Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

समस्या पद्धतिमा कि नेतृत्वमा ?

०५ सोमबार , पौष २०७८३ बर्ष अगाडि

परिवर्तनको १५ वर्षमा पनि लोकले शान्तिको श्वास फेर्न पाएनन्, लोकतन्त्र छ भन्ने अनुभूति गर्न पाएनन् । पटक पटक मतदान गरे, यी हाम्रै प्रतिनिधि हुन्, यो हाम्रै सरकार हो भन्ने विश्वास लोकले कहिले पनि गर्न सकेनन् । शिक्षा, स्वास्थ्य, गाँस, बास, कपासको बन्दोबस्त गर्ने आफ्नै सरकार हो, गर्छ भन्ने भर भरोसा लोकले कहिले पनि गर्न सकेनन् । आखिर किन ? लोकतन्त्र लोकका मुहारमा झल्किनुपर्छ, झल्केन । आखिर कसको दोष हो, कहाँनेर चुक भयो र देशमा संसारकै सुन्दर लोकतान्त्रिक व्यवस्था हुँदा पनि लोकले लोकतन्त्र जिन्दावाद भन्न सकिरहेका छैनन् ?
चुनाव आउँछ, लोक मतदान गर्छन् । जनप्रतिनिधि जिताउँछन् । जनप्रतिनिधि संसद र सत्तामा जान्छन् र व्यापारी बन्छन्, ठेकेदार बन्छन्, सेटिङ् गर्छन् र भ्रष्टाचारी बन्छन् । लोकमतको यति ठूलो अपमान ? अचम्म त के छ भने लोकले संगठित भएर लोकमत र लोकबलको दुरूपयोग किन गरेको भनेर सोध्न सक्दैनन् । एकपल्ट चुनाव जितेको नेताले ५ वर्ष जे गरे पनि हुन्छ, कसले हकार्ने मलाई भनेर मैमत्ता न, कलकत्ता हुन्छन् । लोकतन्त्रमा लोकनेता यस्ता हुँदैनन्, हुनसक्दैनन् ।
तर नेपालमा नेता भनेका स्वच्छन्द, स्वेच्छाचारी बनिरहेका छन् । जिम्मेवारी र जवाफदेहीता त पटक्कै देखिन्न । लोकतन्त्र भनेको अनुशासन र नैतिकताको सीमामा रहेर राजनीति गर्ने पद्धति हो । नेपालमा लोकतन्त्र भनेको जसरी पनि लूट मच्चाउने व्यवस्था पो सावित भइदियो । प्रत्येक जनप्रतिनिधि कहीं न कहीं नैतिकहीन छ । प्रत्येक जनप्रतिनिधि जनताप्रति कर्तव्यको पालना नै गर्दैनन् । लोकलज्जाको डर र कानुनको भय यिनमा देखिदैन । जब यसप्रकारको स्वच्छन्दता नेतृत्व तहमा हुन्छ, तव त्यो देशमा भ्रष्टाचार बढ्छ, देश अधोगतितिर लाग्छ, नेपाल यस्तै राष्ट्र हो ।
पद्धति खराव होइन । व्यक्ति खराव हुन् । पद्धति फेरिएर केही नहुने रहेछ । व्यक्ति फेरिएर पनि नतिजा उस्तै आउने रहेछ । फेरिनुपर्ने व्यवहार हो । विधिप्रतिको सम्मान र आफू उभिएको धर्तीप्रतिको सम्मान र नैतिक मूल्य र मान्यतामा बस्ने आचरण हो । यी कुनै पनि विशेषता वर्तमान नेपालको नेतृत्व पङ्तिमा नभएकैले पद्धतिप्रति नै जनताको अनास्था फैदिै गएको छ । नेताप्रति घृणाभाव बढ्दै गएको देखिन्छ ।
नेतृत्वले विधि मिचेका कारणले राष्ट्र धर्म, राष्ट्र एकता, संस्कृति र संस्कार सबै बिनष्ट हुँदै गएका छन् । इतिहासको संरक्षण र इतिहासप्रति गौरव गरेर वर्तमानलाई कसरी उज्यालो पार्ने भन्ने सोच नभएकैले नेपाल र नेपालीको अस्तित्व संकटमा फस्दै गएको हो । नेपालको भूबनोटको दुरूपयोग गर्न विश्वशक्तिको व्यापारिक र सामरिक प्रतिस्पर्धा नेपालमा बढेर गएको छ । सानो मुलुकले कसरी बाँच्नुपर्छ भन्ने अक्किल हाम्रा नेताहरूले निकाल्न सकेका छैनन् । भएका नीति र विधिलाई रक्षाकवच बनाएर अघि बढ्नुभन्दा शक्तिका प्रभावमा परेर उतै निहुरिन थाल्नुले समस्या जटिल बन्दै गएका छन् । यो अवस्थामा देशरक्षा र स्व–अस्तित्व बचाउन लोक आफै सचेत नभएर दुर्भाग्य सन्निकट देखिदै छ है ।