Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पुष २७ अर्थात् आज नेपाल दिवस

२६ सोमबार , पौष २०७८३ बर्ष अगाडि

आज राष्ट्रनिर्मातालाई सम्झने दिन । १ सय २६ जाति, १२३ भाषाभाषीको विविधितामा एकताका साथ रहेका नेपालीहरूले यो दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन जरूरी छ । पौष २७ लाई ‘नेपाल दिवस’का रूपमा मनाउन थाल्ने हो भने हाम्रो नेपाली राष्ट्रियता झन बलियो हुनेछ ।
नेपाल दिवस मनाउने तर्क अघि आएका छन् । प्रस्तावमा छलफल पनि भएका छन् । तर सरकारले, संसदले, बुद्धिजीवीहरूले राष्ट्रिय एकता दिवसका लागि बल गरेको पाइन्न । राष्ट्रनिर्मातालाई सम्झन पनि सकिन्न भने हामीले कसरी मातापिताको आदर गर्न सकौंला । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले हाम्रा पुर्खालाई साथमा लिएर यो देश निर्माण गरे । तिनै पूर्वजलाई हामीले गौरव गर्न सकेनौं भने हाम्रो अस्तित्व र पहिचान नै के रहला र ?
सरकारले यो दिनलाई राष्ट्रिय एकता दिवसका रूपमा घोषणा गर्नुपर्छ, नोटमा बडामहाराजाधिराजको फोटो राख्नुपर्छ, पाठ्यक्रममा राष्ट्रनिर्मातालाई अटाउनु पर्छ । राष्ट्रिय एकतालाई मजबुत पार्ने थप प्रयासहरू गर्नुपर्छ ।
पुरानो व्यवस्था भएन, फेरियो । नयाँ व्यवस्था पनि जनतामा भिज्न सकेको छैन । कारण संस्कृति, संस्कार, इतिहासप्रति गौरव गर्न र बितेका शासकका राम्रा गुणहरू अङ्गीकार गर्न सकिएन । जहिले पनि पूर्वाग्रह राखेर केही समय राज्य गर्न सकिएला, राष्ट्र मजबुत पार्न सकिन्न । यसकारण त हरेक परिवर्तनमा जनमन प्रफुल्लित आनन्द देखिएको छैन । सत्यलाई राजनीतिक रङ्ले पोतेर र इतिहासलाई छोपेर पुस्ताले जान्ने के ? सत्य के हो भने राष्ट्रनिर्माताले गोर्खा राज्य बिस्तार गरेका हुन्, गोर्खा होइन, नेपाल निर्माण गरेका हुन् । त्यो समयलाई पूर्वाग्रही दृष्टिकोणले हेरेर वर्तमान र भविष्यलाई निर्माण गर्न सकिने छैन । आजको दिनमा पृथ्वी जयन्ती मनाउनु भनेको राजाको प्रशस्ती गर्ने होइन, हामी नेपाली हौं, नेपाली जाति एक छौं भन्ने सन्देश प्रवाह गर्ने हो । हामीले हामीलाई नै मजबुत पार्ने हो ।
यतिबेलाको तीतो सत्य के हो भने ‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली’ भन्ने राष्ट्रिय गान छ । चार वर्ण छत्तीस जातको फूलवारी बनाइदिने राष्ट्रनिर्मातालाई अपमान गरेर ती फूलहरूको माला बनाउने जोडन को छ खोई ? त्यो धागो कुन हो खोई ? जब हाम्रा सामु नेपाली एकताको सूत्र कोही बन्न सकेको छैन भने गीत गाएर मात्र के हुन्छ होला ? यसकरण पनि पृथ्वी जयन्तीको महत्व बढेको छ, यो दिनलाई नेपाल दिवसको रूपमा मनाअहौं ।
मान्छे विवेकशील प्राणी हो । यतिबेला हामीले हेर्नु, सोच्नु र बोल्नुपर्ने विवेकी भएर हो । हामीले विवेकपूर्ण तरिकाले समयलाई पर्गेल्ने हो भने सत्य हाम्रा सामु छर्लङ्ग हुनेछन् । हामीलाई नयाँ नेपालका नाममा कसले चलायो, कसले उचाल्यो, पछा¥यो । नयाँका नाममा हामीले पायौं के ? जसले चर्का र चित्ताकर्षक नारा लगाएका थिए, तिनीहरूको अवस्था के छ, हामी आमनेपालीको अवस्था कस्तो छ ? हामी सन्तुष्ट हुनसक्यौं कि सकेनौं ? यी तमाम प्रश्नलाई हामी आफैले विवेकी दृष्टिबाट हेरौं, हामीलाई भ्रमित पारेर कसले के कति लाभ लियो, थाहा पाउनेछौं । यसकारण पनि पुष २७ हाम्रो एकता दिवस हो, राष्ट्रिय दिन हो र हाम्रो राष्ट्रियता नै यही हो ।