व्यवस्थामा परिवर्तन भयो, पात्र बदलिए । प्रवृत्ति उही छ । यहीकारण उत्साहित मतदाताहरू निराशामा पुगे । राष्ट्रिय राजनीति अधोगतितिर र असफलतातिर उन्मुख भयो । यो असन्तुष्टिले आन्दोलन निम्त्याउँदैछ ।
नागरिकको चाहना पात्र र प्रवृत्तिकै परिवर्तन हो । महाधिवेशनहरूमा एकाध पात्र बदलिए, प्रवृत्ति बदलिएको छैन । रहनसहन, चालचलन, संस्कार, अमानवीय सोच, कर्म, सुशासनका गुणहरूको अङ्गिकार केही पनि छैन । अनि एकाध लोकप्रिय व्यक्तिको परिवर्तनले केही हुनेवाला छैन ।
मुख्य प्रश्न भनेको चरम राजनीतिकरण हो । राज्यका हरेक सञ्जालमा सुशासन हुनुपर्ने, राजनीति भइरहेको छ । यसबाट हामी अधोगतितिर उन्मुख छौं कि प्रगतिपथमा । जनताको नजरमा हेरौं, घृणा देखिन्छ, यो भनेको राजनीतिको हार हो । चाहिनेभन्दा बढी राजनीति भनेको विरूवामा लागेको ऐंजेरू हो । यो ऐंजेरू भनेकै राजनीतिको असक्षमता हो । जुनसुकै नेताले जतिसुकै फुइँकी हाँके पनि राजनीति अपराधिकरण भइरहेको छ । सत्य यही हो र यही सत्यका कारण नागरिकका नजरमा निराशा, अधोगति र परिवर्तनबाट पनि असफलता नै देखा पर्छ । जबसम्म राजनीतिक बर्गले यो यथार्थ आत्मसात गर्दैनन्, तवसम्म परिवर्तन बोझमात्र हुने निश्चित छ ।
लोकतन्त्र नेताका आफन्तका लागि सावित भइसक्यो । पैसा हुनेले लोकतन्त्रका हरेक पदहरू किन्न सकिने पनि सिद्ध भइसकयो । लोकतन्त्र सत्ता, पद र लाभमा रूपान्तरण भयो । विधिको शासन हुनुपर्ने लोकतन्त्र यसरी विकृत हुनु भनेको समाजमा असन्तुष्टिले बढाउने विभाजन हो । यस्तो विभाजित मानसिकता बढाउने लोकतन्त्रलाई नेताहरू प्रगति भनिरहेका छन्, जबकि यो नेताहरूको अकर्मण्यताभन्दा बढी केही पनि होइन ।
पार्टीभन्दा, विचारभन्दा माथि देश हुन्छ भनेर कसैले पनि मान्यता स्थापित गर्न सकेनन् । राजनीति गरेकै सत्ताका लागि, सम्पत्तिका लागि र आफन्तका लागि भन्ने नजीर पो बस्यो । परिणाम देश असफल हुँदैगएको छ । २०४६ सालपछिका ३२ वर्षमा समस्याका चाङ् खडा भएका छन् । उही पुरानै प्रवृत्तिको पुनरागमन भएका छन् । परिवर्तन त भयो, सोचमा कसैले परिवर्तन हुनुपर्छ भनेर सोचेनन् । गजब त के छ भने नागरिक जसलाई आलोचना गर्छ, घृणा गर्छ, चुनावमा उसैलाई जिताउँछ, किन यस्तो भइरहेको छ ? ३२ वर्षको शासनको निथार भनेको निराशा, अधोगति र असफलतामात्र हो । राष्ट्र बदल्ने हो भने नागरिकले विद्रोह गर्ने बेला भयो । जहिले पनि उही नेतृत्व किन ? जहिले पनि गलत नेतृत्वले नै चुनाव कसरी जित्छ ? यसमा नागरिकले सोच राख्ने हो भने मात्र वास्तविक परिवर्तनको झल्का र झिल्का देखिनेछ ।
नागरिकले सिकाउने भनेको जिम्मेवारी, कर्तव्य वोध र जवाफदेहिता हो । नागरिकले हस्तक्षेप गरेपछि योग्यताको कदर हुनेछ । योग्य व्यक्तिले सही जिम्मेवार पाउनेछ । अहिलेजस्तो चरम अन्याय र दण्डहिनता निस्तेज भएर जानेछन् । लोकतन्त्र त छ, लोकतन्त्रका गुण केही पनि नहुनु भनेकै नेतृत्वमा बढेको स्वेच्छाचारिता हो । चरम निराशा, अधोगति र असफलतालाई मेटाउने हो भने नागरिकले नेतृत्वलाई खबरदारी गर्नैपर्छ, अन्यथा अन्याय सहने हो ।