Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

सर्वत्र अनुशासनहीनता

१९ सोमबार , पौष २०७८३ बर्ष अगाडि

अग्रगमन हुन्छ भनेर भाषण गर्ने नेताहरूले हुनेसम्मका र मिल्नेसम्मका राजाका नाम जोडिएका संस्थाका नाम परिवर्तन गरिसके । कतिपय सालिक पनि हटाएर आफ्ना पार्टी नेताका सालिक राखिसके । जतिसुकै विधिमा चल्ने फुइँकी लगाए पनि राज्यको हरेक सञ्जालमा रहेका पद भागबण्डा भइरहेकै छन् र नेताले सिफारिस गरेका मान्छे भर्ति गर्ने संस्कार कायमै छ । यो कस्तो लोकतन्त्र हो, जुन पद्धतिमा योग्यताको होइन, नातापाता र आफन्तको मात्र सुनवाई हुन्छ । जता पनि आफ्ना मान्छेमात्र नियुक्त गरिन्छ । यो अचाक्ली बढेर अदालतका न्यायाधीशहरू र तिनले गर्ने काममा पनि राजनीतिक हमला भयो, राजनीतिकरण गरियो । जता पनि पार्टीका मान्छे हुनेभएपछि तिनले सामाजिक र पदीय दायित्व निर्वाह गर्न सक्ने कुरै आएन । तिनले गर्ने भनेको पार्टी आदेशको पालना र निर्देशनअनुसारको निर्णय हो । यतिबेला जे भइरहेको छ, त्यो पार्टीकरणमात्र भइरहेको छ । पार्टीले पद्धति चलाउने हो, पद्धतिमा हमला गर्ने होइन । २०६३ सालको परिवर्तनपछि आजसम्म पनि विधि बस्न सकेन । देखाउनका लागि संविधान जारी भयो, यो संविधानले कामै गर्नसकेन । किनकि संविधानभन्दा पार्टीको भागबण्डाले महत्व पायो । भागबण्डा नीतिलाई पार्टीहरू लोकतन्त्र भनिरहेका छन्, अग्रगमन यही हो भनेर भ्रम छरिरहेका छन् । यथार्थमा पद्धति विकृति र विसङ्गतिको जरो भनेकै राजनीतिक दलहरू हुन् । यी राजनीतिका नाममा व्यवसाय चलाइरहेका नेतागण हुन् । जो जतिसुकै जनआवाज उठे पनि सुध्रिन चाहेनन् ।
राजाहरूले बनाइदिएका संरचनामा लोकतन्त्र चलिरहेको छ । १५ वर्षको भइसक्यो परिवर्तन, परिवर्तनका नाममा देखाउने एउटा संरचना पनि विकास हुनसकेन । पूर्वाधार जे थिए हिजो, आज पनि तिनै संरचनामा उभिएर लोकतन्त्र हाँक्नेहरू के के न गरेजस्तो गरिरहेका छन् । यथार्थमा भन्ने हो भने लोकतन्त्रका संवाहकहरू अझै पनि विध्वङ्स नै गरिरहेका छन् । निर्माण गर्न नसक्नेहरूलाई विध्वङ्स गर्ने अधिकार थिएन । यिनीहरू आमनागरिकका आवाज र अपेक्षा, आलोचना र प्रश्न हेर्ने सुन्न फुर्सद नै देखिन्न ।
परिवर्तन अघिभन्दा परिवर्तनपछि के अन्तर आयो ? बोल्न पाउनुमात्र लोकतन्त्र हो भने लोकतन्त्र छ । बोलेका कुराको सुनवाई नै हुँदैन भने लोकतन्त्र ढुङ्गा हो भन्दा हुन्छ । लोकतन्त्र जीवन पद्धति हुनका लागि लोकका आवाजलाई सुन्नुपर्छ, लोकका चाहनाको सम्मान हुनुपर्छ । लोक चिच्याइरहने र नेतृत्व बर्ग एउटा कानले सुनेर अर्को कानले उडाउने हो भने यो लोकतन्त्र होइन, नयाँ खालको सामन्ततन्त्र हो, जुन ह्वात्तै फस्टाइरहेको छ ।
समृद्ध नेपाल र सुखी नेपालीको सपना लोकतन्त्रले देखेकै हो । यो सपना पूरा गर्न मन, वचन र कर्मले सुशासनका लागि पार्टीहरू अग्रसर हुनसकेनन् । राजनीति भनेको नैतिक च्यूतमात्र देखियो । व्यवसाय बन्यो । आमनागरिकले पाउनै पर्ने गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यमा समेत नेताको लगानी भयो । जता पनि सेटिङ, व्यवसाय अनि कसरी सुशासन आउँछ ?
क्रान्तिकारी, समाजवादी पार्टी, संघर्षशील नेता, जनताको साथ तर सर्वत्र अनुशासनहीनता, नीति र सिद्धान्त हिनता, विधिीहिनता, कठै नेपाल ?