएको घोषणापत्र र दिएको आश्वासन यही हो त ? सुशासन दिनेछौं, जनताप्रति जिम्मेवार हुनेछौं, लोकतान्त्रिक पद्धतिलाई विधिअनुसार चलाउने छौं भन्ने हरेक नेता कुनै न कुनै भ्रष्टाचारमा मुछिएको छ । हरेक पार्टीभित्र भ्रष्टाचारका फोहर देखिन्छ । कुनै पनि नेता अथवा पार्टीले भ्रष्टाचारको दाग हटाउनु पर्छ भन्ने हेक्का राखेका छैनन् । लोकतन्त्र त ल्याइयो, लोकतन्त्रभित्र भ्रष्टाचारको बाढी यसरी पस्यो कि भ्रष्टाचारको महामारी नै फैलिन पुगेको देखिन्छ । संघीयता अपनाएपछि प्रदेश र स्थानीय निकायसहित ७ सय ६१ सरकार छन् । कुनै पनि सरकार भ्रष्टाचारको दाग नलागेका छैनन् । जुन जिल्लामा मोटरबाटो पुगेकै छैन, त्यो जिल्लाका सरकारले समेत डेढ करोडका गाडी किनेका छन् । यो अचम्म भनेको कमिशन र भ्रष्टाचार नै हो । यसरी भ्रष्टाचार फैलिएपछि लोकतान्त्रिक सुशासन भन्ने हराउन पुगेको छ ।
लोकतन्त्र अनुशासन र विधिको शासनले मात्र बलियोसँग चल्छ । हालै बेलायतकी महारानीले राज्यारोहणको ७०औं वर्षगाँठको उपलक्ष्यमा खुशी व्यक्त गर्दै जनताका नाममा एउटा सन्देश जारी गर्नुभयो । उक्त सन्देशमा महारानी एलिजावेथ द्वितीयाले आफूलाई ‘जनताको सेवक’ भनेर लेखिन् । अर्थात् संविधान नभए पनि बेलायतमा यस्तै संस्कार र लोकलज्जा, जवाफदेहीता र कर्तव्यबाट अनुप्राणित भएर लोकतन्त्र जिवन्त बनेको छ । हामीले लोकतन्त्र त अपनायौं, लोकतन्त्रमा चाहिने लोकप्रतिको कर्तव्यवोध आत्मसात गर्न सकेनौं । लोकतन्त्र भनेको पद, शक्ति र लाभमात्र हो भन्ने अर्थमा बुझ्यौं । यही पद र शक्तिका लागि नाङ्गेझार हुन पनि तैयार भयौं । कोरोनाजस्तो महामारीमा चाहिने औषधि र खोपमा समेत भ्रष्टाचार ग¥यौं । २४ लाख खोप हरायो, चोरेर अपचलन ग¥यौं । कस्तो सरकार होला, जनप्रतिनिधि होलान्, शासक र प्रशासक बनेका छन्, जसले अमानवीय काम गर्न उत्साहित भएको चरित्र देखाए । विधिको शासन भएको मुलुकमा भए लोकस्वास्थ्य विरूद्धका अपराध गर्नेलाई झुण्ड्यान्थ्यो । नेपालमा उनीहरूकै भाषणबाजी चलिरहेको छ । उनीहरू नै उपदेश छाँटिरहेका छन् । उनीहरू नै राजनीतिका महापण्डित हुन् । जनता मूर्ख छन्, जनतालाई जति पनि झुक्याउन सकिन्छ भन्ने परेको छ नेताहरूलाई । यसरी भ्रष्टाचारमा लिप्त भएकै कारण एकजना नेता पनि राजनेता बन्न सकेनन् । एकजना नेतामा पनि त्याग र बलिदान भन्ने भाव नै छैन । जसरी पनि शुभलाभ लिनुपर्छ, पदमा पुग्नुपर्छ र टिकिरहनुपर्छ भन्ने मनोवृत्ति विकास भएको छ । यही मनोवृत्ति भ्रष्टाचार बढाउने कृत्य हो । जबसम्म भ्रष्टाचार र अनैतिकता भनेको राजनीतिक अपराध हो भन्ने नेतृत्व तहले बुझ्दैनन्, तबसम्म राजनीतिक अपराधिकरण घट्नेछैन ।