Advertisement Banner
Advertisement Banner

०६ शनिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

नेता गाउघर जादा ‘चोर आयो’ भन्न थालिसके

२७ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

मंसिर २४ गते राजधानीमा नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोह । ठूला नेताहरूले शुभकामना दिने क्रम चलिरहेको थियो, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको पालो आयो । उनले खुलेर भने ‘नेता गाउँघरतिर जाँदा ‘चोर आयो’ भन्न थालिसके ।
कांग्रेसका दिग्गज नेताहरू, माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अन्य दलका शीर्ष नेताहरूको कान ठाडो भयो, आँखा आश्चर्यचकित देखिए । दर्शक दीर्घामा रहेका ठूलो जमघटले ताली बजाइदिए । कनिष्ठ नेता राजेन्द्र लिङ्देनले जे देखे, भोगे, सुने त्यही बताइदिए । उनको मुहारमा किन्चित पनि उत्ताउलोपन थिएन । उनी नेताबर्गको वर्तमान अवस्थाप्रति दुःखित देखिन्थे । उनले फेरि पनि भने– नेता नेताजस्ता देखिदैनन्, संसद संसदजस्तो देखिदैन, सरकार सरकारजस्तो देखिदैन । हो, सत्य यही हो, कुनै नेताले बोल्न नसकेको सत्य उजागर गरिदिए राजेन्द्र लिङ्देनले । लिङ्देनले भने अब राजसंस्थालाई अगाडि सारेर निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जाउँ भने, सांसदले मन्त्री हुन नपाउने व्यवस्थाका लागि समेत उनले आह्वान गरे । यत्ति हुने हो भने सक्षम व्यक्ति सत्तामा जाने र देशलाई अगाडि बढाउन सकिने उनको तर्क थियो ।  राजेन्द्र लिङ्देनका एक एक शब्दहरू यति चोटिला थिए कि ती जनताका आवाज लाग्थे । नेताहरूको शीर उठेको देखिएन ।
एउटा कनिष्ठ नेताको अभिव्यक्तिलाई लिएर हरेक ठूला दलका नेताले प्रतिकारमा व्यङ्ग कस्नुप¥यो । खासगरी केपी ओली, माधव नेपाल, प्रचण्डका बीचमा निकै नोकझोक भए । यी सबै नेताले लिङ्देनको अभिव्यक्तिको जवाफ दिनका लागि समय खर्च गरे । महाधिवेशनको उद्घाटन समारोहमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन हिरो देखिए ।
नेताहरूको आरोप प्रत्यारोपप्रति उपस्थित जनसमुदायको कुनै चासो र आकर्षण थिएन । देश बनाउने नीतिबारे कोही बोल्छ कि, नैतिकहीनता कम गर्ने विषयमा केही नयाँ आउँछ कि ? सुशासन ल्याउन सबै पार्टी मिलेर अघि बढ्ने सहमतिमा बोल्ने हुन् कि ? भन्ने उत्सुकता थियो । हरेक नेता एकदोस्रालाई निचा देखाउन कम्मर कसेर लागेको देखियो । यहाँसम्म कि माधवकुमार नेपाल र प्रचण्डले सामान्य शिष्टाचारसमेत कायम गर्न सकेनन्, एमालेका अध्यक्ष केपी ओली नमस्कार गर्दै मञ्चमा जाँदा उनीहरूले नमस्कारसमेत फर्काउने आवश्यकता ठानेनन् । राजनीतिका यी तीन नेतामा कतिसम्मको तिक्कता फैलिसकेको रहेछ । भन्न त भनिन्छ, राजनीतिमा कोही पनि स्थायी मित्र वा दुश्मन हुँदैनन् । कांग्रेसी मञ्चमा जे देखियो, त्यो राजनीतिक बृत्तका लागि दुर्भाग्यपूर्ण थियो ।
हरेक नेताले सोच्ने बेला भयो, किन नेतालाई देख्नासाथ जनता ‘चोार आयो’ भन्छन् । किन हार्दिक स्वागत गर्दैनन्, आजको यक्ष प्रश्न हो यो ।