गणतन्त्र हामीले ल्याएका हौं भन्ने कानुनी कित्ता यतिबेला सडकमा उत्रिएर न्यायालयलाई, न्यायकर्मीलाई धुलिसात पारिरहेका छन् । एकपक्षले अर्कोलाई नङ्ग्याउने कार्य गरिरहेका छन् ।
कानुनविदहरूमा जति विवेकहीनता कुनै बर्गमा देखिएको थिएन, जुन यतिबेला नेपालको सडकमा देखिन थालेको छ । एकले अर्कोलाई मकै नङ्ग्याएझैं नङ्ग्याउनुमा महारथ हासिल गरिरहेका छन् र आफूभन्दा अरू बलशाली छैनन् भन्ने देखाइरहेका छन् । यथार्थमा यिनीहरू आफै नाङ्गिरहेका छन् र विवेकहीन हौं भन्ने प्रमाण आफैले दिइरहेका छन् ।
मत बाझिन्छ, बिबाद हुन्छ, छलफल र सभ्य तरिकाले पनि आफ्ना कुराहरू राख्न सकिन्छ । न्यायका सबै मानकहरू, मानवाधिकारका सबै सीमाहरू मिचेरमात्र आफूलाई बलशाली, प्रभावशाली देखाउन सकिन्छ भन्ने जुन क्रियकलाप न्यायक्षेत्रमा देखिएको छ, त्यो नितान्त विवेकहीनता हो । विधिको शासनको पक्षमा उभिनुपर्नेहरूले विधि मिचेर सडकबाट प्रधानन्यायाधीश फाल्न खोज्नु आफैमा उदेकको विषय हो । वकिलले प्रधानन्यायाधीशलाई विदा बस्न आदेश दिने, आफूले भनेकै न्यायधीश राखेर संवैधानिक इजलास तोक्नुपर्नेजस्ता अतिवाद पनि न्यायालयमा देखियो ।
अहिले सडक आन्दोलनबाट प्रधानन्यायाधीश फालियो भने यो नजीर बस्नेछ । नजीरको के महत्व रहन्छ, वकिलहरूलाई भनिरहनु नपर्ला ।
फेरि किन एउटा प्रधानन्यायाधीश फालेर अर्को बनाउन सडक तातिरहेको छ । सडक तताउने अरू कोही होइन, नेपाल बार अर्थात सत्ताधारी माओवादी र अन्य गठबन्धनका वकिलहरू रहेका छन् ।
यिनै वकिलहरू भन्छन्– नेपाल संकटमा छ, न्यायालय बचाउन प्रधानन्यायाधीशको राजीनामा मागिएको हो । अर्काथरि आन्दोलनकारी भन्छन्– गणतन्त्र असुरक्षित भयो, बचाउनका लागि आन्दोलन गरिएको हो । यथार्थ कुरो के हो ? देश असुरक्षित भयो कि गणतन्त्र ? गणतन्त्रले महत्व पाउनु पर्ने हो कि देशले ? वकिलहरू स्पष्ट छैनन् ।
स्मरणीय छ, संसद पुनस्र्थापना गर्दा यिनै प्रधानन्यायाधीशले गणतन्त्र बचाइदिए भनेर आरती उतार्ने यिनै थिए । ४ महिना नपुग्दै यिनै प्रधानन्यायाधीश किन अनपयुक्त ठहरिए । प्रश्न अनेक छन्, उत्तर स्पष्ट छैन । जुन प्रधानन्यायाधीशको परमादेशले सरकार बन्यो, त्यो ५ दलीय गठबन्धन स्पष्ट धारणा दिन सकिरहेको छैन । अदालतको मुद्दा त्यतै सल्टियोस् भनिरहेका छन् । दोष लगाउनेहरू भन्छन्– प्रचण्डले गठबन्धनको काँधमा राखेर अदालतमा बम बिस्फोट गरिदिए । पार्टी नबोल्ने, पार्टीका क्याडरहरूले सडकमा न्याय पद्धतिलाई नङ्ग्याउने । गर्न खोजेको के हो ? नेपालमा न्यायपद्धति भाँडिदिएपछि अराजकता फैलाउन खोज्ने अभिष्ट बोकेको पर्दाभित्रको तत्व कुन हो ? यसतर्फ समयमै सचेत नहुने हो भने लोकतन्त्र होइन, अस्तित्व नै जोखिममा पर्ने त होइन ? चेतना भया ।