Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

भ्रष्टाचार काण्डको छानबिन गरौं

१७ सोमबार , माघ २०७८३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले भनेका छन्– ‘कसैको अनुहार नहेरी भ्रष्टाचारका ठूला काण्डहरूको छानवीन गर्नुपर्छ ।’ यो हो जनताको बोली । यो हो जनताको अपेक्षा । यो हो सुशासनको सूत्र । यो हो राजनीतिक अपराधिकरणको अन्त्य । यो हो विधिको शासनको सुुरूआत । यो हो लोकतान्त्र मजबुत पार्ने तरिका । यो हो ११७औं नम्बरको भ्रष्टाचारी मुलुकबाट भ्रष्टाचारको अन्त्य गर्ने जडी उपचार ।
महालेखा परीक्षकको रिपोर्टमा उल्लेखित भ्रष्टाचार, बेरूजुलाई छानबिन गर्नैपर्छ । एनसेलदेखि नेपाल ट्रष्टका सम्पत्तिमा भएका भ्रष्टाचार कम छैनन् । ललिता निवासका जग्गा काण्ड भयानक भ्रष्टाचार हो । बुढी गण्डकीदेखि अनेक राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा भ्रष्टाचार मात्र छ । ७ अर्वमा बन्नुपर्ने मेलम्ची ३२ वर्षमा ३२ अर्व खर्च गरेर पनि आएको छैन । यतिमात्र होइन, ठूला करदाता र भ्याट छली पनि ठूलै काण्ड हुन् । कानुनव्यवस्था भ्रष्टाचारले डुङ्डुङ्ती गनाइरहेका छन् । संवैधानिक निकायहरूमा पनि भ्रष्टाचार व्यापक छ । हरेक नेता, हरेक मन्त्री अथवा प्रदेशदेखि स्थानीय तह सबैतिर भ्रष्टाचारका चर्चा व्यापक बनेका छन् । यी सबै ठूला भ्रष्टाचारकाण्डहरूमा छानबिन गर्ने हो भने सुशासन आफै आउनेछ । नैतिकताको बढोत्तरी हुनेछ । लोकलज्जाले मानिसहरू सचेत हुनेछन् । भ्रष्टाचारीले धरौटीमा छुट्ने, सेटिङ्मा अपराधिकरण बढाउने काम भइरहेका छन् । यसकारण ठूला भ्रष्टाचार काण्डमा आफ्नो पराया जोसुकै परोस्, छानबिन हुनैपर्छ । लोकतान्त्रिक पद्धतिलाई मलजल गर्ने र जनजीवनमा ढाल्ने हो भने छानबिन र गलत प्रवृत्तिलाई दण्डित गर्नु अनिवार्य शर्त हो । जबसम्म अपराधिकरण र भ्रष्टिकरणले वर्तमान कालखण्डमा जसरी प्रोत्साहन पाउनेछ, तबसम्म नेपालमा सुशासन र लोकतन्त्र दुबै यसैगरी कमजोर हुँदै जानेछ ।
बोल्नुपर्ने कांग्रेस, एमाले, माओवादी, राप्रपा हरेक पार्टीका युवाले हो । दवाव दिनुपर्ने युवाले हो । जनता पार्टी पार्टीमा विभाजित छन् । प्रेस, नागरिक समाज र बुद्धिजीवी पनि पार्टी पार्टीमा विभाजित छन् । अर्थात विवेक विभाजित छ । जहाँ विवेक विभाजित हुन्छ, त्यहाँ न्याय मर्छ, समानता मर्छ, निषेध र विभेद बढ्छ । हामीले परिवर्तन ल्याएको न्यायपूर्ण समाजको परिकल्पना गरेर हो । परिवर्तनपछि विवेक मर्दा न्यायपूर्ण समाजको परिकल्पना पनि म¥यो । यसरी लोकतन्त्र चल्न सक्दैन । लोकतन्त्र चलाउने हो भने विवेक बोल्नुपर्छ, विवेक जागरूक हुनुपर्छ । विचार जेसुकै राख्न सकिन्छ, जुनसुकै पार्टीमा लाग्दा पनि हुन्छ तर विवेक मर्नु भनेको अहिलेको जस्तो लोकतन्त्रको अपराधिकरण हुनुमात्र हो । अहिलेको जस्तो भ्रष्टाचार मौलाउनु हो । यसकारण विवेक बाँच्नुपर्छ । विवेक बाँच्नुमा राष्ट्रियता बाँच्छ ।
युवाहरूले बोल्नुपर्छ, आवाज उठाउनुपर्छ । भ्रष्टाचारका जुनसुकै काण्ड हुन्, जोसुकै परोस् कि फसोस्, शक्तिशाली आयोग बनाएर छानबिन गर्नुपर्छ र कडा दण्डनीति अपनाउनु पर्छ । भ्रष्टाचार यसरी मौलाएको छ कि भ्रष्टाचारले लोकतन्त्रमात्र होइन, राष्ट्रै खान लागिसक्यो । राष्ट्र छ र हामी नेपाली छौं, नेपाललाई बचाउनका लागि पनि भ्रष्टाचारको छानबिन हुनुपर्छ ।