Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

यो मरेको कि जिवन्त प्रजातन्त्र ?

१० सोमबार , माघ २०७८३ बर्ष अगाडि

नेपालमा लोकतन्त्र नामको प्रजातन्त्र छ । यो प्रजातन्त्र संविधानमा छ, संसदमा छ, सरकारमा छ, समष्ठिमा भन्नुपर्दा कागजमा छ । साइनबोर्डमा छ, भाषणमा छ, भ्रष्टाचारमा छ, पार्टी र पार्टी नेतामा छ ।
के कागजमा लेखिनुमात्र प्रजातन्त्र हो ? बोल्न पाइनुमात्र प्रजातन्त्र हो ? प्रजातन्त्रमा जनताप्रति, देशप्रति जिम्मेवार हुनुपर्छ कि पर्दैन ? हरेक जिम्मेवारीको जवाफदेही लिनुपर्छ कि पर्दैन ? जति पनि गैरजिम्मेवार हुनु पाइने व्यवस्थालाई प्रजातन्त्र भन्न मिल्छ ? नेपालका सन्दर्भमा बोल्न जति पनि पाइने, लेख्न जति पनि पाइने तर जवाफदेही कोही पनि हुनु नपर्ने व्यवस्था चलिरहेको छ । पार्टीनेताहरू यसैलाई प्रजातन्त्र भनिरहेका छन् । संविधान कार्यान्वयन भनेर गफ दिइरहेका छन् । साँचो अर्थमा भन्ने हो भने चुनाव हुनुमात्र पनि प्रजातन्त्र होइन । प्रजातन्त्रमा जनताले मतदान गर्छन्, त्यो मतको ओजन हुनुपर्छ, त्यो मतको भार बहन गर्नुपर्छ, त्यो जनमतको सम्मान हुनुपर्छ । चुनावमा जसरी पनि मत लिने अनि ५ वर्ष जनमतको बेइज्जत गर्नुसम्म गर्ने, यही भइरहेको छ । पार्टीहरू यसैलाई लोकतन्त्र, प्रजातन्त्र भनेर जनतामा भ्रम छरिरहेका छन् । यथार्थमा नेपालमा प्रजातन्त्र छैन ।
जुन तन्त्र अर्थात पद्धतिमा जनताको आवाज सुनिदैन । चुनावपछि जनतार्ला आवाजविहीन बनाइन्छ र जता पनि नेता अथवा पार्टीका आवाजमात्र सुनिन्छ, त्यस्तो पद्धतिलाई कसरी प्रजातन्त्र भन्न सकिएला र ? बिगत केही हप्तामा देशमा ठूला ठूला पार्टीका अधिवेशनहरू भए । गम्भीर छलफल गरिए, हप्तौं लगाएर नेतृत्वको चयन पनि गरियो । तर ती महाधिवेशनहरूमा जनता कहाँ देखियो र ? जनआवाज कहाँ सुनियो र ? देशलाई कसरी अघि बढाउन सकिन्छ भन्ने कसैले योजना नै अघि सारेनन् । अनि देशका बारेमा, राष्ट्रियता बलियो पार्ने विषयमा पनि कुनै छलफल हुनसकेन । यसकारण नेपालमा कागजी प्रजातन्त्र छ । प्रजातन्त्रको कर्मकाण्ड भइरहेका छन् । प्रजातन्त्रलाई जनजीवन, राष्ट्रिय जीवनमा घूलमिल गराउने योजना कुनै दलमा पनि छैन, यसकारण त अनियमितता र भ्रष्टाचार बढिरहेका छन् । यही भ्रष्टाचारको बाढीमा हरेक पार्टी बगिरहेका छन् । देशमा सुशासन छैन । सुशासन कसरी स्थापित गर्ने भन्ने सोच पनि कुनै पार्टीमा देखिदैन ।
परिवर्तन आएको १५ वर्ष भयो । यो परिवर्तनले जनताको दैनिकी जीवनलाई छुन सकेन । घोच्यो, हरेक दिन घोचिरहेको छ । प्रताडित गरिरहेको छ । प्रत्येक आमनागरिक प्रजातन्त्रको पीडा भोगिरहेको छ । प्रजातन्त्रको सुखानुभूति किन दिलाउन सकिएन भन्ने विषयमा कसैको चिन्तन नै छैन । हरेक पार्टी र नेता अर्कोलाई परास्त गरेर अघि बढ्न चाहन्छ । नेपालको प्रजातन्त्रका स्टेक होल्डरहरू कसरी सिद्धान्त, नीति, नैतिकताले जित्ने भन्ने होडबाजी गरिरहेका छैनन् । कसरी अर्को पार्टीलाई हराउने, लडाउने छिर्के दाउमात्र खेलिरहेका छन् । छिर्के दाउ भनेको षडयन्त्र हो र जुन पद्धतिमा षडयन्त्र पन्पिरहेको छ, त्यो व्यवस्था जनजीवनमा घुलमिल हुनैसक्दैन । १५ वर्षको भइसक्यो परिवर्तन, यो परिवर्तन अर्थात प्रजातन्त्र जिवन्त छ भनेर भन्न सकिने एउटा पनि आधार निर्माण हुनसकेन । मर्दैछ है प्रजातन्त्र ?